Loading... आजः शनिबार , श्रावण १२, २०८१

पृथ्वीनारायण हिँडेको बाटोमा नेपाली सेनाको पदयात्रा


नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटोमा नेपाली सेनाले पदयात्रा सुरु गरेको छ। गोरखादेखि काठमाडौंसम्मको पैदल बाटोमा नेपाली सेनाले शुक्रबारबाट पदयात्रा शुरु गरेको हो।

गोरखा दरबारको हुनमान भञ्ज्याङबाट सुरु भएको पदयात्रा आगामी २७ गते काठमाडौंमा आएर टुंगिने छ।

नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको मार्गलाई एकीकरण पदमार्गको रुपमा विकास गर्ने योजनाअनुसार पदयात्रा सुरु गरिएको नेपाली सेनाले जनाएको छ।

Insert your Ads code here

नेपाली सेनाका प्रथम पाँच कम्पनी श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दबहादुर र सबुजका झण्डा लिएर बाजागाजासहित ४० जनाको टोली राष्ट्रिय झण्डा, टर्चसहित पदयात्रामा निस्किएको रणसिंह दल गणका गणपति उज्ज्वल केसीले जानकारी दिए।

केसीका अनुसार टोली गोरखाको जोरचौतारी, ताप्ले, अश्राङ, बोर्लाङ हुँदै शुक्रबारै बोर्लाङघाटमा बास बस्छ। ‘गोरखाबाट गएको टोलीले अपराह्न साढे चार बजे धादिङको देवीदत्त गणलाई टर्च र झण्डा बुझाएर फर्कन्छ, त्यहाँबाट नुवाकोटसम्म देवीदत्त गणकै टोलीले बाजागाजासहित झण्डा र टर्च नुवाकोट पुर्‍याउँछ,’ केसीले भने।

धादिङको टोलीले उक्त टर्च र झण्डा नुवाकोटको जबरजङ्ग गणलाई हस्तान्तरण गर्नेछ। काठमाडौंको पल्टनलाई बुझाउन नुवाकोटको टोली पुस २६ गते काठमाडौं पुग्नेछ। ‘नुवाकोटको टोलीले बुझाएको टर्च र झण्डा लिएर काठमाडौंको पल्टन पृथ्वी जयन्तीको दिन पुस २७ गते सिंहदरबार अगाडि हुने कार्यक्रममा सहभागी हुनेछ,’ केसीले भने।

पदयात्रामा निस्किएको टोलीमा पृथ्वीनारायण शाहकालीन पोशाक लगाएका सेनाहरु पनि सहभागी छन्। टोलीको नेतृत्व रणसिंह दल गणका क्याप्टेन इन्द्रबहादुर खत्रीले गरेका छन्।

पदमार्ग, कोट, गण र किल्लाहरु सम्वद्र्धन, संरक्षण तथा प्रवद्र्धन गर्ने नेपाली सेनाको विशेष कार्यक्रम अन्तर्गत पदयात्रा गरिएको गणपति केसीले बताए। पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्ने उनको अपेक्षा छ । गोरखा, धादिङ, नुवाकोट हुँदै काठमाडौंसम्म उक्त पदमार्गको दुरी २६ कोष रहेको छ।

पदयात्रा शुरु हुनुपूर्व एक कार्यक्रमका बीच पदयात्रामा निस्किएका टोलीलाई टर्च र नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरिएको थियो। नेपाली सेनाका पृतनापति गोकुल भण्डारी, गोरखा नगरपालिका प्रमुख राजनराज पन्त र प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले संयुक्त रुपमा क्याप्टेन खत्रीलाई टर्च र झण्डा हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा बोल्दै पृतनापति भण्डारीले पदमार्ग, कोट, गणी र किल्लाहरु सम्वर्द्धन, संरक्षण तथा प्रवर्द्धन गर्ने सेनाको विशेष कार्यक्रम रहेको बताए। नयाँ पुस्ताले बिर्संदै गएको इतिहासलाई यो कार्यक्रमले ताजा बनाइदिएको भन्दै गोरखा नगरपालिकाका प्रमुख पन्तले इतिहास जर्गेनाका लागि नेपाली सेनासँग समन्वय गर्न तयार रहेको जानकारी गराए।

सेनाले शुरु गरेको पदयात्राले राज्य एकीकरणमा पृथ्वीनारायण शाहले गरेको योगदानको पनि स्मरण गराएको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेको भनाइ छ।

भीमसेन थापा गाउँपालिका अध्यक्ष ईश्वर पाण्डेले एकीकरण पदमार्ग अन्तरगत आफ्नो पालिकामा पर्ने क्षेत्रको सम्वद्र्धन र संरक्षण गर्ने बताए। पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापाले ऐतिहासिक पदमार्ग संरक्षण र सम्वद्र्धनमा स्थानीय तहले पनि चासो दिनुपर्ने भनाइ राखेकाे अनलाइन खबरले लेखेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!