Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

नेपाल, भोटाङ र बांग्लादेशको पर्यटकहरूको रोजाई बन्दै छाङ्‌गु झील र रोप-वे


गान्तोक, 10 फरवरी। हिमाली राज्य सिक्किमको पूर्व जिल्लामा भारत चीन सीमा नजिक स्थित छाङ्‌गु झील परिसरमा निर्माण भएको घिर्लिङ (रोप-वे) ले अहिले पर्यटकहरूलाई राम्रैसित आकर्षण गर्न थालेको छ। पछिल्लो दुई महिनादेखि व्यापक हिमपातका कारण भारत चीन सीमा नाथुला भञ्‌जाङको यात्रा गर्न परमिट नपाइरहेको अवस्थामा नाथुला बराबरको 14,500 फीटको उँच्चाइमा रहेको घिर्लिङको अन्तिम स्टेशन पुगेर भारत चीन र भूटानका सीमानाहरू हेर्न पर्यटकहरूको घुँइचो लागिरहेको छ। भारतको विभिन्न प्रान्त बाहेक नेपाल, भोटाङ र बंग्लादेशका छिमेकीहरू पनि अहिले छाङ्‌गु हुँदै रोप-वे को आनन्द लिन भीड़ लागिरहेको छ। गान्तोकबाट केवल 35 किलोमिटरको दूरीमा रहेको हिमाली झील छाङ्‌गु यति बेला हिमपातले जामिन पुगेको छ भने पर्यटकहरू घिर्लिङ र चौरीको सवारी गरेर सेताम्मे छाङ्‌गु क्षेत्रको प्राकृतिक सुन्दरतामा रमिरहेका छन्‌। हिमपातले जाडो बढे तापनि मौसम सफा भएको हुनाले कंचनजङ्‌घा पर्वत श्रृंखलाको मनोरम दृश्यले मानिसहरूलाई उतिकै मुग्ध तुल्याइरहेको छ। नेपालको काठमाण्डौं बौद्धबाट आएका बौद्ध भीक्षुले छाङ्‌गुबारे धेरै पटक सुनेको, तर पहिलोचोटी यहॉं आउने अवसर पाएको भन्दै आफु काठमाण्डौं उपत्यकामा बस्ने भएकोले यस्तो हिमपातको मनोरम दृश्य हेर्न नपाएको साथै रोमान्चकारी घिर्लिङको यात्रा गर्नु पाउँदा खुशी लागेको बताउँदै आफ्‌नो नेपाली साथीहरूलाई सिक्किम भ्रमणमा पुग्नै पर्छ भन्ने बताउने खुशी व्यक्त गर्छन्‌। यसरी नै भोटाङबाट आएका अर्का भीक्षु पाल्जोरले आफु यस ठाउँमा आउनु पाउँदा स्वर्गमा आएको जस्तो अनुभव भएको अनि यहॉं सबै जना एकपल्ट आउनै पर्ने ठाउँ रहेको बताए। यसैगरी, कोलकाताबाट आएको मायुख खेतानले आफ्‌नो श्रीमतीसित देश बाहिर पनि धेरै विदेशहरू घुमेको, तर यहॉं आउँदा सबै विदेशी अनुभवहरूलाई बिर्साउने अनुभव भएको अनि भारतीयहरू देश विदेशमा जान अघि एकपल्ट सिक्किम घुमेर मात्र विदेशको अनुभव लिने सुझाउ दिन चाहेको बताए। उनले सिक्किमको सुन्दरतालाई स्वीटजरल्याण्डभन्दा राम्रो भएको पनि दाबी गरे। यसरी नै बांग्लादेशबाट आएका युवाहरूको टोलीले पनि आफुहरू पहिलोपल्ट घिर्लिङमा चडेको तथा हिउँको आनन्द लिन पाएकोमा खुशी व्यक्त गरिरहेका थिए। भारत सरकारले बांग्लादेशीहरूलाई सिक्किम भ्रमण गर्ने भर्खरै मात्र अनुमति दिएको र यो अनुमति पाएपछि आफुहरूले यति सुन्दर ठॉंउ हेर्ने मौका पाएको भन्दै भारत सरकारलाई आभार प्रकट गर्दै अल्लाहले फेरी पनि सिक्किम भ्रमण गर्ने अवसर जुराइदिउन्‌ भन्ने कामना गरिरहेका थिए। त्यसो त सिक्किमले वर्षैभरि छुटपुट हुँदै भए पनि पर्यटकहरूको अतिथि सत्कार गर्नुपर्ने अवसर पाउन थालेको छ। यसै क्रममा तीनवटा सार्क मुलूकको पर्यटक जान सक्ने अनुमति रहेको छाङ्‌गु झील परिसरमा बनिएको घिर्लिङले वरिष्ठ नागरिकहरूले समेत घिर्लिङ चढेर सजिलै 14,500 फीटसम्मको यात्रा तय गर्न सक्ने भएको छ भने दुर्लभ प्राकृतिक दृश्य हेर्न पाइरहेका छन्‌। दैनिक रूपमा 200 सम्म अहिले घिर्लिङ चढेर हिउँको सुन्दरतामा रमाउने गरेको तथा भारतको पूर्वोत्तर राज्यलगात सबै क्षेत्रबाट अहिले पर्यटकहरू आइरहेको घिर्लिङका सह मालिक केबी गुरूङले बताए। यसैगरी, विदेशहरूलाई केवल छाङ्‌गु झीलसम्म मात्र जाने अनुमति प्राप्त भएको हुनाले छुटपुट यूरोपेली पर्यटकहरूसितै व्यापक संख्यामा नेपाल, भोटाङ र बांग्लादेशका पर्यटकहरूको दैनिक रूपमै बाक्लो उपस्थिति हुन थालेकोले निकट भविष्यमा अझ पर्यटकीय सम्भावना बढेर जाने उनी बताउँछन्‌। आठ वर्षको कठिन प्रयासपछि निर्माण कार्य पूरा गरेर 2017 को जुलाई महिनामा उद्‌घाटन भएको यो घिर्लिङ अहिले पूर्व सिक्किमको चर्चित पर्यटकीय स्थल छाङ्‌गु, नाथुला, बाबा मन्दिर घुमेर आउने र विदेशी पर्यटकहरूको निम्ति प्रमुख साहसिक र रोमान्चक पर्यटक केन्द्रको रूपमा विकसित हुँदै गइरहेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!