नेपाल र भारत दुवै देशमा लकडाउनका कारण औषधि आयात रोकियो
नेपाल र भारत दुवै देशमा लकडाउन भएका कारण भारतबाट औषधि र औषधिजन्य कच्चा पदार्थको आयात रोकिएको छ। भारतका विभिन्न सहरबाट नेपालका आयतकर्ताले मगाएका औषधि र औषधिजन्य कच्चा पदार्थ भारतको रक्सौल नाकामै रोकिएका छन्। रक्सौलस्थित भारतीय कस्टम (भन्सार) का अधिकारीले नेपालका लागि औषधि र कच्चा पदार्थ बोकेर आएका गाडीहरु रक्सौल नाकामै रोकि दिएको आयातकर्ता र उद्योगीले बताएका छन्। भारतले निर्यातमा रोक लगाएका २८ प्रकारका औषधिको सूचीमा नपरेका औषधि र कच्चा पदार्थ पनि भारतीय कस्टमका अधिकारीले जाँचपास नगरी दिएका कारण रक्सौलमै औषधिका गाडीहरु रोकिएको अन्नपूर्णपोस्ट अनलाइनमा खबर छ।
कोरोनाको संक्रमण दर बढ्दो क्रममा रहेपछि भारतले आन्तरिक आवश्यकतालाई ध्यानमा राख्दै प्यारासिटामोलदेखि एन्टीबायोटिक सम्मका २८ प्रकारका औषधि र तीनका कच्चा पदार्थ मार्च ३ तारिखदेखि निर्यातमा रोक लगाएको हो। तर, भारतले निर्यातमा रोक लगाउनुभन्दा पहिले नै खरिद गरिएका औषधि पनि रक्सौल कस्टमले जाँचपाच नगरिदिएका कारण ३ ट्रक औषधि १ महिनादेखि रक्सौल नाकामै थन्किएको नेपाल औषधि उत्पादक संघका वरिष्ठ उपाध्यक्ष प्रकाश खण्डेलवालले बताउनुभयो। ‘भारतले ३ मार्चदेखि मात्र २८ प्रकारका औषधि निर्यातमा रोक लगाएको हो, उहाँले भन्नुभयो, ‘तर हामीले मुम्बइमा फेब्रुअरी महिना मै खरिद गरी मगाएका औषधि र कच्चा पदार्थ पनि रक्सौल कस्टमले जाँचपास दिएको छैन। ‘
रक्सौल कस्टमका अधिकारीले डाइरेक्ट जेनरल अफ फरेन ट्रेड (डिजीएसटी)को आदेशमा जाँचपास रोकिएको जवाफ दिएको खण्डेलवालले बताउनुभयो। मुम्बइलगायतका सहरबाट नेपालका लागि औषधि बोकेर हिँडेका ३ ट्रक मार्च ५ तारिखमै रक्सौल नाकामा आएर रोकिएका छन्। नाकामा रोकिएका ३ ट्रकमा पारा सिटामोल, ओर्निन्डाजोल, मेट्रोनिन्डाजोल, भिटामीन बी टु ,भिटामीन सिक्स गरी १३ प्रकारका औषधि रहेका छन्। नेपाल औषधि उत्पादक संघका कोषाध्यक्ष प्रभात रुङगटाले नेपालका लागि औषधिजन्य कच्चापदार्थ बोकेर आएका गाडी रक्सौल कस्टमले जाँचपास नदिएको बताउनुभयो।
यसैबीच भारतबाट कच्चा पदार्थको आयात रोकिएका कारण वीरगन्ज पथलैया औद्योगिक करिडोरमा रहेका थप दुई औषधि उद्योग पनि ३ दिनदेखि बन्द भएको रुङगटाले बताउनुभयो। बाराको मोतीसरमा रहेको जेनेटिका लेबोट्री र छातापिपरामा रहेको युनिक फर्मास्युटिकल्स गत शुक्रबारदेखि बन्द भएको हो। यसअघि कच्चा पदार्थको अभावमा वीरगन्ज २१ मा रहेको जीडी फर्मास्युटिकल्स, बाराको सिमरामा रहेको एलायन्स फर्मास्युटिकल्स र छातापिपरामा रहेको समर फर्मा एक साताअघिदेखि नै बन्द भइसकेका छन्।वीरगन्ज पथलैया औद्योगिक कोरिडोरमा १४ वटा औषधि उद्योग छन्। ती मध्ये अहिलेसम्म ५ वटा उद्योग कच्चा पदार्थ नभएका कारण बन्द भएको रुङगटाले जानकारी दिनुभयो। नेपाल औषधि उत्पादक संघका सदस्य प्रेम जाटीयाले पनि कच्चा पदार्थ र प्याकिङ गर्ने सामाग्रीको अभावमा उद्योगहरु बन्द भइरहेको बताउनुभयो।