पूर्वी नेपालको सीमाना चिवा भञ्ज्याङलम्म एक महिनामा सिक्किमबाट पुग्ने सड़क
गेजिङ 11 मई। पश्चिम सिक्किम र पूर्वी नेपालको चर्चित चिवा भञ्जाङ नाकाबाट अब लगभग एक महिनापछि सड़क सम्पर्क शुरु हुने भएको छ। पूर्वी नेपाल र पश्चिम सिक्किमसित जोड्ने यो महत्वकांक्षी सड़क योजनाको ट्र्याक सिक्किम पट्टिबाट अब चार किलोमिटर खन्न बाँकी रहेको छ। अब अऩ्तरराष्ट्रिय सीमानामा भारत नेपालको सोझो सम्पर्क पश्चिम सिक्किमको उत्तरे गाउँबाट पूर्वी नेपालको ताप्लेजुङ, पाँचथर, च्याङथापु जस्ता क्षेत्रसित हुने निश्चित भएको छ।
यत्तिखेर विश्व महामारी कोविद १९ को महामारीमा सिक्किम कोरना संक्रमित शुन्य ग्रीन जोनमा रहेको कारण कतिपय स्थगित सामाजिक अनि सरकारी निर्माण कार्य भने शुचारू रूपमा चलिरहेको छ। यस बाहेक सरकारको नियमलाई पालन गर्दै कतिपय सरकारी ठेकादारी कार्यहरू सञ्चालनमा छ।
पश्चिम जिल्लाको उत्तरेदेखि चिवा भञ्ज्याङसम्म जाने निर्माणाधीन सड़क पूरा गर्न अहिले सरकार, विभाग अनि ठेकादारले अहम भूमिका निभाइरहेका छन्। सडकली यथाशीघ्र सिमानामा पुऱ्याउने दिशामा सिक्किमको सत्तारूढ एसकेएम पार्टीका मानेबुङ देन्ताम क्षेत्र प्रभारी पुर्णहाङ सुब्बाको लगातार प्रयास देखिन्छ। पश्चिम सिक्किमको उत्तरेदेखि चिवा भञ्ज्याङसम्म जाने निर्माणाधीन सडक अबको दुई महिना भित्रमै पूरा हुने सम्भावना रहेको छ। महिनामा तीन चारपल्ट क्षेत्र प्रभारी सुब्बा यस क्षेत्रमा पुग्ने गरेका छन् भने हिजो आइतबार पुनः प्रभारी सुब्बाले पैदल यात्रा गरि सड़क निर्माणको निरिक्षण भ्रमण गरेका छन्। सीमा सड़क अन्तर्गत निर्माण हुँदै गरेको यस सडकको निर्माणमा केहू समय अघि विलम्ब भएको थियो भने हाल सो कार्यलाई युद्धस्तरमा अघि बढाइन्दैछ। नेपालतिरबाट भने ट्रयाक खनेर सडक अघावै सिमानामा आइपुगेको छ भने सिक्किम तिरबाट भने सीमानासम्म सड़क लाने प्रक्रिया चलिरहेको छ।
यस कार्यलाई निरन्तरता दिन राज्य सरकारका सडक एवं पुल विभागका मन्त्री साम्डुप लेप्चाले गत वर्षको डिसेम्बर महिनामा निरक्षण गरि सडकको सुस्तिपनलाई तीब्र गतिमा लाने सुझाउ राखेका थिए। जसको प्रतिफलस्वरूप ठेकादारहरुले पनि सो कुरालाई सकारात्मक लिदै कार्य अघि बडाएर लगेको थियो। यसै अनुरुप हालमा कोविद १९ को महामारीमा पनि सामाजीक दूरीलाई पालन गर्दै सड़क खन्ने कार्य युद्धस्तरमा चलिरहेको हुँदा निर्माण कार्यले गति लिएको छ भने अहिले चित्रे नामक स्थानमा पुगिसकेको छ। अब केवल चार किलोमीटर मात्रै सडक खन्न बाँकी रहेको सुब्बाले निरक्षण पछि जानकारी दिएका छन्।
भ्रमण टोलीमा प्रभारी सुब्बालाई साथ दिदै सिक्किम डेन्जोङ शेर्पा एसोसिएसनका अध्यक्ष पेमा वाङ्छु शेर्पा, सरकारी ठेकादार सुदेश सुब्बा, साथै अन्य रहेका थिए। प्रभारी सुब्बाले यस कार्यलाई निरक्षण गर्दै यहाँको चित्रे अगाडि पनि पुगेर निरिक्षण गरे भने आगामी एक महिनामा चिवा भञ्जाङमा सड़क संपर्क हुने निश्चित भएको जनाए। यस कार्यलाई अघिल्लो सरकारकालमा धेरै बाधा अड्चन र लान्छनाले धेरै समयसम्म कार्यलाई कछुवाको चालमा गरिएको थियो भने जब सिक्किममा सरकार परिवर्तन भयो। नयाँ सरकारले जोस र जाँगरले आज यस योजनालाई चाँडै सफल गर्ने कोशिश गरेको अऩि सिक्किमका मुख्यमन्त्री पिएस तामाङ, सम्बन्धित विभागका मन्त्री, ठेकादार सोम बहादुर सुब्बा अनि पि के सुब्बा तथा सम्बन्धित विभागका अधिकारीगणलाई धन्यवाद दिदै सडक अब एक महिनामा सिमानामा पुग्ने जमर्को रहेको जानकारी प्रभारी सुब्बाले दिएका छन्।
स्मरण रहोस् उत्तरेदेखि चिवाभञ्ज्याङसम्म (सिक्किम नेपालको सिमाना) सडक पुराउनुपर्ने म्याद पहिले नै पुरा भइसकेको भएपनि आजसम्म सिमानासम्म सडक मार्ग नपुगेकोमा धेरैले गुनासो प्रकट गरेका थिए। नयाँ सरकार कालमा आगामी जुलाई महिनाको अन्तसम्म गन्तव्यमा सडक पुग्नुपर्छ भन्ने लक्ष्य राखेर काम गर्ने सराकरी निर्देश अघि नै दिइएको छ।
भारत नेपाल सिमा क्षेत्र चिवा- भञ्ज्याङ्मा १० हजार २ सय ९९ फिट उचाइमा रहेकोछ। अहिले अन्तरराष्ट्रिय सिमाक्षेत्र मात्रै नभएर एक अति उत्तम पर्यटन स्थल बनेको छ। यस भेगका मानिसहरुको राजनीति, राष्ट्रियता र सिमाना नमिले पनि रगत र संस्कृति मिलेको हुँदा परा पुर्वकालदेखि नै यस ठाउँमा नेपाल र सिक्किमका आम नागरिक ओहोरदोहोर गर्छन्। अन्तर्राष्ट्रिय सिमासम्म सडक निर्माण हुनु समयको माग हो। तर दुवै तर्फका सरकार तथा संबंधित विभागले के गर्दा र कसो गर्दा यस पर्यावरणलाई धेरै ठुलो क्षति नगरीकन र छोटो दुरिमा सिमानासम्म पुग्ने किसिमको नाप नक्साहरुको पहिलेबाटै खाका तयारी गरेर सडक खेन्ने कार्यको थालनी गरेको हो। उत्तरेदेखी चिवा भञ्ज्याङ्सम्म जाने कुल सडकको नाप २५ किलोमीटर रहेको छ भने यहाँको सोपाखादेखी चिवा भञ्ज्याङ् जम्मा १९ किलोमीटर छ। सीमा सड़क सोपाखाबाट यो पहिलो चरणको १९ किलोमिटर बाट निर्माणको निविदा १९ करोड रूपियाँमा भएको अहिले बढोत्तरी गरेर कार्य गरिरहेको छ। भारत नेपाल सिमा क्षेत्रको चिवा भञ्ज्याङ् आज सिमा रेखा मात्रै नभएर अन्तर्राष्ट्रिय पर्यटक स्थल बन्दै गएको छ भने यता सिक्किम तर्फबाट पनि सडक खनिने कार्य युद्धस्तरमा चलिरहेको छ।
दुवै पक्षको सडक व्यवस्था ठिक भए पछि चिवा-भञ्ज्याङ्ले पर्यटनको दिशामा छुट्टै इतिहास कायम गर्ने निश्चित छ। स्मरण गराइन्छ पूर्व सरकार कालमा पनि त्यस ताकका मुख्यमन्त्री पवन चामलिङले गए बर्ष २०१९को डिसेम्बर महिनामै सडक पूरा गरेर आफू गाडीमा चिवा भञ्ज्याङ् जाने वचन पनि दिएका थिए। यद्यपी त्यो लक्ष्यमा धेरै बाधाहरु भएकाले समयमा सड़क सिमा क्षेत्रमा पुग्न सकेन। अब बर्तमन सरकारको पहलमा चाँडै सडक पुर्ण गरिने प्रभारी सुब्बाले जानकारी दिएका छन्। यो सड़क निर्माण पुरा भएपछि अन्तरराष्ट्रीय पर्यटनमा विकास हुनका साथै सीमा व्यापारको सम्भावना पनि बढ्न सक्ने देखिएको छ।
(केएन शर्मा)