पाँच घण्टामै विना अक्सिजन सगरमाथा आरोहण हुने
नेपाल भ्रमण वर्ष सन् २०२० को अन्तर्राष्ट्रिय पर्यटन क्याम्पियनका लागि विश्वमै पहिलो पटक असामान्य सिजन (विन्टर) मा पाँच घण्टामै विना अक्सिजन विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरिने भएको छ। चुचुरोमा नेपाल भ्रमण वर्ष २०२० को लोगो अंकित झण्डा फहराइनेछ।
सगरमाथा आरोहीहरु टासिलाक्पा शेर्पा, मिङतेम्बा शेर्पा, पासाङ नुर्बु शेर्पा र हालुङदोर्ची शेर्पाले विना अक्सिजन विन्टर एभरेष्ट स्पीड आरोहण गर्न सोमबार सगरमाथा आधार शिविर प्रस्थान गर्नुभएको गोरखापत्र अनलाइनले लेखेको छ। प्रस्थान अघि पत्रकार सम्मेलन गरी नेपाल भ्रमण वर्ष २०२० को प्रवर्दनका लागि असमान्य सिजनमा सबैभन्दा छोटो समयमा आरोहण गरी विश्व कीर्तिमान कायम गर्न लागिएको टासिलाक्पा शेर्पाले बताउनुभयो। उहाँ आठपटक सगरमाथा आरोहण गरिसक्नुभएको छ।
टासिलाक्पा शेर्पाले भन्नुभयो “हामी आज हेलिकप्टरबाट बेस क्याम्प पुग्छौं, पाँच दिनमा सगरमाथाको सफल आरोहण हुनेछ, सगरमाथाको चुचुरोमा नेपाल भ्रमण वर्ष २०२० को लोगो अंकित झण्डा फहराउछौं।” आरोहण विश्वकै रेकर्डमा सबैभन्दा छोटो समय अर्थात् विन्टर स्पीड क्लाइम्विङ हुने उहाँको भनाइ छ।
नेपाल भ्रमण वर्षलाई लक्षित गर्दे विश्वका आरोहीहरुको ध्यान नेपालतिर केन्द्रीत गर्न आफूहरुको आरोहणले मद्दत गर्ने अर्का आरोही मिङतेम्बा शेर्पाको दावी छ। उहाँका अनुसार विश्वमा बिरलै रुपमा यस्तो क्लाईविङ (आरोहण) हुने गरेको छ। सन १९८० मा र सन् १९९३ मा विदेशीहरुले यस्तो क्लाईविङ (आरोहण) गरेको पाईन्छ। उहाँहरुले झण्डै दुई महिना लगाएर क्लाईविङ (आरोहण) गर्नुभएको थियो। तर आफूहरुको टोली भने पाँचदिनमै सगरमाथाको चुचुरोमा पुगेर विश्व कीर्तिमान राख्ने शेर्पाको भनाइ छ।
हिउँदमा अत्याधिक चिसो हुने, हिउँ परिरहने, बाटो बनाउन र पहिल्याउन निकै कठिन हुने हँुदा हिउँदमा आरोहण गरिंदैन। उहाँहरुले फेबु्रवरी २९ मा सगरमाथाको चुचुरोमा पुगेर कीर्तिमान कायम गर्ने लक्ष्य बनाउनुभएको छ।
तपाइँकाे प्रतिक्रिया
