पाताल लोक विवादमा सिक्किम पुलिसलाई प्राथमिकी दर्ता गर्नुपर्ने न्यायालयले दियो आदेश
गान्तोक, 16 जून। बलिवुडकी अभिनेत्री अनुश्का शर्माद्वारा निर्मित वेबसिरिज पाताललोकको श्रृङ्खला दुईमा नेपालीलाई जोडेर अभद्र शब्दको प्रयोग गर्दै विश्वका नेपाली भाषीलाई घृणित पेशासित जोडेर देखाइएको विषयमा चलिरहेको वैश्विक विवादबीच सिक्किमको राजधानी गान्तोकस्थित सदर थानाले अभिनेत्री शर्माको निर्माण टोली, कलाकार तथा प्रसारक अमाजोन प्राईम भीडीयो विरुद्ध कार्वाही गर्ने मागको प्राथमिकी दर्ता गर्न नमानेपछि न्यायालय गएका याचिकाकर्ताहरूको पक्षमा चीफ जुडिसियल मेजिस्टेटले तुरन्तै प्राथमिकी दर्ता गरेर कार्वाही शुरु गर्नुपर्ने आदेश दिएको छ।
गत 23 मईको दिन प्राथमिकी दर्ता गर्न गएका सचेत युवा अरुण लिम्बू र प्रकाश गुरुङको प्राथमिकी सदर थानाले लिन अस्वीकार गरेको थियो। त्यसपछि सीआरपीसी कानुन अनुरुप जिल्ला पुलिस अधिक्षक समक्ष पनि प्राथमिकीको प्रतिलिपी बुझाएपनि कुनै कार्वाही नभएपछि चीफ जुडिसियल मेजिस्टेटकोमा प्राथमिका दर्ताको निम्ति याचिकाकर्ता अरुण लिम्बू र प्रकाश गुरुङले मुद्दा दर्ता गराएका थिए। जसबारे सुनवाई सकिएपछि आज आदेश जारी भएको अधिवक्ता नवीन किरणले याचिकाकर्ताहरूको पक्षमा बताए।
उनले पत्रकराहरूसित कुराकानी गर्दै सिक्किमको सरकारी भाषासमेत रहेको नेपाली भाषा र समुदायलाई यो कुराले चोट पुग्नु स्वभाविक हो तर सरकारले यस विषयलाई संज्ञानमा लिएर कार्वाही गर्नको साटो पुलिस प्रशासनले समेत प्राथमिकी लिन नमान्नु खेदपूर्ण विषय रहेको अनि अहिले आएर त्यस विषयमा न्यायको निम्ति न्यायालय जानुपर्ने स्थिति आएको बताए। उनले न्यायालयबाट आदेश जारी भैसकेको छ अब हामी नेपाली भाषिमाथि लगाइएको यो कलङ्कलाई मेटाउन अनि न्यायिकरूपमा यसको निम्ति गलत व्यक्तिहरूको विरुद्धमा अन्तिम क्षणसम्म लडाइँ लढ्नेछौं। उनले आफ्ना क्लाइण्टहरूको याचिकालाई न्यायालयमा लगेर निस्कर्षसम्म पुऱ्याउन लागी पर्ने बताए भने अझैपनि सिक्किम पुलिसले कुनै कार्वाही नगरे यो भन्दा उच्च न्यायिक प्रकृयामा पनि जान पछिनपर्ने बताए।
यसरी नै याचिकाकर्ता अरुण लिम्बुले पाताललोक राम्रो सिरियल हो भन्दै नेपालीलाई भनिएको शब्द सामान्य हो भन्नेहरूलाई कडा जवाब दिँदै आज सिरियलको बढिबढाईँ गरेर जातीय भावनालाई ठेस पुऱ्यउने विषयलाई भने अदेखा गर्नेहरूको चेलीबेटी र छोरी चेलीलाई भोलिको दिनमा देशको कुनैपनि भागमा त्यही शब्दले बोलाउँदा पनि सिरियलमा झैं उनीहरूको प्रसंसा गर्नुपर्ने ब्यङ्ग्य कसे। अर्कोतिर उनले यो घटना पहिलो चोटी नभएको र यस्तो घटना निरन्तर हुनेगरेको र नेपाली भाषिलाई हेर्ने दृष्टिकोण पटक-पटक यसप्रकारको शब्द प्रयोग गरेर जातिलाई हियाउने काम गरेको हुनाले यो मुद्दालाई केवल माफि माग्नमात्र लगाएर नहुने तर कानुन सम्मत दोषीलाई सजाय हुनुपर्ने माग पनि राखे।
यसरी नै अर्का याचिकाकर्ता प्रकाश गुरुङले आफूले उक्त विषयमा जानकारी पाउनासाथै आफूले कुनैपनि समय यसको प्रतिक्रिया गरिहाल्नुपर्ने लागेर अधिवक्तासित सम्पर्क गरेको अनि यसको निम्ति पुलिस प्रशासनमा जाने निर्णय गरेको र प्राथमिकी दर्ता गर्दा स्वीकार नभएको बताए। तर अहिलेभने न्यायालयमा पुगेर भएपनि जातिमाथि भएको घातको निम्ति न्यायकोलागि लड्न पाउँदा यो सबै नेपाली भाषीको निम्ति भएको र भावी दिनमा पनि सबैले सामुहिक रुपमा जातिको अस्तित्वको लागि अनि जातिमाथि कलङ्क लाउने गरिएको प्रयास विरुद्ध यथोचित जवाब दिनुपर्ने बताए। सबैले यसबारे एकजुट भएर दोषीलाई अन्तिम कानुन मुताबिक दण्डित गराउनुपर्ने बताए।