यस वर्षको हिउँदे पर्वतारोहणका लागि पर्यटन विभागले आरोहण अनुमति खुला गरेको छ। विभागका अनुसार अनुमति खुला भएपछि हालसम्म विभिन्न चारओटा हिमालका लागि पर्वतारोहीले अनुमति लिएका छन्। सगरमाथा आरोहणका लागि अहिलेसम्म पाँच जनाले विभागबाट अनुमति लिइसकेका छन्। त्यसमध्ये दुई जना जर्मनी र तीन जना स्पेनी नागरिक रहेको विभागले जानकारी दिएको गोरखापत्र अनलाइनले लेखेको छ।
सगरमाथाबाहेक नुप्त्से, आमादब्लम र रोक्पाइ हिमालका लागि विभागले अनुमति जारी गरिसकेको छ। नुप्त्सेका लागि पाँच जना, आमादब्लमका लागि १५ जना र रोक्पाइ हिमालका लागि दुई जनाले अनुमति लिएको विभागले जनाएको छ।
यसरी अहिलेसम्म विभिन्न पाँचओटा टोलीका २७ जनाले अनुमति लिइसकेको विभागले जानकारी दिएको छ। अहिलेसम्म अनुमति लिनेमा सबै पुरुष छन्। कुल अनुमति लिनेमा २३ जना स्पेन, दुई जना जर्मनी र एकएक जना संयुक्त राज्य अमेरिका र चीनका नागरिक छन्।
Insert your Ads code here
आरोहण अनुमतिबाट विभागले अहिलेसम्म १६ लाख ८२ हजार रुपियाँ रोयल्टी सङ्कलन भएको विभागले जनाएको छ। त्यसमध्ये १५ लाख १३ हजार रुपियाँ मात्रै सगरमाथा आरोहण अनुमतिबाट प्राप्त छ। हिउँले सिजनमा आरोहण अनुमतिका लागि लिइने रोयल्टी वसन्तयामको तुलनामा कम हुन्छ।