Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपाल-चीन तातोपानी नाकामा पहिरो खस्दा आवागमन अवरूद्ध


ढुङ्गासहितको पहिरोले बाटो अवरुद्ध पारिदिएपछि अहिले तातोपानी नाकामा सामान लिन चीन हिँडेका कन्टेनरहरु बाटोमै अलपत्र परेर थन्किएका छन्। ढुङ्गासहित पहिरो खसेपछि तातोपानी भएर भित्रिने मालवाहक सवारी साधन बीच बाटैमा अलपत्र परेका हुन्। तातोपानीको लिपी बजारदेखि २०० मिटर नजिकै भीरमा पहिरो गएपछि १४ कन्टेनर बाटोमै रोकिएका हुन्। लिपी भिरमा पहिरो गएपछि धेरै कन्टेनरहरु नाकामै रोकिएका छन्।

चीनबाट फर्किएका कन्टेनरहरुमा कोरोनाबाट बच्ने स्वास्थ्य सामग्री भएको इलाका प्रहरी कार्यालय कोदारीले जनाएको छ। तातोपानी नाकामा करिब ५० ट्रक र कन्टेनर रोकिएका छन्। यसअघि पनि सोही ठाउँमा पहिरो खस्दा बाटो अवरुद्ध हुने गरेको थियो। बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

भोटेकोशी आयोजना र मध्यभोटेकोशी आयोजनासँग समन्वय गरेर बाटो बनाउने काम भइरहेको भोटेकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन निरौलाले बताउनुभयो । कोरोना भाइरसको महामारीका कारण गत माघ १६ गतेबाट बन्द भएको तातोपानी नाका गत चैत २६ गते देखि पुन सञ्चालनमा आएको थियो । तत्कालीन अवस्थामा स्वास्थ्य सामग्री र कृषि क्षेत्रका सामानहरु मात्र आयात गर्नका लागि खोलिएको तातोपानी नाकाबाट अहिले सबै प्रकारका सामग्रीहरु आयात हुने गरेको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो ।

Insert your Ads code here

गोरखापत्र अनलाइनका अनुसार तातोपानी क्षेत्र विपद्को उच्च जोखिममा पर्दछ। चीनसँगको व्यापारिक नाका तातोपानीमा बाढी, पहिरो, सुक्खा पहिरो र ढुङ्गा खस्नेजस्ता समस्याका कारण स्थानीयवासीलाई त्रसित बनाउने गरेको छ। बाह्रबिसेको खोर्सानीबारीदेखि तातोपानीको लिपिङसम्मका बस्ती दुई पहाडबीचबाट बग्ने भोटेकोशी नदीको किनारमा पर्दछ। भोटेकोशी र ठाडोखोलाको बाढी र पहिरोले कच्ची घरहरु पुरै भत्किएका छन्। बाढी, पहिरोको समस्या मात्रै होइन, भीरबाट खस्ने ठूलाठूला ढुङ्गाको जोखिम पनि उत्तिकै छ । यी सबै समस्याले गाती, झिर्पु, कोदारी र लिपिङ क्षेत्रमा कहिल्यै पनि त्रास नहटेको गाउँपालिकाका स्थानीय गणेश श्रेष्ठले बताउनुभयो।

वर्षातमा हुने पहिरोको जोखिम त छँदैछ, हिउँदमा पनि सुक्खा पहिरोले सताउने गरेको छ। पानी पर्नेबित्तिकै भोटेकोशी नदीमा आउने बाढीको डर एकतिर छ भने वर्षाकै कारण मुख्य सडक पनि भास्सिएका छन्। ठूला दुई पहाडबीच बग्ने नदी छेउको बसाइ त्रासपूर्ण भएको स्थानीय निङ्मा शेर्पा बताउनुहुन्छ। गाउँपालिकाको तातोपानी क्षेत्रका प्राय सबै बस्तीहरु खोला र पहिरोको उच्च जोखिममा छन्। अति जोखिममा रहेका बस्तीहरूलाई तारजाली तथा स्थानान्तरणको व्यवस्था गर्ने योजना बनाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरौलाले जानकारी दिनुभयो। विपद्को अवस्था हेरेर जिल्ला विपद् व्यवस्थापन समितिले पनि काम गरिरहेको छ । बाढी, पहिरो र पानीबाट पर्ने समस्याका साथै कोरोना भाइरसलाई समेत समेटेर समितिले पूर्व तयारीको काम गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!