नेपाल–भारत नाकाबाट चीन लगायतका तेस्रो देशका सामग्रीको आयात
कोरोना भाइरस भित्रिने डरले यहाँस्थित नेपाल–भारत नाकामा सवारीसाधनको सञ्चालनमा रोक लगाइए पनि चीन लगायतका तेस्रो देशबाट आउने गरेका सामग्रीको आयात जारी छ।
चीनलगायतका तेस्रो मुलुकबाट आउने सामानलाई भारतको समुद्री बन्दरगाहमा १४ दिन सेल्फ क्वारेन्टाइनमा राखेर पठाउनुपर्नेमा सो गरिएको वा नगरिएको सम्बन्धमा केही पनि जानकारी नभएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको गोरखापत्र अनलाइनले जनाएको छ।
नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले चीन, दक्षिण अफ्रिका, दुबई, पाकिस्तान र सउदी अरबलगायतबाट आउने सामानलाई भारतको बन्दरगाहमा १४ दिन क्वारेन्टाइनमा राखेर पठाइएको हो कि होइन केही जानकारी नभएको बताउनुभयो ।
उहाँले नेपालगञ्ज नाकामा ती सामानलाई क्वारेन्टाइन बनाएर राख्नेबारे केन्द्रबाट केही पत्र र निर्देशन नआएकाले यहाँ नरोक्ने गरिएको बताउनुभयो ।
भारतीय बन्दरगाहबाट सामान बोकेर आएका कन्टेनरलाई तत्कालै भन्सार जाँच पास गरेर भित्र पठाउने गरिएको छ, प्रमुख निरौलाले भन्नुभयो ।
चीनलगायतका देशमा कोरोनाको कहर बढ्दै गएकाले पहिलेको तुलनामा अहिले तेस्रो देशबाट आउने सामानको आयातमा कमी आएको भन्सार कार्यालयले जनाएको छ ।
भन्सार कार्यालयका अनुसार गत पाँच दिनमा भारतीय बन्दरगाह हुँदै तेस्रो देश चीन, दक्षिण अफ्रिका, साउदी अरब, पाकिस्तान र दुबईबाट २५ करोड ३४ लाख रुपियाँभन्दा बढीका सामान नेपालगञ्ज भित्रिएका छन् ।
सो कार्यालयका अनुसार उक्त अवधिमा चीनबाट ३२ लाख रुपियाँको ब्याट्री रिक्सा र ६४ लाख रुपियाँको पावरट्रिलर भित्रिएको छ । यसैगरी पाकिस्तानबाट २५ लाखको ककरासिङ्गी र गुग्गल, दक्षिण अफ्रिकाबाट १९ करोड रुपियाँको स्टिम कोइला, साउदी अरबबाट ९१ लाखको पाइप बनाउने सामान र तीन करोड ७६ लाख रुपियाँको तामाको तार आयात भएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुल वाहीद मन्सुरीले कोरोना भाइरस फैलिएका देशबाट गएको सामानमार्फत पनि धेरै देशमा कोरोना फैलिएको पाइएको जनाउँदै चीनलगायतका देशबाट आउने सामानलाई क्वारेन्टाइनमा राखेर मात्र भित्र्याउनुपर्ने बताउनुभयो ।
उहाँले तेस्रो देशबाट नेपाल आउने सामान १४ दिन क्वारेन्टाइनमा राखेर पठाइएको हो वा होइन सोबारेमा भन्सार कार्यालय जानकार हुनु आवश्यक रहेको बताउनुभयो।
तपाइँकाे प्रतिक्रिया
