Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपाल चीन केरूङ नाकामा नेपालतर्फको पूर्वाधार कमजोर


चीन–नेपालको सबैभन्दा पुरानो नाका रसुवागढीमा नेपालतर्फ भौतिक अवस्था ज्यादै नाजुक छ । चीनसँग व्यापार हुने पुरानो नाका भएकाले गढीमा ०१३ सालमै भन्सार कार्यालय स्थापना भएको थियो । त्यसबेला नाकासम्म यातायात पुगेको थिएन । नाकाबाट नुन, भेडाच्यांग्रा, जिम्बु, ऊन, जिन्स र मखमलको रोल कपडालगायतका सामान आयात हुन्थे । व्यापारीले केरुङदेखि नै भरियालाई सामान बोकाएर ल्याउँथे । सडकले नजोडिँदासम्म नाकामा खासै चहलपहल थिएन । चीनले स्याफ्रुबेंसी–रसुवागढी सडक निर्माण गरेपछि यो नाका यातायात सञ्जालले जोडिएको हो । यातायात पुगेपछि चहलपहल बढ्दै गयो ।

०७१ मंसिर १५ देखि उक्त नाका विधिवत् रूपमा सञ्चालनमा आएको हो । भूकम्पपछि रसुवागढी र तातोपानी नाका बन्द भए । ०७२ मंसिरदेखि रसुवागढी पुन: सञ्चालनमा आयो । चीनबाट हुने धेरैजसो आयात ०७२ मंसिरदेखि यही नाकाबाट हुँदै आएको छ । नाकालाई ०७४ भदौ १४ गते चीन सरकारले अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि सीमामा व्यापारी र सवारीसाधनकोको चाप बढ्दै गएको छ । टिमुरे गाउँ सहर बन्ने क्रममा रहेको कान्तिपुरले लेखेको छ।

अहिले रसुवागढी नाकाबाट अर्बौं मूल्य बराबरका सामान आयात भइरहेको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताउनुभयो। भूकम्पका कारण पाँच वर्षअघि तातोपानी नाका बन्द भएपछि यो नाका व्यस्त बनेको हो । भूकम्पले चीनतर्फको भूभागमा पनि ठूलो क्षति पुर्‍याएको थियो । चीनले नाकामा भौतिक पूर्वाधारको विकास गरिसकेको छ ।

Insert your Ads code here

नेपालतर्फको सीमामा भने भौतिक पूर्वाधारले पूर्णता पाउन सकेको छैन । भूकम्पपछि चीनतर्फका संरचना निर्माण भइसके तर हाम्रोतर्फ सरकारबाट कुनै पहल नभएको व्यापारी धर्म पौडेलले बताउनुभयो। चीन सरकारले तिब्बतको सिगात्से हुँदै केरुङसम्म रेल ल्याउने योजना अघि बढाइरहेको छ । सन् २०२२–२३ सम्म चीनको हिमाली उपत्यका केरुङमा रेल आइपुग्ने उसको दाबी छ । केरुङसम्म रेल आउने भएपछि अहिले त्यहाँ तीव्र रूपमा भौतिक पूर्वाधार निर्माण गरिरहेको छ । पछिल्लो समय रसुवागढी नाकालाई चीनको संघीय सरकारले दक्षिण एशिया प्रवेश गर्ने मूलद्वार मानेको छ । अहिले केरुङमा सरकारी कार्यालय थपिँदै छन् । सामान गोदाम गर्नका लागि ठूलाठूला बन्दरगाह निर्माण भइरहेका छन् । केरुङमा निकै अग्ला आधुनिक घर निर्माण भएका छन्। व्यापार व्यवसायको कारण केरुङमा दिनदिनै चहलपहल बढ्दै गएको छ । नेपाली सीमाको भौतिक अवस्था भने नाजुक बन्दै गएको छ ।

नाका पुगेपछि दुई फरक दृश्य देखिन्छन् । चिनियाँ भूभागमा आधुनिक भवन, दुई लेनको चिल्लो कालोपत्रे सडक, अध्यागमन र भन्सारका आधुनिक उपकरण जडित भवन छन् भने नेपाली भूभागको संरचना भने ठिक विपरीत छ । नेपालपट्टि सडकमा पानी पर्दा पहिरो र घाम लाग्दा धुलोले सताउने अवस्था छ । ठूलो हावा चल्दा माथिबाट ढुंगा खस्छन् । सवारी जाँच्ने एक्सरे, मेटल डिटेक्टरलगायत आधुनिक मेसिन नहुँदा जाँचमा समस्या भएको सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालले बताउनुभयो। भूकम्पपछि रसुवागढी नाका हुँदै बर्सेनि सामान आयात हुने क्रम बढ्दै गएको छ । आर्थिक वर्ष ०७५/७६ मा चीनबाट करिब २ खर्ब मूल्य बराबरको सामान आयात भएको छ ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!