पर्याप्त रोजगारी सिर्जना गर्न नसक्दा नेपालमा गरिबी बढ्ने
सरकारले स्वदेशमा पर्याप्त रोजगारी सिर्जना गर्न नसक्दा गरिबी बढ्ने देखिएको छ। स्वदेशमा पर्याप्त रोजगारी सिर्जना हुन नसकिरहेको, विदेशबाट पनि लाखौं नेपाली स्वदेश फर्किएसँगै बेरोजगार समस्या भयावह देखिन थालेको हो। कोरोना भाइरस (कोभिड १९) ले गत फागुनदेखि वैदेशिक रोजगार ठप्प छ। वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका ४५ हजार कामदार पनि रोकिए। यस अवधिमा भारतबाट करिब ५ लाख फर्किएका छन्। खाडी, मलेसियालगायत अन्य मुलुकबाट पछिल्लो समय ३५ हजार कामदार फर्किएका छन्।
रोजगारी गुमाउनेको संख्या उल्लेख्य भए पनि सरकारले त्यस्ता कामदार फिर्ता ल्याउन आनाकानी गरिरहेको छ। सरकारले भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय उडान नियमित गर्ने भएको छ। अहिले चाहेर पनि आउन नपाएका कामदार नियमित उडानमा आउन सक्ने जानकारहरू बताउँछन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजिकुमार श्रेष्ठका अनुसार पछिल्लो समय साढे तीन लाख कामदार फर्किन सक्ने देखिएको छ। त्यसमा दुई लाख कन्ट्याक सकिएका र एक लाख चालिस हजार रोजगारी गुमाएर फर्कन थालेका हुन्।
कोभिड १९ कति लम्बिन्छ भनेर यसै भन्न सकिने अवस्था छैन। स्वदेशमा खर्च धान्न धौ धौ भएपछि भारतबाट आएका पनि पुनः भारतमै जाने तरखरमा छन्। माइग्रेसन ल्याबको सहकार्यमा डायस्पोरा नेपालीको अन्तर्राष्ट्रिय थिंकट्यांक नेपाल नीति प्रतिष्ठान (एनपीआई) ले गरेको अध्ययनअनुसार रोजगारी गुमाएका पनि स्वदेशमा अवसर नदेख्दा फर्किनुको साटो अर्को कम्पनीमा जागिरको खोजीमा रहेको पाइएको अन्नपूर्णपोस्टले लेखेको छ।
एनपीआईका अध्यक्ष खगेन्द्र ढकालका अनुसार सरकारले स्थानीय तहमा रोजगारी सिर्जना गर्न सके विदेशस्थित सयौं नेपाली कामदार स्वदेश फर्किनेछन्। कम्पनी टुटेर रोजगारी गुमाएकालाई सम्भव भएसम्म अर्को कम्पनीमा स्थानान्तरणको प्रयास भएको व्यवसायी बताउँछन्। कृषि क्षेत्रमा पर्याप्त रोजगारी सिर्जना हुने अपेक्षा गरिए पनि सरकारको स्पष्ट भिजन नहुँदा कोभिड १९ पछि वैदेशिक रोजगारी नै पहिलो रोजाइ बन्ने व्यवसायीको आँकलन छ।
सरकारले बजेटमार्फत सात लाखदेखि १० लाखसम्म रोजगारी सिर्जना गर्न सकिने घोषणा गरेको छ। त्यसमा पनि अझै कुन क्षेत्रमा कति रोजगारी सिर्जना गर्न गर्न सकिन्छ भन्ने विषयमा अझै ठोस अध्ययन हुन सकेको छैन। श्रमविज्ञ डा. गणेश गुरुङले बेरोजगारको संख्या बढेसँगै गरिबीमा प्रत्यक्ष असर पर्ने देखिएको बताउँछन्। बेरोजगार ह्वात्तै बढेसँगै सामाजिक सदभाव बिग्रिने, विकृति र विद्रोह निम्तिन सक्ने आशंका व्यक्त गर्छन्।
गरिबी हटाउनमा वैदेशिक रोजगारीले महŒवपूर्ण भूमिका खेलेको छ। देशको अर्थतन्त्र रेमिट्यान्समै निर्भर छ। श्रम सर्वेक्षण २०११ का अनुसार ५४ लाख घरधुरी रहेकोमा ६० प्रतिशत परिवारले रेमिट्यान्स प्राप्त गर्छन्। वैदेशिक रोजगारीमा रहेकामध्ये अधिकांश निम्न मध्यम वर्गीय परिवार हुन्। वैदेशिक रोजगारीको बाहुल्यता बढेसँगै खर्च गर्ने संस्कार पनि फेरिएको छ। हिजो गाउँघरमै हुने परिवारको एक जना वैदेशिक रोजगारीमा जानेबित्तिकै सहर पस्ने, छोराछोरीलाई राम्रो शिक्षा, स्वास्थ्य, सञ्चारलगायत दैनिक उपभोग्य क्षैत्रमै खर्च गर्ने प्रवृत्ति बढ्दै गएको हो।
तपाइँकाे प्रतिक्रिया
