गृहमन्त्री रामबहादुर थापाले नेपाल र चीनको सम्बन्ध प्राकृतिक रुपमा मात्रै नभएर साँस्कृतिक र सामाजिक रुपमा पनि जोडिएको बताउनुभएको छ। चिनियाँ नयाँ वर्ष वसन्तोत्सवको अवसरमा आयोजित एक कार्यक्रममा गृहमन्त्री थापाले नेपाल—चीन सम्बन्ध प्राचीन कालदेखि अटुट रहेको बताउँदै अहिले सम्बन्ध सुदृढ हुँदै गएको बताउनुभयो।
गत असोजमा भएको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले दुई देशको सम्बन्ध थप उचाइमा पुगेको उहाँले बताउनुभयो। नेपालका तर्फबाट पनि समय समयमा उच्च पदस्थ व्यक्तिहरुको चीन भ्रमण हुने गरेको उल्लेख गर्दै थापाले नेपालको समृद्धिका लागि चीनले गरेको सहयोग प्रति धन्यवाद ज्ञापन गर्नुभयो।
चिनियाँ नयाँ वर्षको उपलक्षमा अरनिको समाजले आयोजना गरेको कार्यक्रममा चीनले साँस्कृतिक कार्यक्रम समेत गरेको छ । चीनले पछिल्लो समय आफ्ना विभिन्न पर्वहरुमा सांस्कृतिक कार्यक्रमहरु आयोजना गर्दै आएको रातोपाटी अनलाइनमा खबर छ।