Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपाल-भारत दुई देशका संयन्त्रहरूबीच वार्ताका लागि गृहकार्य


प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको टेलिफोन संवादपछि दुई देशका संयन्त्रहरूबीच वार्ताका गृहकार्य भइरहेका छन्। भारतीय स्वतन्त्रता दिवसका अवसरमा साउन ३१ गते प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई शुभकामना दिएका थिए। प्रधानमन्त्री ओलीको त्यही टेलिफोनले नेपाल र भारतबीचको संवादहीनता अन्त्य गराइदिएको हो।

दुवै मुलुकका परराष्ट्र मन्त्रालयका अधिकारीहरू केहीयता नेपाल र भारतबीच स्थापित विभिन्न संयन्त्रको वार्ता गर्ने आन्तरिक तयारीमा जुटेका छन्। नेपाल-भारत सचिवस्तरीय बैठक, बाउन्ड्री वर्किङ ग्रुप र नेपाल-भारत संयुक्त आयोगको बैठकको तयारी भइरहेको स्रोतले बताएको छ। यद्यपि ती बैठकको मिति तय भइसकेको छैन।

दुई मुलुकका विभिन्न संयन्त्रबीच हुन लागेका बैठकहरूले नेपाल-भारत सम्बन्ध सुधारोन्मुख देखिएको छ। ‘परराष्ट्रमन्त्रीस्तरीय बैठक गर्नेबारेसमेत तयारी भइरहेको छ’, परराष्ट्रका एक अधिकारीले बताए। यसअघि भदौ १ मा नेपाल-भारत संयुक्त निगरानी संयन्त्र (ज्वाइन्ट ओभरसाइट मेकानिज्म)को बैठक बसेको थियो। बैठकले नेपालमा भारतीय सहयोगमा निर्माणाधीन परियोजनाहरूको समीक्षा गरेको थियो। भर्चुअल माध्यमबाट भएको बैठकको नेतृत्व नेपालका तर्फबाट परराष्ट्र सचिव र भारतका तर्फबाट भारतीय राजदूतले गरेका थिए।

Insert your Ads code here

निगरानी संयन्त्रको बैठकलाई दुवै मुलुकले उपलब्धिका रूपमा लिएका छन्। नेपालले कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि भारत असन्तुष्ट बनेको थियो। त्यसपछि दुई देशबीच औपचारिक संवाद भएको थिएन। सामान्य कूटनीतिक सम्बन्धबाहेक राजनीतिक स्तरमा छलफल ठप्प थियो। प्रधानमन्त्रीबीच संवाद भएपछि परराष्ट्र सचिवस्तरीय बैठकको तयारी भइरहेको छ। परराष्ट्र सचिवस्तरीय बैठकका लागि दुवै मुलुकका अधिकारीहरू तयारीमा जुटेका छन्। त्यसपछि दुई मुलुकबीच बाउन्ड्री वर्किङ ग्रुप र नेपाल-भारत संयुक्त आयोगको बैठक हुनेछ।

अन्नपूर्ण पोस्टका अनुसार नेपालस्थित भारतीय दूतावास र परराष्ट्र मन्त्रालयले सचिवस्तरीय वार्ताको मिति र एजेन्डाबारे आन्तरिक गृहकार्य गरिरहेका छन्। परराष्ट्र सचिवस्तरीय बैठकमा नेपाल-भारत पछिल्लो सम्बन्ध, रक्सौल-काठमाडौं रेलमार्गलगायत अन्य परियोजनाबारे छलफल हुनेछ। सचिवस्तरीय बैठकमा रक्सौल-काठमाडौं रेलमार्गको डीपीआर गर्नेबारे केही महत्वपूर्ण निर्णय हुन सक्ने स्रोतले बताएको छ। परराष्ट्र सचिवस्तरीय बैठकलगत्तै सीमा विवादबारे छलफल गर्न नेपाल-भारत बाउन्ड्री वर्किङ ग्रुपको बैठक बस्ने तयारी रहेको स्रोतले बताएको छ। उक्त बैठकमा पछिल्लोपटक नेपाल र भारतबीच उत्पन्न सीमा विवादबारे छलफल हुनेछ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!