नेपाली व्यवसायी नाकामा नपुग्दा रसुवागढीमा भन्सार जाँचपासमा ढिलाइ
रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले व्यापारी आउन नपाउँदा जाँचपास प्रक्रिया सुरु नभएको बताउनुभयो। ‘अहिलेसम्म सीमित व्यापारी मात्र यहाँ आइपुगेका छन्’, उहाँले भन्नुभयो, ‘आउन लागेका व्यापारी पासका कारण बाटोमा नै अड्किएका छन्।’
नागरिकन्यूज डटकमका अनुसार सामग्री घोषणाका लागि व्यापारीका प्रतिनिधि सम्बन्धित स्थानमा नै रहन पर्ने भएकाले समस्या सिर्जना भएको हो। व्यापारी तथा व्यापारीका प्रतिनिधि आउनका लागि सम्बन्धित स्थानको वडा कार्यालयले सिफारिस गरेपछि मात्र जिल्ला प्रशासन कार्यालयले पास उपलब्ध गराउँछ। प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले प्रक्रिया पूरा गरेर आएका व्यापारीलाई नरोकिएको र प्रक्रिया पूरा नगरी आएकालाई रोकिएको बताउनुभयो। ‘प्रक्रिया पुर्याएर आएकालाई हामीले रोकेका छैनौं’, उहाँले भन्नुभयो, ‘त्यहाँ जाने व्यापारी तथा व्यवसायीका लागि पास नचाहिने गरी गृह मन्त्रालयबाट छुट्टै निर्देशन आएको छैन ।’
अहिले चीनबाट रेडिमेड, इलेक्ट्रोनिक्स सामग्री, जुत्ताचप्पल, घरेलु उद्योगका सामग्री आइरहेको छ । चिनियाँ पक्षले मितेरी पुलसम्म सामग्री ल्याएर झार्ने र त्यहाँबाट चिनियाँ गाडी फर्किएपछि मात्र नेपाली सवारी त्यहाँ जान पाउने व्यवस्था मिलाइएको छ । चिनियाँ गाडीबाट आएको सामग्री चिनियाँ कामदारले झारेर फर्कने छन् । मितेरी पुलमा सामग्री लोड अनलोड गर्नका लागि व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) सेट लगाएका कामदार रहने छन् । चिनियाँ पक्षले एउटा गाडीमा ल्याएको सामग्री नेपाली दुईवटा कन्टेनरमा राख्ने व्यवस्था मिलाइएको छ । नेपाली पक्षले क्वारेन्टिनमा राखिएका १५ जना चालक र १६ कामदारलाई त्यहाँ पठाएको छ ।
नाका खोलेसँगै नेपाली तथा चिनियाँ पक्षले स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राखेका छन् । कोरोना भाइरस संक्रमण हुन सक्ने भन्दै गएको माघ १५ गतेदेखि नाका बन्द भएको थियो । चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, फलफूल र टेलिकमका सामग्री आयात हुँदै आएको छ । त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ । २०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका थिए ।
चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको थियो । रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ ।