Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपाल भारत संयुक्त टोली बनाएर सीमा क्षेत्रका नागरिकको सुरक्षा गर्नुपर्ने


सङ्घीय संसद्को राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पहलमा सिंहदरबारस्थित उहाँकै कार्यकक्षबाट राष्ट्रियसभाका पदाधिकारी, संसदीय दलका नेता, सचेतक तथा समितिका सभापतिबीच ‘भर्चुअल’ प्रविधिका माध्यमबाट छलफल भएको छ ।

झण्डै दुई घण्टा चलेको छलफलले नेपाल र भारतकोसीमा क्षेत्रलगायत अन्य क्षेत्रमा क्वारेन्टाइनमा बसेका दुवै मुलुकका नागरिकको दुई देशका अधिकारी सम्मिलित टोली बनाएर संयुक्त अनुगमन गर्नुपर्ने निष्कर्ष निकालेको छ।

क्वारेन्टाइनको व्यवस्थापनमा देखिएको कमीकमजोरी हेरेर सुधार गर्नुपर्ने, अन्य मुलुकमा रहेको नेपालीको हकमा सम्बन्धित मुलुकको कूटनीतिक मुलुकबाट दैनिक सूचना सङ्कलन गर्नुपर्ने तथा विदेशस्थित कूटनीतिक नियोग अत्यन्त सतर्क हुनुपर्छ भन्नेमा छलफलले जोड दिएको छ ।

Insert your Ads code here

विदेशबाट फर्केका र फर्कने युवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न आगामी आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रममा ल्याउनुपर्नेमा सहभागीको जोड थियो । उनीहरुको सीप र क्षमताको सही सदुपयोग गरिनुपर्नेमा सरकारले ध्यान दिनुपर्ने उहाँहरुले जोड दिनुभएको थियो। केही सहभागीले लकडाउनलाई अझै बढाएर लैजानुपर्ने र थप कडाइ गरिनुपर्नेमा जोड दिनुभएको थियो । सांसदहरुले स्थानीय जनप्रतिनिधिले जनतालाई भरपुर सहयोग गरिरहेको भन्दै त्यसको सराहना गर्नुभएको थियो । भारतमा कोरोना सङ्क्रमण तीव्र फैलिरहेको अवस्थामा सीमा क्षेत्रमा थप निगरानीका साथ कडाइ गरिनुपर्नेमा सांसदहरुले जोड दिनुभएको गोरखापत्र अनलाइनले जनाएको छ।

छलफलमा सहभागी हुँदै नेपाली काँग्रेसका सांसद राधेश्याम अधिकारीले अब कृषि उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । नेकपाका सांसद रामनारायण विंडारीले निजी क्षेत्रका चिकित्सकलाई सरकारी सेवा सुविधा दिएर कोरोना सङ्क्रमितको उपचार गर्ने सरकारको निर्णयलाई कडाइका साथ लागू गरिनुपर्ने बताउनुभयो ।

काँग्रेसकै तारादेवी भट्टले लकडाउनमा वडास्तरबाट पासको दुरुपयोग भएको भन्दै पास वितरणलाई व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । नगरपालिका तथा गाउँपालिकाको प्रमुख, उपप्रमुख तथा अध्यक्ष उपाध्यक्षबाट मात्र पास जारी हुने व्यवस्था मिलाउन उहाँले आग्रह गर्नुभयो । क्वारेन्टाइनमा बसेको व्यक्ति भाग्नु गम्भीर भएको भन्दै उहाँले क्वारेन्टाइनमा पर्याप्त सुरक्षा व्यवस्था मिलाउनुपर्ने बताउनुभयो ।

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले छलफलबाट आएको सुझावले आगामी नीति बनाउन अनुकूलता प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो। अहिलेसम्म भएको गतिविधि र आगामी दिनमा चाल्नुपर्ने कदमका सूची तयार गरेर सरकारलाई हस्तान्तरण गरिने अध्यक्ष तिमिल्सिनाले बताउनुभयो।

कोरोनाको उपचार गर्ने कुनै खास औषधि नबनिसकेको अवस्थामा जोखिममा रहेकालाई क्वारेन्टाइनमा बस्ने, शङ्कास्पदलाई आइसोलेशनमा राख्ने, आमजनता लकडाउनमा बस्ने र सामाजिक दूरी कायम गर्ने यसबाट बच्ने निर्विकल्प उपाय रहेको अध्यक्ष तिमिल्सिनाको भनाइ थियो। उहाँले सङ्क्रमणको जोखिम नबढोस् भनेर लकडाउनको अवधिमा पालना गर्नुपर्ने नियम पालना गर्न सुझाउनुभयो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!