Loading... आजः शनिबार , श्रावण १२, २०८१

पहिलो पटक स्की महोत्सव हुने


राजधानीसँग जोडिएको पर्यटकीय जिल्ला दोलखामा पहिलो पटक स्की महोत्सव हुने भएको छ। नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा हिमपातपछि जमेको हिउँको उपयोग गर्दै स्की तथा स्नो बोर्ड प्रतिष्ठानले दोलखाको कालिञ्चोक गाउँपालिका कुरी क्षेत्रमा प्रथम कुरी स्की-स्नोबोर्ड च्याम्पियनशीप खेल महोत्सव आयोजना गर्न लागेको हो।

स्की खेलप्रति रुचि राख्ने स्वदेशी एवं विदेशी तथा कालिञ्चोक घुम्न आउनेहरुलाई लक्षित गरी यही माघ ९ देखि ११ गतेसम्म कालिञ्चोक क्षेत्रमा आधारभूत स्की तालीम तथा महोत्सव गरी प्रतियोगितासमेत गरिने भएको हो। स्की तथा स्नो बोर्ड प्रतिष्ठानलका अध्यक्ष उत्सव पाठकले मङ्गलबार सदरमुकाम चरिकोटमा आयोजित पत्रकार सम्मेलनमा दोलखाको पर्यटन विकास गर्न महोत्सव गर्न लागिएको जानकारी दिनुभयो।

महोत्सव अवधिमा दश जना प्रशिक्षकबाट इच्छुकलाई साधारण ज्ञान तथा तालीम दिइने योजना रहेको अध्यक्ष पाठकले बताउनुभयो। त्यस्तै राष्ट्रिय र अन्तर्राष्ट्रिय विधामा प्रतियोगिता गरिनेछ। करिब पाँच हजारले महोत्सव अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ।

Insert your Ads code here

प्रतिष्ठानले यसअघि रोल्वालिङ, हुम्लाको सिमिकोट, डोल्पाको पुथा हिमचुली, सोलुखम्बुको मेरा पीक, मनाङको खाग्ङला ग्लेसीयर, मुस्ताङको मुक्तिनाथ आसपास र कास्कीको अन्नपूर्ण आधारशिविर क्षेत्रमा स्की तथा स्नो बोर्डिङसम्बन्धी खेल गतिविधि तथा कार्यक्रम सञ्चालन गरिसकेको अध्यक्ष पाठकले जानकारी दिनुभएको रातोपाटी अनलाइनले जनाएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!