बागलुङको गलकोटमा ‘अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला’ जारी छ। फागुन ५ गतेबाट सुरू कार्यशालामा अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त मूर्तिकारहरूको जमघट भइरहेको छ। ‘गलकोट कला प्रतिष्ठान बागलुङ’ ले आयोजना गरेको कार्यशालामा मूर्तिकारहरूले कार्यस्थलमै बसेर मूर्ति बनाइरहेका छन्। कलाकारले बनाएका यी मूर्ति व्यवस्थित संग्रहालय बनाएर राखिने आयोजकले जनाएको छ।
गल्कोटको हरिचौर टेउवामा भइरहेको कार्यशाला ३ हजार १ सय १० मिटर उचाइमा पर्छ। यो स्थान सदरमुकाम बागलुङ बजारदेखि ५५ किलोमिटरको दूरीमा छ। यहाँका स्थानीय सर्वसाधारण र कलाप्रेमीले आफ्नै आँखाअगाडि ख्यातिप्राप्त मूर्तिकारले सृजना गरेका मूर्ति अवलोकन गर्न पाइरहेका छन्।
कार्यशालामा नेपालबाट मूर्तिकारहरू प्रविणकुमार श्रेष्ठ, ओम खत्री, राजन काफ्ले, बुद्ध चौधरी र राजु पिठाकोटेले भाग लिएका छन्।
Insert your Ads code here
त्यस्तै, अन्तर्राष्ट्रिय स्तरबाट जुनीचिरो सुगीमोतो (जापान), ल्यू याङ्ग (चीन), बिटिनो फ्रान्सेनी (इटाली), जिवियर गोञ्जालेज (फ्रान्स), लिन लि जेन (ताइवान), जुली ग्लास्पी (क्यानाडा), टुटु पटानायक (भारत), तान्या प्रिमेन्जर (इजरायल), जर्ज लुइज (ब्राजिल) र युक्रेनका मूर्तिकार ल्यूडमाइला माइस्कोले सहभागिता जनाएका छन्।
कला प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर राणाका अनुसार स्थानीयहरूले प्रतिष्ठानलाई उपलब्ध गराएको जग्गामा मूर्ति बनाइएको हो। कार्यशाला सञ्चालनका लागि एक करोड ४१ लाख खर्च लाग्ने उहाँले बताउनुभयो। कार्यशाला १५ दिनसम्म चल्ने सेतोपाटी अनलाइनले लेखेको छ।