नेपाल राष्ट्र बैंक आफ्नो स्थापनाको ६४औं वर्ष पूरा गरी ६५औं वर्षमा प्रवेश गरेको छ। सो अवसरमा गभर्नर महाप्रसाद अधिकारीले कोरोनाको असरका बारेमा अहिले नै एकीन गर्न सकिने अवस्था नभए पनि यसबाट उत्पन्न मानवीय र आर्थिक संकटलाई संयमपूर्वक व्यवस्थापन गर्नुपर्ने बताउनुभयो। वार्षिक उत्सवको अवसरमा वक्तव्यमार्फत् अर्थतन्त्रको चुस्त सञ्चालन र व्यवस्थापनमा लाग्नुपर्न अवस्था देखिएको उहाँले बताउनुभएको हो।
विश्व अर्थतन्त्रसँगै नेपालको अर्थतन्त्र पनि प्रभावित भएको भन्दै उहाँले खासगरी, पर्यटन, वैदेशिक रोजगारी, साना तथा मझौला उद्यम, पूर्वाधार विकास र व्यापार व्यवसाय जस्ता क्षेत्र बढी प्रभावित भएका भएको जानकारी दिनभुयो। विगत तीन वर्षदेखि कायम रहेको आर्थिक क्रियाकलापहरूको उत्साहप्रद विस्तारमा कमी आउने भएको समेत उहाँको भनाइ छ।
कोभिड–१९ बाट प्रभावित क्षेत्र तथा वर्गप्रति संवेदनशील रही जिम्मेवारीबोधकासाथ यस बैंकले वित्तीय क्षेत्रबाट समेत राहत सहुलियत प्रदान गर्न सकियोस् भन्ने उद्देश्यले केही सहुलियत तथा छुटहरू प्रदान गर्ने व्यवस्था गरेको समेत उहाँले बताउनुभयो। कोभिड–१९ का कारण उत्पन्न असहज परिस्थितिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जाको निरन्तरतामार्फत् आर्थिक गतिविधि चलायमान होस् भन्ने उद्देश्यले यस बैंकबाट नियामकीय छुटसम्बन्धी विभिन्न निर्देशनहरू जारी गरिएको नेपालखबर अनलाइनले लेखेको छ।