Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपाल भ्रमण वर्ष सुरु भएको दिन तातोपानी नाकामा चिनियाँ अधिकारीलाई भव्य स्वागत


नेपाल र चीन जोड्ने तातोपानी नाकाबाट नेपाल भित्रिएका चिनियाँ अधिकारीलाई स्वागत गर्दै सिन्धुपाल्चोकमा भ्रमण वर्ष–२०२० शुभारम्भ गरिएको छ। पर्यटक बनेर आएका तिब्बतका अधिकारीलाई नाकामा भव्य स्वागत गर्दै भ्रमण वर्षको सुरुआत गरिएको नागरिक अनलाइनले लेखेको छ।

भ्रमण वर्ष मनाउन उनीहरूलाई ३ नम्बर प्रदेश सरकारले निम्तो पठाएको थियो। तिब्बतको नेलाम काउन्टीका डेपुटी सेक्युरिटी लावा छिरिङ, चाङमु भन्सार समन्वय डिभिजन प्रमुख यान जिनको नेतृत्वमा आएका पर्यटकलाई मितेरी पुलमा नेपाली अधिकारीले पञ्चेबाजा, परम्परागत झाँकी र नाचले स्वागत गर्दै नेपाल भित्र्याएका थिए।

जिल्ला समन्वय समिति प्रमुख कृष्णगोपाल तामाङ, प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ, ३ नम्बर प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अधिकारी, भोटेकोसी गाउँपालिकाकी कार्यबाहक अध्यक्ष दाबुटी शेर्पालगायतले फूलमाला र ढाकाको खादा लगाएर उनीहरूलाई स्वागत गर्नु भएको थियो। कालो भादगाउँले टोपी पहिर्‍याएर चिनियाँ अधिकारीलाई बजार परिक्रमासमेत गराइएको थियो।

Insert your Ads code here

तातोपानीको मुख्य बजारमा पर्यटकलाई स्थानीय आमा समूह, महिला समूह, व्यवसायीलगायतले स्वागत गरे। साहसिक बञ्जी खेल खेलाइने द लास्ट रिसोर्टमा सञ्चालकले पनि उनीहरूलाई भव्य स्वागत, सम्मान गरे। चाङमु भन्सार प्रशासनका डिभिजन प्रमुख यान चिनले नेपाल भ्रमण वर्ष–२०२० सफल बनाउन चीनले सघाउने प्रतिबद्धता जनाउनुभयो।

‘नेपाल भ्रमण वर्षको सन्देश चीनको केन्द्रीय सरकारसम्म पुर्‍याउँछौं,’ उहाँले भन्नुभयो, ‘नेपाल घुम्न जान चिनियाँ नागरिकलाई उत्प्रेरित गर्छौं।’ नेपाल–चीनको संस्कृति, पर्यटन र व्यापारको क्षेत्रमा दुवै देश मिलेर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। यसअघि समन्वय प्रमुख तामाङले भ्रमण वर्षलाई सघाउन आग्रह गर्दै आफ्ना नागरिकलाई घुम्न नेपाल आउने वातावरण बनाउन चिनियाँ अधिकारीलाई अनुरोध गर्नु भएको थियो। प्रदेश पर्यटन मन्त्रालयले तयार पारेको मायाको चिनो र नेपाल सरकारले बनाएको भ्रमण वर्षको लोगो चिनियाँ अधिकारीलाई प्रदान गरिएको थियो।

रिसोर्ट पुग्दा त्यहाँ बन्जीजम्प, क्यानोनिङलगायत साहसिक खेल खेल्न आएका स्वदेशी र विदेशी पर्यटकको खचाखच थियो। व्यवसायीले भ्रमण वर्षको पहिलो सातासम्मका लागि सबैखाले होटल, रिसोर्ट सुविधामा ३० प्रतिशत छुट दिने घोषणा गरेका छन्। भूकम्पपछि गत जेठ १५ गतेदेखि तातोपानी नाका सञ्चालनमा आए पनि मानवीय आवागमन भने अझै बन्द छ। तर, चिनियाँ सरकारी अधिकारी भने तातोपानी हुँदै नेपाल आइरहेका छन्।

त्यसैगरी चीनसँगको अन्तर्राष्ट्रिय नाका रसुवागढीबाट भित्रिने पर्यटकलाई स्वागत गरेर नेपाल भ्रमण वर्ष २०२० को सुरुवात गरिएको छ। पहिलो दिन नाकाबाट ९२ चिनियाँ पर्यटक नेपाल भित्रिएका छन्। जिल्ला समन्वय समिति र गोसाइँकुण्ड गाउँपालिकाको संयुक्त आयोजनामा पर्यटकलाई स्वागत गरिएको हो। पाँच वर्षयता यो नाकाबाट पर्यटक भित्रिने क्रम बढेको छ।

नेपालको तेस्रो पर्यटकीय क्षेत्रको रूपमा रहेको यो जिल्लामा भ्रमण गर्न आउने पहिलो पर्यटकलाई गाउँपालिकाले गाडी तथा खानाको व्यवस्था गरेको छ। वार्षिक रूपमा यो नाकाबाट ५० हजारको हाराहारीमा पर्यटक आवतजावत गर्छन्।

पर्यटकहरूको स्वागतका लागि स्थानीयहरूले आफ्नो संस्कृतिअनुसारको नाचगान गरेर स्वागत गरेका थिए। त्यसैगरी, जिल्लाका पाँचवटै गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरेका छन्। जिल्लामा पर्यटक भित्र्याउन तथा आएका पर्यटकको बसाइ लम्बाउन गाउँपालिकाले विभिन्न योजना बनाएका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!