Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपाल-चीन दौत्य सम्बन्ध स्थापनाको ६५ औं वार्षिकोत्सव कार्यक्रम गैँडासँगै


नेपाल-चीन दौत्य सम्बन्ध स्थापनाको ६५ औं वार्षिकोत्सव कार्यक्रम चीनको क्वाङ्तोङ प्रान्तस्थित नेपालले उपहारस्वरुप चीनलाई दिएका एकसिंगे गैंडा राखिएको निकुञ्जमा आयोजना गरिएको छ। आयोजक क्वाङतोङ् प्रान्तीय वैदेशिक मामिला कार्यालयले क्वाङ्चौस्थित नेपाली महावाणिज्य दूतावासका पदाधिकारीहरूलाई शुक्रबार एकजोडी गैंडा राखिएको निकुञ्जमा निम्त्याएर शुभकामना आदानप्रदान तथा गैंडा अवलोकन गराएका हुन्। २०७५ असारमा नेपाल सरकारले भद्र र रूपसी नाम गरेका एकजोडी गैंडा चीनलाई उपहारस्वरूप प्रदान गरेको थियो। उनीहरूलाई अहिले क्वाङतोङ प्रान्तको छाङलोङ निकुञ्जमा राखेर हुर्काइँदैछ।

कार्यक्रममा महावाणिज्यदूत हरिशरण पुडासैनीसहित वाणिज्य दूतावासका पदाधिकारीहरू, क्वाञ्चौस्थित उपलब्ध केही नेपालीहरू सहभागी भएको त्यहाँ लिटिल पापा इण्डियन नेपाली रेस्टुरेन्टका संचालक प्रमोद घिमिरेले जानकारी दिनुभयो।

कोरोना महामारीका कारण नेपालमा रहेका अधिकांश नेपाली व्यापारीहरू नेपालमै अड्किएकाले व्यस्त व्यापारिक सहर क्वाङ्चौमा नेपालीको उपस्थिति अहिले पातलो छ। ‘कार्यक्रमको मुख्य विषय दौत्य सम्बन्ध भए पनि एकसिंगे गैंडा नेपाल र चीनबीच मित्रताका सेतु भएकाले गैंडा पार्कमा यो कार्यक्रम गरिएको हो,’ क्वाङ्चौस्थित महावाणिज्य दूतावासका कन्सुलेट कुञ्जन साहले भन्नुभयो।

Insert your Ads code here

दौत्य सम्बन्ध स्थापनाको ६५औं वार्षिकोत्सवको शुभकामना दिँदै महावाणिज्यदूत पुडासैनीले इतिहासकालदेखि नै नेपाल-चीन मैत्री सम्बन्ध मजबुत रहेको बताउनुभयो। नेपाल र चीनबीच सन् १९५५ अगष्ट १ तारिखमा दौत्य सम्बन्ध स्थापना भएको थियो।

कार्यक्रममा क्वाङ्तोङ वैदेशिक मामिला कार्यालयका उपमहानिर्देशक छन क्वान् च्युनले चिनियाँ राष्ट्रपति सी चिनिफिङले नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग टेलिफोन गर्नेदेखि प्रधानमन्त्री ली खछ्याङ र नेपालका प्रधानमन्त्री केपी शर्माओलीबीच दौत्य सम्बन्ध स्थापनाको शुभकामना आदानप्रदानबाट भएबाट अन्तरदेशीय सम्बन्ध निकै घनिष्ठ रहेको झल्किने बताउनुभयो।

गैंडा राखिएको छाङलोङ सफारी पार्कका महाप्रबन्धक चाङ स्येलीले नेपाली गैंडाको हुर्काइ र जीवनशैलीबारे जानकारी दिनुभयो।

कान्तिपुर अनलाइनका अनुसार नेपालले सोही वर्षको भदौमा चीनलाई उपहारस्वरूप दिएको अर्को एक जोडी गैंडा सोल्टी र मितिनीलाई शाङ्हाईको पुतोङस्थित वन्यजन्तु पार्कमा राखिएको हो। तर सोल्टीको गत वर्ष माघमै मृत्यु भएपछि हाल पोथी गैंडा मात्रै एक्लै हुर्किरहेकी छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!