Loading... आजः शनिबार , श्रावण १२, २०८१

पर्यटन उकास्न वर्षमा एक महिना ‘पर्यटन बिदा’ दिने योजना


कोरोनाका कारण धरासायी भएको पर्यटन क्षेत्रलाई उकास्न सरकारले वाषिर्क एक महिना पर्यटन विदाको योजना बनाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोरोना संक्रमण रोकिएपछि आन्तरिक पर्यटकमार्फत पर्यटन क्षेत्र बचाउन वाषिर्क एक महिना पर्यटन विदा दिने गरी नीति बनाउने योजना बनाइरहेको जानकारी दिनु भएको अनलाइन खबरले लेखेको छ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले ‘कोरोना महामारीले पर्यटन क्षेत्रमा पारेको असर र आगामी बाटो’ विषयमा गरेको भिडियो अन्र्तक्रियामा मन्त्री भट्टराईले पर्यटन पुनर्उत्थानका लागि यस्तो योजना बनाइरहेको जानकारी गराउनु भएको हो। पर्यटन बचाउन सरकार र निजी क्षेत्र मिलेर अगाडि बढ्नुको विकल्प नभएको उहाँको भनाइ थियो।

‘यो महाब्याधी नियन्त्रणका बारेमा अहिले नै भन्न सकिने अवस्था छैन, संक्रमण रोकिएपनि वाह्य पर्यटक आउने सम्भावना कम छ,’ उहाँले भन्नुभयो, ‘त्यसैले नेपालको पर्यटन क्षेत्र भाइब्रेन्ट बनाउन आन्तरिक पर्यटनलाई बढावा दिनुपर्छ।’

Insert your Ads code here

उहाँले पर्यटन क्षेत्रको वित्तिय संकट समाधानका लागि अर्थमन्त्रालयसँग छलफल गरिरहेको जानकारी दिनुभयो। मन्त्री भट्टराईले होटललगायत क्षेत्रमा कार्यरत जनशक्तिलाई वैकल्पिक काममा लगाउन सरकारले गृहकार्य गरिरहेको समेत जानकारी दिनुभयो।

उहाँका अनुसार ती जनशक्तिलाई हिमाल सरसफाई, साइनेजिङ, फुट ट्रेल निर्माणमा लगाउन सकिने सम्भावना छलफल भइरहेको छ। नेपालमा सन् २०१९ मा पर्यटन क्षेत्रबाट ६७ अर्ब रुपैयाँ भएको उल्लेख गर्दै मन्त्री भट्टराईले सन् २०२० का सवै योजना स्थगित भएकोले नयाँ ढंगले अगाडी बढ्नुपर्ने बताउनुभयो।

मन्त्री भट्टराइले नेपालको पर्यटन क्षेत्रमा कति लगानी भन्ने विषयमा समेत अहिलेसम्म यकिन तथ्यांक नरहेको भन्दै तथ्यांक संकलनको काम भइरहेको जानकारी दिनुभयो। क्षतिको विवरण संकलनको काम भइरहेको उहाँको भनाइ छ। तथ्यांक आएपछि सरकारले लगानीकर्ता र श्रमिकमा विषयमा खास कदम चाल्ने उहाँको आश्वासन छ।

नेपालको पर्यटन क्षेत्रमा कोरोनाको असरबाट करिब १ खर्ब ६० अर्ब रुपैयाँ बराबरको क्षति हुने अनुमान गरिएको नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी अधिकृत -सिइओ) दिपकराज जोशीले जानकारी दिनुभयो। उहाँका अनुसार पर्यटन क्षेत्रमा करीव १३ लाख जनशक्ति कार्यरत छन्। सरकारले सन् २०२२ सम्मको गुरु योजना बनाएर पर्यटन क्षेत्रको पुनर्उत्थान गर्नुपर्ने सुझाव उहाँको छ। ‘मन्त्रालयले नीतिगत परिवर्तन गरेर नयाँ संयन्त्र बनाउन आवश्यक छ’, उहाँले भन्नुभयो,’ यो एउटा नयाँपन ल्याउने ठूलो अवसर पनि हो।’

सरकारले यो अवस्थामा मुलुकको हरेक क्षेत्रमा सुरक्षा अवलम्बनका लागि म्यानुअल संयन्त्र बनाउन आवश्यक रहेको जोशीले बताउनुभयो। सरकार र निजी क्षेत्रको सहकार्यमा सन् २०२० मा पर्यटन उद्योगलाई बचाउने, सन् २०२१ मा पुर्नउत्थान गर्ने र सन् २०२२ मा पूर्ण रुपमा पर्यटकीय गतिविधि विस्तार गर्ने रणनीति लिनुपर्ने उहाँले बताउनुभयो। जोशीले साना उद्योगी र श्रमिक बचाउने खालको प्याकेज समेत सरकारले ल्याउनुपर्ने बताउनुभयो।

होटल संघ नेपालका द्वितीय उपाध्यक्ष प्रविण पाण्डेले पर्यटन उद्योग बचाउन निजी क्षेत्रले जम्मा गरेको सामाजिक सुरक्षा कोष प्रयोगमा ल्याउनुपर्ने माग गर्नुभयो। ‘अब लकडाउन खुलि हालेपनि विदेशी पर्यटक आउने सम्भावना कम छ।

हवाई यात्रामा पनि सामाजिक दूरी कायम गर्दा भाडा महँगो हुने भएकाले पर्यटक घुमफिरको सम्भावना कम देखिन्छ,’ उहाँले भन्नुभयो, ‘अब विकल्प भनेकै आन्तरिक पर्यटन हो।’उहाँले श्रमिकको तलव खुवाउन होटल व्यवसायीलाई समस्या पर्ने भएकोले त्यसतर्फ ध्यान सवैको जानुपर्ने बताउनुभयो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!