Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपाल र सिक्किमले मर्चा बेच्नुपर्छ: डा. पवन चामलिङ


सिक्किमका पूर्वमुख्यमन्त्री डा.पवन चाम्लिङले नेपाल जस्तो मुलुकले मर्चा जस्तो मौलिक उत्पादनको व्यापार गर्नुपर्ने बताएका छन्। बुधबार राजधानीको राष्ट्रियसभा गृहमा किरात राई यायोक्खा (किराया) ले आयोजना गरेको यले संवत् ५०८० को अवसरमा शुभकामना तथा यलम्बर स्मृति सम्मान पुरस्कार समारोहमा बोल्दै चाम्लिङले यस्तो बताएका हुन्।

‘केही पढ्न नजान्ने आमाले मर्चा बनाउन जान्नुभएको छ, यो हाम्रो मौलिक उत्पादन हो,’ चाम्लिङले भने, ‘यो कुरा हाम्रो मौलिकता हो। नेपाल र सिक्किमले यो कुरा बेच्नुपर्छ।’

उनले मर्चालाई आधुनिक विकाससँग जोडेर विश्वमा यसको व्यापार गर्नुपर्ने बताए। उनले भने, ‘मर्चा बान्ने (बाध्ने) भन्छन्, यो मर्चा बान्ने होइन; यो चाहिँ आधुनिक जमानामा डरलाग्दो एउटा रेसिपी बनाउनुपर्छ।’

चाम्लिङ किरायाले प्रदान गरेको यलम्बर स्मृति सम्मान पुरस्कार ५०८० ग्रहण गर्न मंगलबार काठमाडौँ आएका हुन्। २ लाख २२ हजार २ सय २२ रुपैयाँ नगदसहितको यो पुरस्कारले चाम्लिङलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले फेटा गुथाएर ताम्रपत्रले सम्मान गरे।

Insert your Ads code here

उक्त पुरस्कार प्राप्त गर्ने चाम्लिङ तेस्रो व्यक्ति हुन्। यसअघि साहित्यकार इन्द्रजित राई (२०६९) तथा भाषाविज्ञ एवम् पूर्वराजदूत प्रा. डा. नोबल किशोर राई (२०७०) ले प्राप्त गरेका थिए।

यसैगरी पूर्वमुख्यमन्त्री चाम्लिङले सकारात्मक भएर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे। २५ वर्ष सिक्किममा सफलतापूर्वक जिम्मेवारी निर्वाह गरेको अनुभवसमेत उनले सुनाए। ‘सिक्किममा अनिकाल छैन। गाँस, बास र कपासका लागि सिक्किमलाई हेरेर काम गर्नुस्’, उनले मुख्यमन्त्री राईलाई सुझाव दिँदै भने, ‘भौगोलिक रुपमा टाढा रहे पनि भावनात्मक सम्बन्ध नजिक छ। त्यही भएर हार्दिकतापूर्वक नेपाल आएको हुँ।’

माघ १ गते किरात संवत् फेरिन्छ। किरात समुदायले यो दिनलाई नयाँ वर्षका रूपमा भव्यतापूर्वक मनाएका छन्। किरात वंशका प्रथम राजा यलम्बरहाङको स्मृतिमा यो संवत् चलाइएको जानकार बताउँछन्। उनले सुरु गरेको शासन व्यवस्था लामो समय चलेको इतिहास पाइन्छ। कतिपय इतिहासकारले २८ पुस्ता भनेका छन् भने कतिपयले ३२ पुस्तासम्म किरात वंशले शासन गरेको उल्लेख गरेका छन्।

कोषाध्यक्ष देवान राईका अनुसार डा. चाम्लिङलाई बिहीबार बिहान गीतकार संघ नेपालले अभिनन्दन गर्नेछ। दिउँसो २ बजे नेपाल प्रज्ञा-प्रतिष्ठानले पूर्वमुख्यमन्त्रीसँग स्वागत तथा भेटघाटको कार्यक्रम राखेको छ।

त्यसमा वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी, पूर्वसंस्कृतिमन्त्री एवं प्रतिष्ठानका पूर्वसहकुलपति मोदनाथ प्रश्रित, पूर्वकुलपति वैरागी काइँला, पूर्वउपकुलपति प्रा.डा. वासुदेव त्रिपाठीलगायतको सहभागिता रहनेछ।

अपराह्न ४ बजेपछि भेटघाटको कार्यक्रम तय गरिएको उनले सुनाए। पूर्वमुख्यमन्त्री बिहीबार मनोकामना मन्दिर दर्शन गर्न जाने कार्यक्रम छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!