Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

पूर्वी चितवन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, चुहावट ५ प्रतिशत घट्ने


 

चितवनका रत्ननगर, खैरहनी, राप्ती र कालीका नगरपालिकाको विद्युत् आपूर्तिलाई गुणस्तरीय र विश्वसनीय हुने भएको छ। पूर्वी चितवन (१३२-३३-११ केभी) सबस्टेसन निर्माण सम्पन्न भएसँगै यो क्षेत्रको विद्युत् गुणस्तरीय हुने भएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ।

सबस्टेसन निर्माण भएपछि हेटौँडाबाट चितवनको भरतपुरतर्फ गएको १ सय ३२ केभी प्रसारण लाइनबाट प्रवाह भएको विद्युत्लाई पूर्वी चितवन सबस्टेसनमा सफलतापूर्वक चार्ज गरिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनु भएको नयाँ पत्रिका अनलाइनले लेखेको छ।

Insert your Ads code here

हेटौँडा-भरतपुर प्रसारण लाइनबाट प्रवाह भएको विद्युत्लाई त्यस क्षेत्रमा आपूर्ति गर्न पूर्वी चितवन सबस्टेसन निर्माण गरिएको हो। ‘सबस्टेसन राखिएका १३२-३३ केभी, ३० एमभिएका दुईवटा पावर ट्रान्सफर्मरमध्ये एउटा नो लोडमा चार्ज गरिएको हो। अब त्यसलाई लोड दिएर चार्ज गरिनेछ,’ कार्यकारी निर्देशक घिसिङले भन्नुभयो। सबस्टेसन स्वचालित प्रणालीको सञ्चालन र ११ केभी फिडरबाट एक हप्ताभित्र विद्युत् वितरण गर्ने लक्ष्यका साथ काम गरिरहेको प्राधिकरणले जानकारी दिएको छ।

सबस्टेसन सञ्चालनमा आएपछि प्राविधिक चुहावट करिब ५ प्रतिशत घट्ने, प्रसारण क्षमताले नधानेर गर्मीमा बाध्यकारी लोडसेडिङ गर्नुपर्ने अवस्थाको पनि अन्त्य हुने जनाइएको छ।

अहिले भरतपुरमा रहेको १ सय ३२ केभी सबस्टेसनबाट करिब २१ किलोमिटर टाढाबाट ३३ केभी लाइनमार्फत ३३-११ केभी चैनपुर सबस्टेसनमार्फत चितवनको पूर्वी क्षेत्रमा विद्युत् आपूर्ति भइरहेको छ। लामो लाइन र क्षमताले नधान्दा लाइन चुँडिने, ट्रिपिङ हुने, लो भोल्टेज र विद्युत्को प्राविधिक चुहावटको समस्या छ। पूर्वी चितवन सबस्टेसनबाटै विद्युत् आपूर्ति हुन थालेपछि भरतपुर सबस्टेसनको लोड पनि कम हुनेछ।

नेपाल सरकारको लगानीमा राप्ती नगरपालिका–६ हर्दीमा सबस्टेसनको निर्माण भएको हो। आयोजनाको अनुमानित लागत ५४ लाख अमेरिकी डलर छ। यो आयोजना आर्थिक वर्ष ०७२-७३ मा निर्माण थालिएको हो।

गत चैतभित्रमा सञ्चालन गर्ने लक्ष्य राखिएको सबस्टेसनको निर्माण कोभिड–१९ का कारण प्रभावित हुँदा ढिला भएको हो। स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि हर्दीबाट पर्सा सबस्टेसनसम्म करिब १० किलोमिटर ३३ केभी डबल सर्किट प्रसारण लाइन र ११ केभी वितरण लाइन पनि निर्माण गरिएको छ।

नेपाल विद्युत् प्राधिकरणले झापाको दमक र नवलपरासीको बर्दघाटस्थित सबस्टेसनहरूको क्षमता बढाएको छ। दमकको पाडाजुँगीस्थित सबस्टेसनमा १३२-३३ केभी, ६३ एमभिएको पावर ट्रान्सफर्मर थपी शनिबारबाट सञ्चालनमा ल्याइएको प्राधिकरणका प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक बज्रभूषण चौधरीले जानकारी दिए। ३० एमभिएको ट्रान्सफर्मर रहेको स्थानमा अब नयाँ थप गरिएपछि ट्रान्सफर्मरको क्षमता ९३ एमभिए पुगेको छ।

नवलपरासीको बर्दघाट सबस्टेसनको क्षमता बढाउन १३२-११ केभी, २२.५ एमभिएको पावर ट्रान्सफर्मर राखिएको छ। ७ एमभिएको ट्रान्सफर्मरलाई हटाएर २२.५ एमभिएको राखिएको हो। त्यहाँ २२.५ र ७ एमभिएका ट्रान्सफर्मर थिए। अब सबस्टेसनमा रहेका ट्रान्सफर्मरको क्षमता ४५ एमभिए पुगेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!