Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

पैचिङमा भएको सबैभन्दा ठूलो सेवा व्यापार मेलामा नेपाल पनि सहभागी


कोभिड-१९ महामारीपछि पहिलो पटक चीनको राजधानी पैचिङमा गरिएको ५ दिने अन्तर्राष्ट्रिय सेवा व्यापार मेला (सिफ्टिस)-२०२० मा नेपाल पनि सहभागी भएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङले सो मेलाको शुक्रबार साँझ उद्घाटन गर्नुभएको थियो। विश्व सेवा, समृद्धिको बाँडफाँड विषयक सिफ्टिस मेलामा १७ हजार कम्पनीको सहभागितामा १९० वटा गतिविधि समेटिएको छ।

१४८ वटा देश तथा क्षेत्र आकर्षित यो मेलामा नेपालको तर्फबाट पैचिङस्थित कम्पनीहरूले प्रतिनिधित्व गरेका छन्। पैचिङस्थित नेपाल-चीन सांस्कृतिक केन्द्रले नेपालबाट ल्याइएका हस्तकलाका सामग्रीहरू प्रदर्शनीमा राखेको छ। त्यस्तै ‘रंगीचंगी बेइजिङ’ नामक कार्यक्रममा नेपालले एउटा स्टल पाएको छ जसमा नेपाली दूतावासले हस्तकलाका सामग्री, पर्यटन प्रवर्द्धनसम्बन्धी फोटो तथा भिडियो राखेको दूतावासका मिनिस्टर सुशील लम्सालले बताउनुभयो।

२० अन्तर्राष्ट्रिय संगठनका प्रतिनिधि, १० जना विदेशी मन्त्रीहरू, चीनस्थित विभिन्न देशका २५ राजदूतहरू तथा ६४ विदेशी संघसंस्थाका प्रतिनिधिका साथै ५०० वटा अन्तर्राष्ट्रिय कम्पनीका ८० उच्च अधिकारीहरूले मेलामा भाग लिएका छन्। कोभिड महामारीका कारण हवाई सम्पर्क जटिल भएकाले अधिकांश देशले चीनभित्रैका आफ्ना निकायहरूलाई प्रत्यक्ष सहभागी गराएका छन्। शनिबारको कार्यक्रममा दूतावासका इकोनोमिक मिनिस्टर छविन्द्र पराजुलीले सहभागिता जनाउनुभयो। नेपाली राजदूत बेइजिङमा उपलब्ध भएपनि ओहदाको प्रमाणपत्र बुझाउन बाँकी छ। कार्यक्रममा दूतावासले केही गोष्ठीहरूमा पनि भाग लिने र पर्यटनकोबारेमा जानकारीहरू बाँड्ने कुरालाई केन्द्रित गरेको मिनिस्टिर लम्सालले बताउनुभयो। ‘विशेषगरी नेपालसँग सेवा व्यापार सम्बन्धित विषय कम भएकाले पर्यटनमा जोड दिइएको छ’ उहाँले भन्नुभयो। प्रदर्शनीमा सहभागी हुनका लागि न्युक्लिक एसिड टेस्ट नेगेटिभ भएको प्रमाणपत्र अनिवार्य गरिएको छ।

Insert your Ads code here

मेला अवधिमा विश्व बौद्धिक सम्पत्ति संगठन, विश्व खाद्य योजना कार्यक्रम, अन्तर्राष्ट्रिय बैंकिङ् महासंघ, विश्व पर्यटन सहर संघ लगायतले बौद्धिक सम्पत्तिको संरक्षण, खाद्यान्न आपूर्ति श्रृंखला, बैकिङ् तथा विज्ञान-प्रविधि आदि विषयबारे गोष्ठीहरू मुख्य चासोका विषय भएका छन्।

महामारीको झण्डै नौ महिनापछि भएको यस प्रदर्शनीले विश्वलाई आर्थिक पुनरूत्थान तथा महामारीविरूद्धको लडाईँमा बलियो सहकार्यको सन्देश दिने विश्लेषकहरूले बताएका छन्। उप वाणिज्यमन्त्री वाङ पिङनानले यो मेला चिनियाँ अर्थतन्त्रको खुलापन तथा विश्वव्यापीकरणलाई समर्थन तथा व्यापार सहकार्यको प्रतिविम्ब भएको बताए।

यो मेला चीनका तीन ठूला व्यापारिक प्रदर्शनीमध्येको एक हो। आयात निर्यात एक्स्पो र चाइना इन्टरनेश्नल आयात एक्स्पोलाई चीनले ठूला मेलाहरूका रूपमा लिने गरेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!