Loading... आजः शनिबार , श्रावण १२, २०८१

पूर्वतयारीमा जुट्न विज्ञको सुझाव


खुल्ला सिमानाका कारण नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेकाले तीन वटै तहका सरकारले पूर्वतयारी थाल्नुपर्ने विज्ञहरूले सुझाव दिएका छन्। हाइड्रोपावर लगायतका योजनामा चीन र भारतका कामदार आवतजावत हुने भएकाले पनि उच्च सतर्कता जरुरी रहेको उनीहरूको भनाइ रहेको कान्तिपुर अनलाइनले लेखेको छ।

‘कोरोनाको उद्गमस्थल चीन भएको र भारतलगायत देशमा फैलिसकेकाले नेपाल उच्च जोखिममा परिसक्यो,’ पूर्वसचिव शान्तराज सुवेदीले भन्नुभयो, ‘संघीय सरकारले निगरानी गर्ने, प्रदेशले आइसोलेसन/क्वारेन्टाइनलगायतको पूर्वतयारी थाल्ने र स्थानीय तहले चेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिनुपर्छ।’ स्थानीय तहले संघ र प्रदेशसँग समन्वय गरी आवश्यक जनशक्ति परिचालन गरेर स्वास्थ्य शिक्षा प्रदान गर्न ढिलाइ गर्न नहुने उहाँले बताउनुभयो। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाका अनुसार बुधबारसम्ममा २७ जना आइसोलेसन वार्डमा भर्ना भएका छन्। जसमध्ये एक जनामा मात्र कोरोना भाइरसको संक्रमण देखिएको र उपचारपछि डिस्चार्ज भइसकेका छन्। रिपोर्ट आएका आठ जनामा भाइरसको संक्रमण नदेखिएको उहाँले बताउनुभयो। नेपालमा कोरोना भाइरस नफैलिए पनि उच्च जोखिममा रहेको उहाँले बताउनुभयो। ‘स्थानीय तहबाटै सभा सम्मेलन नगर्ने, भिडभाडमा नजाने, रुघाखोकी/ज्वरो आएमा चिकित्सकको सल्लाह बमोजिम उपचार गर्ने, स्वास्थ्यप्रति सचेत रहेमा जोखिमबाट मुक्त हुन सकिने खालका जनचेतना दिन थाल्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘नगरपालिकाहरूले पर्चा/पम्प्लेटमार्फत सचेतना तथा लक्षण, सावधानी र बच्ने उपायबारे चेतना फैलाउनुपर्छ।’

काठमाडौं महानगरपालिकामा तीन साता अघिदेखि विज्ञसहित जनप्रतिनिधि, विभागीय प्रमुख, कर्मचारी, स्वास्थ्य स्वयंसेविकाको भेला गरेर चेतनामूलक कार्यक्रम थालिएको छ। कोरोना भाइरस, डेंगुबारे बच्ने उपायसहित पर्चा/पम्प्लेट वितरण गर्ने, महिला स्वास्थ्य स्वयंसेविकालाई घरघरमा खटाउने गरिएको जनस्वास्थ्य महाशाखाका हेल्थ असिस्टेन्ट ऋषि भुसालले बताउनुभयो। महानगरले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै ‘र्‍यापिट रेस्पोन्स टिम’समेत गठन गरेको जनाएको छ।

Insert your Ads code here

टोखा नगरपालिकाले महोत्सव नै रद्द गरेको छ। नगरको ११ वटै वडामा माइकिङ गर्ने, पर्चा, बुलेटिन वितरण गर्ने, वेबसाइट/फेसबुकमार्फत जनचेता दिने कार्य गरिरहेको नगरपालिकाले जनाएको छ। कोरोना भाइरसको लक्षण, सावधानी र बच्ने उपायबारे प्रत्येक वडामा फ्लेक्स बोर्ड राख्ने काम भइरहेको नगरप्रमुख प्रकाश अधिकारीले बताउनुभयो। यस्तै, भक्तपुरको चारवटै नगरपालिकाले पनि जनचेतनामूलक गतिविधि थालेका छन्। स्वास्थ्य शाखा इन्चार्ज डा. रत्नसुन्दर लासिवाका अनुसार नगरपालिकाले प्रत्येक वडामा कार्यरत नर्स र नर्सिङ कलेजका नर्सलाई जनचेतनाका लागि खटाइएको छ। विद्यालयका सरोकारवाला पक्ष तथा प्रधानाध्यापकर्ला सचेतना अभियान सञ्चालन गर्न निर्देशन दिइएको नगरप्रमुख सुनिल प्रजापतिले बताउनुभयो। ‘विद्यार्थीलाई कोरोना त्रासबाट मुक्त गर्न विद्यालयले मनोचिकित्सक र स्वास्थ्यकर्मीको समन्वयमा मनोपरामर्श सञ्चालनमा जोड दिनुपर्छ,’ उहाँले भन्नुभयो।

सूर्यविनायक नगरपालिकाले पनि विद्यालयहरूमा स्वास्थ्य सहायता कार्यक्रम सुरु गरेको छ। स्वास्थ्य संयोजक वसन्त चापागाईंका अनुसार नगरको १० वटै वडा र ११ वटै स्वास्थ्य केन्द्रमार्फत अभिमुखीकरण तथा जनचेतनामूलक कार्यक्रम भइरहेको हो। चाँगुनारायण र मध्यपुर थिमि नगरपालिकाले स्वास्थ्य चौकी, सहरी स्वास्थ्य केन्द्र, स्वास्थ्य केन्द्रका इन्चार्जलाई प्रशिक्षण गराएर जनचेतनाका लागि परिचालन गरेको जनाएको छ।

भक्तपुर अस्पतालले आइसोलेसनका लागि दुई शय्या तयार गरेको छ। अस्पतालले एक महिनाअघिदेखि स्वास्थ्य सहायता कक्ष सञ्चालन गरेको मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले बताउनुभयो। चीनको वुहानबाट उद्धार गरेर ल्याएका नेपालीलाई क्वारेन्टाइनमा राखिएको खरिपाटी क्षेत्रमा अस्पतालले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ। रेडक्रस र स्वास्थ्य कार्यालयको समन्वयमा जनचेतनामूलक पर्चा वितरण गरिएको उहाँले बताउनुभयो।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशन अनुसार उपत्यकामा नगरपालिकाले नौ कक्षाभन्दा तल्लो तहका विद्यार्थीको वार्षिक परीक्षा चैत ५ भन्दाअघि लिने भएको छ। ललितपुर, काठमाडौं र भक्तपुरका स्थानीय तहले फागुन २७ देखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेका हुन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!