नेपाल र चीनबीचको व्यापारिक नाका रसुवागढीमा काम गर्ने सुरक्षाकर्मीलाई जाँच परीक्षणमा सहज बनाउन चीन सरकारले आवश्यक सहयोग सामग्री हस्तान्तरण गरेको छ। हिजो बिहीबार हस्तान्तरित सामग्रीमा ब्यागेज स्क्यानर, वाक थ्रु गेट एक/एक थान एवं मेटल डिटेक्टर पाँच थान रहेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिनुभएको गोरखापत्र अनलाइनले लेखेको छ।
एकीकृतरूपमा भन्सारलगायत सुरक्षा अङ्गलाई व्यवस्थित जाँच परीक्षण भवनको निर्माण अगाडि बढिरहेको छ। यस्तो अवस्थामा सुरक्षा अङ्गबाट हातले छामेर भए पनि आफ्नो जिम्मेवारी पूरा गरिरहेको र प्राप्त सहयोग सामग्रीले जाँच परीक्षणमा थप मद्दत पुगेको सशस्त्र प्रहरी २१ नं गुल्म टिमुरेका प्रहरी नायब उपरीक्षक लक्ष्मण थापाले बताउनुभयो।
यसअघि पनि चीन सरकारले कोभिड–१९ लाई ध्यानमा राख्दै रसुवा जिल्लालाई तीन चरणमा खाद्य तथा स्वास्थ्य सामग्री प्रदान गरिसकेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।