Loading... आजः शनिबार , श्रावण १२, २०८१

पोखरामै बन्यो कोरोना उपचार गर्दा स्वास्थ्यकर्मीलाई सुरक्षा दिने बाकस


कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीको सुरक्षाका लागि पोखरामा ‘ग्लोब वाल सिस्टम’को सुरक्षा कवच निर्माण गरिएको छ। यो, कोरियाले अपनाएको प्रविधि हो। पोखरा विश्वविद्यालयअन्तर्गत नेपाल इनोभेसन टेक्नोलोजी एन्ड आन्टरप्रेनरसिप सेन्टर (एनटीईसी) को पहलमा यो प्रविधि विकास गरिएको हो। यसको निर्माण भने पोखराकै पोखरा यूपीभीसी उद्योगले गरेको नेपाल खबर अनलाइनले लेखेको छ।

कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई सुरक्षित राख्न ‘ग्लोब वाल सिस्टम’ उपयोगी हुने एनटीईसीअन्तर्गत यो परियोजनाका संयोजक रवि भण्डारीले जानकारी दिनुभयो।

उहाँका अनुसार ग्लोब वाल सिस्टम यसअघि नै विभिन्न ल्याबमा खतरनाक रसायन एवं अन्य विभिन्न परीक्षणमा प्रयोग भइरहेका छन्। कोरोना सन्त्रासका बेला कोरियाले कोरोना शंका गरिएका बिरामीको परीक्षण गर्न यो प्रविधि उपयोगमा ल्याएको हो।

Insert your Ads code here

‘कोरियामा यही प्रविधि उपयोग गरी कोरोना संक्रमितको परीक्षण गरेको तथा सडकमा ज्वरो नापेको देखेपछि हामीले पनि यसको निर्माण थालेका हौं,’ परियोजगना संयोजक भण्डारीले भन्नुभयो, ‘नेपाल इनोभेसन टेक्नोलोजी एन्ड आन्टरप्रेनरसिप सेन्टर, पोखरा विश्वविद्यालय र कोरियाको ह्यानदङ विश्वविद्यालयको संयुक्त कार्यक्रम भएकाले पनि हामीलाई सजिलो भयो।’

उहाँका अनुसार अहिले यहाँ तयार पारिएको ग्लोब वाल सिस्टममा नेपालमै पाइने सामान प्रयोग गरिएका छन्। ‘हामीले यहीँ पाइने युपिभिसी, प्लाइउड, प्लास्टिक, बत्ती, माइक, स्पिकर, सिसा र पञ्जा प्रयोग गरेका छौं,’ संयोजक भण्डारीले भन्नुभयो,’ अहिले बनेको ग्लोब वाल सिस्टम एक प्रकारको भेन्टिलेटर नै हो।’

उहाँका अनुसार अहिले तयार भएको यो ग्लोब वाल सिस्टम एउटा बाकसजस्तो भेन्टिलेर नै हो। १ मिटर लम्बाइ, १ मिटर चौडाइ र २.५ फिट अग्लो यो बाकसमा बाहिरको हावा छिर्दैन। डाक्टर त्यसभित्र बसेपछि बाहिरबाट हावा दिइन्छ।

करिब २० फिट परबाट त्यहाँभित्र अक्सिजन प्रवाह (डक्ट) गरिने र त्यहाँभित्रको दूषित हावा फाल्न एडजस्ट पंखा पनि प्रयोग गरिने उहाँले जानकारी दिनुभयो।

उहाँका अनुसार डाक्टर भित्र बसेपछि बाकस पूरै बन्द हुन्छ। नजिक आएका बिरामीलाई डाक्टरले माइक्रोफोनबाट निर्देशन दिन्छन्। आवश्यकताअनुसार त्यहाँ भएको एउटा प्वालबाट डाक्टरले सुरक्षित पञ्जा लगाएर बिरामीको परीक्षण गर्छन्।

संयोजक भण्डारीका अनुसार पञ्जा भने भेटेनरी डाक्टरले लगाउने प्रयोगमा ल्याइएको छ। ‘डाक्टरले बिरामी जाँचेपछि पञ्जा मात्रै फाले हुन्छ, बाकस र अन्य सामान पुनः प्रयोग गर्न सकिन्छ’, उहाँले भन्नुभयो, ‘यहाँ पीपीईको अभावमा रेनकोट लगाएर हिँड्ने अवस्था छ, संकटका बेला काम लाग्ला भनेर कोरियन प्रविधिमै बाकस बनाइएको हो।’

उहाँका अनुसार एउटा बाकस बनाउन करिब ८० हजारजति खर्च भएको छ। कोरियामा भने यही बाकसलाई करिब ७ लाख नेपाली रुपैयाँ पर्ने उहाँले बताउनुभयो। महँगा माइक्रोफोन र अन्य सामान प्रयोग गरिएकाले त्यहाँ मूल्य बढी भएको उहाँको अनुमान छ।

अहिले एउटा मात्रै बाकस बनाइएको र परीक्षणमा त्यो एकदम राम्रो भएको पनि उनको दाबी छ। ‘डाक्टरबाट परीक्षण र प्रमाणित हुन त बाँकी छ, तर यो काम लाग्ला भन्ने हाम्रो विश्वास छ,’ उहाँले भन्नुभयो, ‘अब हामी यो बाकस प्रदेश सरकार वा प्रदेश स्वास्थ्य मन्त्रालयलाई निःशुल्क दिँदै छौं।’

पोखरा युपिभिसी उद्योगका सञ्चालक गेहेन्द्र भट्टराईले अनुसार संकटका बेला यो बाकस काम लाग्छ भनेर आफूहरूले ४ दिनमा बाकस तयार पारेको बताउनुभयो। कोरियन प्रविधि भए पनि बाकसभित्र हावा छिर्न नदिने र सुरक्षाको प्रबन्ध गर्ने काम स्थानीय तहमै भएको उहाँले जानकारी दिनुभयो।

महावीर पुनले पनि करिब यस्तै प्रकारको बाकस निर्माण गरिरहनु भएको छ। उहाँका अनुसार यो बाकस बन्नुअगावै निजी अस्पतालबाट माग आउन थालिसकेको छ। तर यसको प्रमाणीण भएपछि मात्रै बजारीकरण गर्ने उहाँले बताउनुभयो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!