Loading... आजः शनिबार , श्रावण १२, २०८१

पश्चिमसेतीमा जापान, अमेरिका र कतारको पौने ३ खर्ब लगानी प्रस्ताव


७ सय ५० मेगावाटको पश्चिमसेती आयोजना जापान, अमेरिका र कतारको लगानीमा अघि बढ्ने भएको छ। तीन देशका लगानीकर्ताको संयुक्त उपक्रमको कम्पनी म्याट्रिक्स इन्टरनेसनलसँग लगानी बोर्डले आयोजना निर्माणको आर्थिक तथा प्राविधिक प्रस्ताव माग गर्ने तयारी गरेको नयाँ पत्रिका अनलाइनले लेखेको छ। यसअघि चीनको थ्री गर्जेज आयोजना लगानीयोग्य नभएको भन्दै लगानी गर्नबाट पछि हटेका कारण बोर्डले सोही नदीमा बन्ने ४ सय ५० मेगावाटको अर्को आयोजना एसआर–६ लाई समेत पश्चिमसेतीसँगै एउटै कम्पनीलाई निर्माणको जिम्मा दिने भएको छ। अब समग्र पश्चिमसेती–एसआर ६ आयोजनाको क्षमता १२ सय मेगावाट पुग्ने भएको छ। साथै, आयोजनामा कुल लगानी २ खर्ब ७४ अर्ब हुने लगानी बोर्डको अनुमान छ।

उक्त परियोजनाको ‘रिक्वेस्ट फर प्रपोजल’ (आरएफपी) को मस्यौदा तयार गरिसकेको बोर्डका प्रवक्ता बलराम रिज्यालले जानकारी दिनुभयो। ‘जापानको फुजी इलेक्ट्रिक, कतारको नब्रास जलविद्युत् कम्पनी र अमेरिकाको जे पावरको कन्सोर्टियम नेपाली कम्पनी हो, म्याट्रिक्स इन्टरनेसनल,’ उहाँले भन्नुभयो, ‘बोर्डले आरएफपी जारी गर्नुअघि यी कम्पनीले परियोजनामा लगानी गर्नेबारे संयुक्त उपक्रम सम्झौता (जोइन्ट भेन्चर एग्रिमेन्ट) गरेर त्यसको पत्रसहित लगानी बोर्डमा पेस गर्नुपर्छ।’ जोइन्ट भेन्चर एग्रिमेन्ट गरेको कागज बोर्डमा पेस गरे मात्र आरएफपी जारी गर्ने गरी बोर्डले उक्त कम्पनीलाई सर्टलिस्टमा राखेको थियो। ‘हामीले म्याट्रिक्सलाई उक्त सम्झौता–पत्र पेस गर्न लिखित जानकारी गराइसकेका छौँ,’ उहाँले भन्नुभयो, ‘म्याट्रिक्सले पनि तीनै देशका कम्पनीबीच उक्त सम्झौता गराउन पहल गरिरहेको छ।’

पश्चिमसेती ७ सय ५० मेगावाट र सेती रिजन (एसआर)–६ ४ सय ५० मेगावाट गरी १२ सय मेगावाटको जलाशययुक्त जलविद्युत् आयोजनालाई लगानी बोर्डले एउटै प्याकेज आयोजनामा राखेर लगानी आह्वान गरेको थियो। यो आयोजनामा म्याट्रिक्स एउटा मात्रैको आवेदन परेको थियो। र, उक्त कम्पनी नै सर्ट लिस्टमा पर्न सफल भएको थियो। यो प्याकेज आयोजनाको अनुमानित लागत २ खर्ब ७४ अर्ब रुपैयाँ छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!