नेपाल र चीनबीचको सम्बन्धले नयाँ उचाइ लिएको नेपालका लागि चिनियाँ राजदूतको भनाइ
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै नेपाल-चीनवीचको सम्बन्धबारे मात्र चर्चा गर्नुभयो। पत्रकार सम्मेलनमा चिनियाँ राजदूत होउले सन् २०१९ मा नेपाल र चीनवीचको सम्बन्ध विशेष प्रगाढ बनेको बताउनुभयो। यसक्रममा उहाँले नेपालमा भइरहेको चिनियाँ सहयोगको तथ्यांकसमेत प्रस्तुत गर्नुभएको अनलाइन खबरले लेखेको छ। ‘सन् २०१९ एउटा त्यस्तो वर्ष हो, जहाँ चीन-नेपाल सम्बन्ध चौतर्फी रुपमा फूलेको छ,’ राजदूतले होउले भन्नुभयो, ‘द्विपक्षीय सम्बन्धले राजनीति, अर्थतन्त्र, व्यापार र जनता-जनतावीचको सहयोग सम्बन्धमा तीव्र विकास हासिल गरेको छ।’
चिनियाँ सहयोगका तथ्यांकहरुको चर्चा गर्दै चिनियाँ राजदूत होउले सन् २०१८/१९ मा नेपालमा ११ करोड ४० लाख अमेरिकी डलर -१३ अर्ब रुपैयाँ भन्दा बढी ) चिनियाँ लगानी भित्रिएको बताइन्। यो लगानी चारवर्ष यताको सबैभन्दा बढी भएको होउले बताउनुभयो।
त्यसैगरी चीन र नेपालवीचको व्यापारको भोल्युम ३६.१ प्रतिशतले बढेको बताउँदै राजदूत होउले दुईदेशवीच १ अर्ब २० करोड अमेरिकी डलर (करिब १ खर्ब ३७ अर्ब नेपाली रुपैयाँ) बराबरको व्यापार भएको बताइन्। नेपालबाट चीन निर्यात हुने वस्तुको व्यापार पछिल्लो १० महिनामा ५८.१ प्रतिशतले बढेको चिनियाँ राजदूतले हिसाब सुनाउनुभयो।
चीनका लागि इञ्जिनियरिङ एवं निर्माणको क्षेत्रमा नेपाल राम्रो बजार रहेको राजदूतको तर्क छ। त्रिभुवन विमानस्थलको रनवे र ट्याक्सी वे, काठमाडौंको रिङरोड, भैरहवाको गौतमबुद्ध विमानस्थल, पोखरा विमानस्थल लगायतको निर्माणमा चीन सघाइरहेको राजदूतले स्मरण गर्नु भएको छ।
त्यसैगरी नेपाल र चीनका राष्ट्रपतिवीच भएको भ्रमण आदान प्रदान, बीआरआईमा नेपालले जनाएको समर्थन, नेपालको रेलमार्गका लागि चीनले गरेको सम्भाव्यता अध्ययन, हिमालय एयरलाइन्सले चीनमा थालेको उडान अरनिको राजमार्ग, स्याफ्रुबेंसी-रसुवागढी सडक आदिको समेत चिनियाँ राजदूतले चर्चा गरिन्। साथै उनले चीनले आफ्नो देशभित्र गरेको प्रगति र विकासको पनि चर्चा गर्नुभयो।
चिनियाँ राजदूत होउले चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ भनाइ उद्धृत गर्दै भन्नुभयो, ‘जब संसार राम्रो हुन्छ, तब मात्र चीन राम्रो हुन्छ। जब चीन राम्रो हुन्छ, तब मात्र संसार अझ राम्रो बन्न सक्छ।’
उहाँले अमेरिका लगायत पश्चिमी देशको आलोचना गर्दै अमेरिकी संसदले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेकोमा आपत्ति जनाउनुभयो।
‘केही पश्चिमी देशहरु समृद्ध चीन देख्न चाहँदैनन्’ राजदूत होउले अगाडि भन्नुभयो, ‘तिनीहरुले हङकङ र सिञ्जियाङको विषयलाई लिएर चीनमाथि आक्रमण गरिरहेका छन्।’ अमेरिकाको तल्लो सदनले हालै सिञ्जियानको मानवअधिकारबारे गरेको निर्णयलाई राजदूत होउले चीनको आन्तरिक मामिलामाथिको अमेरिकी हस्तक्षेप एवं अन्तरराष्ट्रिय कानून उल्लंघनको संज्ञा दिनुभयो। राजदूत होउले भन्नुभयो, ‘अमेरिकी प्रतिनिधिसभाले पारित गरेको तथाकथित ‘उइगुर मानवधिकार नीति ऐन २०१९ ले अन्तर्राष्ट्रिय कानुन एवं अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यताहरुको उल्लंघन गर्छ र यसले चीनको आन्तरिक मामिलामा घोर हस्तक्षेप गर्दछ।’
पत्रकार सम्मेलनमा राजदूत होउले हङकङ र सिञ्जियानको वास्तविक परिस्थितिबारे बुझिदिन आग्रह गर्नुभयो। आवश्यक परे नेपाली पत्रकारहरुले सिञ्जयानको भ्रमण गरेर त्यहाँको वास्तविकता बुझ्न सक्ने उहाँले बताउनुभयो।
चीनको उत्तरी विशेष स्वायत्त प्रदेशका रुपमा रहेको सिञ्जियानको समस्यालाई राजदूत होउले आतंकवादीहरुबाट सिर्जित समस्या संज्ञा दिनुभयो। सन् १९९० देखि २०१६ सम्म सिञ्जियान आतंकवादबाट धेरै पीडित भयो,’ राजदूत होउले काठमाडौंमा आयोजित पत्रकार सम्मलेनमा भन्नुभयो, ‘घरेलु एवं विदेशी पृथकतावादी, कट्टरपन्थी एवं आतंककारी शक्तिहरुले हजारौं हिंसात्मक आतंककारी घटना गराएका थिए, जसबाट सिञ्जियानका सबै जातीय समुदायको सम्पत्ति र जीउज्यानमा क्षति पुगेको थियो।’
हङकङमा अहिले भइरहेको आन्दोलन पश्चिमाहरुको उक्साहटमा भएको र कानून उल्लंघनको विषय मात्र भएको राजदूत होउको तर्क छ। उहाँले अगाडि भन्नुभयो, ‘हङकङको वर्तमान समस्या कुनै पनि हिसाबले अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रको मुद्दा होइन। तर, कानूनको शासनमा अडिग रहने कि, माग राख्ने बैधानिक अभिव्यक्ति एवं अपराधहरुमाथि कानूनी दण्डको हो।’
हङकङको मुद्दा कहिल्यै पनि स्वतन्त्रता र लोकतन्त्रको मुद्दा नबनेको दोहोर्याउँदै राजदूत होउले भन्नुभयो ‘यो हंगकंगको मामिलामा बाह्य हस्तक्षेप गर्ने बाहनामात्र हो।’
राजदूत होउले नेपाल लगायत विश्व समुदायलाई परिस्थितिको थयार्थबारे बुझिदिन आग्रह गर्दै भन्नुभयो, ‘हामी आशा गर्छौँ कि नेपाल लगायत अन्तर्राष्ट्रिय समुदायले हङकङको स्थितिको सत्यता बुझ्छन् र हङकङमा के भयो भन्नेबारे वस्तुसंगत एवं निष्पक्ष दृष्टिकोण राख्न सक्छन्।’
तपाइँकाे प्रतिक्रिया
