नेपाल सरकारद्वारा अन्तर्राष्ट्रिय हवाई उडान र सीमा नाका जेठ १८ सम्म बन्द
नेपाल सरकारले जेठ ५ गतेसम्म लकडाउनलाई निरन्तरता दिँदै जेठ १८ सम्मका लागि हवाइ उडान बन्द गर्ने निर्णय गरेको छ। तर शुक्रबारदेखि देशभरका खाद्यान्न र अन्य अत्यावश्यक वस्तु उत्पादन गर्नेसहित ४२ प्रकारका उद्योग भने सञ्चालनमा ल्याउने निर्णय गरेको कारोबार अनलाइनले लेखेको छ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै बुधबार अर्थमन्त्री डा. युवराज खतिवडाले बिमा, बैंकिङ, धितोपत्र बजार सञ्चालनका लागि व्यवस्था गरिएको बताउनुभयो। एक तीहाई कर्मचारीबाट सेवा दिने व्यवस्था मिलाइएको भन्दै उहाँले निर्माण सामग्रीको ढुवानीलाई पनि खुला गरिने, सुरक्षाको उपायहरु अपनाएर ढुङ्गागिट्टी उत्पादन प्रशोधन गर्न दिइने तथा उद्योगबाट लोड भएका सामान गन्तव्य स्थलसम्म पु-याउन र फर्किन पनि दिइने बताउनुभयो।
काठमाडौं छिर्ने गाडीका चालक र सहचालकको विवरण राख्नु पर्ने तर ग्यास, पानी, खाद्यान्नका साथै अन्य उत्पादन ढुवानी गर्न पाइने भन्दै अर्थमन्त्री खतिवडाले निर्माण उद्योगहरु पूर्णरुपमा सञ्चालन गर्न दिइने बताउनुभयो।
राजमार्गका होटल तथा रेष्टुरेन्टहरु पनि सीमित रुपमा खोल्न पाइने र त्यहाँबाट खानाको प्याकेट उपलब्ध हुने उहाँले बताउनुभयो। यस्तै, ५ जनासम्म काम गर्ने गाडी वर्कसप खुल्ने तथा अन्य विद्युतीय सेवा दिने क्षेत्र पनि खुला हुने भएको छ।
सरकारले उद्योगलाई अत्यावश्यक वस्तु उत्पादन, निर्माण र निर्यातसम्बन्धी गरी तीन चरणमा वर्गीकरण गरेर उद्योग सञ्चालनको तयारी गरेको हो। पहिलो चरणमा खाद्य उद्योग, दोस्रो चरणमा विकास निर्माणसँग सम्बन्धित उद्योग र तेस्रो चरणमा निर्यातमूलक उद्योग खोल्ने गरी काम अगाडी बढाइएको छ।
अर्थमन्त्री खतिवडाले चामल, मकै, चिउरा, पिठो, दाल, नून, चिनी, चिया, खानेतेल, घ्यू, दूध, तरकारी, मासु, फलफूल, मसला, औषधि, साबुन, इन्धन, रसायनिक मल, दाउरा तथा कोइलालगायतका वस्तुहरु उत्पादन गर्ने उद्योग सञ्चालन गर्न दिइने भन्दै दोस्रो चरणमा सिमेन्ट उद्योग, पाइप, फलाम, स्टिल, डण्डी, कर्कटपाता, इटा, काठलगायत निर्माण क्षेत्रमा प्रयोग गरिने वस्तु उत्पादन गर्ने उद्योग सञ्चालन गरिने बताउनुभयो।
यस्तै, वैदेशिक निर्यात गर्ने उद्योगलाई तेस्रो चरणमा राखेर सञ्चालन हुने भएको छ। त्यसैगरी विशेष आर्थिक क्षेत्रमा सञ्चालित सबैखाले उद्योग तथा औद्योगिक क्षेत्रभित्र रहेका उद्योगहरुसहितका उद्योग सञ्चालनमा ल्याउने निर्णय भएको जानकारी दिँदै खतिवडाले उद्योग तथा कलकारखाना सञ्चालन गर्दा सामाजिक दूरी कायम गर्ने, मास्क, स्यानिटाइजरको प्रयोग गर्ने जास्ता सुरक्षाका उपाय अपनाउनुपर्ने पनि बताउनुभयो।
तर, सरकारले विश्व विद्यालयलगायत सम्पूर्ण शैक्षिक संस्था, गैरखाद्य वस्तु बिक्री गर्न मल, फन पार्क, पार्टी प्यालेस, होटेल, रेस्टुरेन्ट, मन्दिर, मस्जिद तथा गुम्बा, धार्मिक सभासमारोह तालिमलगायत भने सञ्चालन गर्न पाइने छैन।
तपाइँकाे प्रतिक्रिया
