Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपाली सेनाले चीनबाट २ अर्ब २५ करोड रुपैयाँको स्वास्थ्य सामग्री ल्याउने


नेपाली सेनाले चीनबाट स्वास्थ्य सामग्री खरिदका लागि दुई अर्ब २५ करोड बढीको सम्झौता गरेको छ। सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले मंगलबार भिडियो कन्फ्रेन्समार्फत सञ्चारकर्मीहरूसँग कुरा गर्दै एक करोड ८४ लाख ४१ हजार सात सय ६ रुपैयाँ ३५ पैसा अमेरिकी डलर अर्थात् दुई अर्ब २५ करोड बढीको सम्झौता भएको बताउनु भएको अनलाइन खबरले लेखेको छ।
आइतबार भएको सम्झौतामा नेपालका तर्फबाट जंगीअड्डाका सम्भार रथी प्रभुराम शर्माले हस्ताक्षर गर्नु भएको छ भने चीनका तर्फबाट वाणिज्य मन्त्रालयका प्रतिनिधिले हस्ताक्षर गरेका छन्। सम्झौताको ७ दिनभित्रमा बेइजिङमा अत्यावश्यक सामग्री जम्मा हुन थाल्ने उल्लेख गरिएको छ। ‘नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति लिएर सम्झौता अनुसारको रकम चीनलाई भुक्तानी गरिसकेका छौँ’, सहायक रथी पाण्डेले भन्नुभयो, ‘योसँगै खरिद प्रक्रिया टुङ्गिएको छ।’ पाण्डेका अनुसार कोरोना (कोभिड–१९) को महामारीका बेला चीनबाट स्वास्थ्य सामग्री खरिद गर्ने नेपाल ८१ औँ राष्ट्र हो।

सम्झौता अनुसार जीटूजी (सरकार–सरकार) प्रक्रियाबाट नेपालमा तीन सय ४२ टन स्वास्थ्य सामग्री आउने छ। ती सामग्रीलाई आवश्यकताका आधारमा प्राथमिकता विभाजन गरेर ल्याइने पाण्डेले बताउनुभयो। चीनबाट पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई), एन–९५ मास्क, पीसीआर परीक्षणका लागि आवश्यक उपकरणसहित ६७ प्रकारका स्वास्थ्य सामग्री नेपाल आउनेछन्।

सेनाले प्रारम्भमा तीन सय ९८ प्रकारका स्वास्थ्य सामग्री माग गरे पनि चीनले सबै सामग्री दिन असमर्थ रहेको जनाएको थियो। चीन सरकारको स्वामित्वमा रहेको चाइना सिनोफर्म कम्पनीबाट सबै सामान आउन लागेका हुन्। चीनबाट निर्यात गरिएका सामानको गुणस्तरीयतामा विभिन्न राष्ट्रले प्रश्न उठाएपछि गुणस्तर निर्धारणका लागि त्यहाँ मापदण्ड तय गरिएको थियो। त्यही कारण १० अप्रिलबाट चीनले स्वास्थ्य सामग्री निर्यातमा कडाइ गरेको छ।

Insert your Ads code here

नेपाल आउन लागेका सामानले ती गुणस्तरको मापदण्ड पूरा गरेको प्रवक्ता पाण्डेले बताउनुभयो। सम्झौता अनुसार गुणस्तरीय सामान नपाइए चारदेखि पाँच दिनभित्र फिर्ता गर्न सक्ने अधिकार पनि सेनासँग सुरक्षित छ।

चीनले पहिलो चरणमा पीपीई, एन–९५ मास्कसहित अत्यावश्यक सामग्री बेइजिङमा जम्मा गर्नेछ। त्यसको ढुवानीका लागि हवाइ र स्थल दुवै मार्ग प्रयोग गरिने प्रवक्ता पाण्डेले बताउनुभयो।’वाइडबडी जहाजमा १८ देखि २० टनसम्म मात्र ल्याउन सकिने रहेछ’उहाँले सुनाउनुभयो, ‘त्यसैले प्राथमिकता तय गरेर अहिलेलाई कम्तिमा दुई खेप हवाई मार्गबाट सामान ल्याउनेछौं।’ त्यसपछि स्थलमार्गबाट पनि सामान ल्याइने उहाँले बताउनुभयो।

उहाँका अनुसार स्थलमार्गमार्फत वेइजिङबाट तातोपानी नाकासम्म सामान ल्याउन ७ दिन समय लाग्छ। त्यहाँबाट भन्सार पासका लागि कम्तिमा दुई लाग्ने उहाँले जनाउनुभयो।’अहिले मुलुकमा कोरोना संक्रमणको भयावह स्थिति सिर्जना भइ नसकेकाले स्थल मार्गबाट पनि सामान ल्याउनेछौं’, पाण्डेले थप्नुभयो, ‘अहिले अत्यावश्यक चाहिँ हवाई मार्गबाटै ल्याउने छौं।’ परिस्थिति जटिल बन्दै गए, सबै सामान हवाई मार्गबाट ल्याउनेबारे पनि छलफल गरिने उहाँले सुनाउनुभयो। सबै सामानको ढुवानी हवाई सेवाबाट गर्दा खर्च बढ्ने भएकाले स्थल मार्गलाई पनि प्राथमिकता दिइएको जंगीअड्डाको भनाइ छ। स्थलमार्गबाट ढुवानीका लागि कम्पनीको खोजी भइरहेको छ। ‘ठाउँठाउँबाट ल्याउँदा अफ्ठ्यारो पर्न सक्ने भएकाले वेइजिङबाट डिपोसम्म सामान ल्याइदिने ट्रान्सपोर्टको खोजी गरिरहेका छौं’, पाण्डेले थप्नुभयो।

ओम्नी विजनेश कर्पोरेसन इन्टरनेश्नलसँग भएको सम्झौता विवादमा आएपछि सरकारले १६ चैतमा स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिएको थियो। तर, सेनाले पनि सामान ल्याउन ढिलाइ गरेको चर्चा भएको थियो। तर, प्रवक्ता पाण्डेले त्यसको पनि खण्डन पनि गर्नु भएको छ। उहाँले भन्नुभयो, ‘यो सेनाले मात्र पाएको जिम्मेवारी होइन, विभिन्न निकायसँग समन्वयमा गर्नुपर्ने भएकाले केही समय लागेको हो। यसलाई ढिलाइ भन्न मिल्दैन।’

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!