Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

प्रदेश ५ का विभिन्न जिल्लामा घरबास (होमस्टे) खुल्ने क्रम बढ्दो


प्रदेश ५ का विभिन्न जिल्लामा सामुदायिक र निजी घरबास (होमस्टे) खुल्ने क्रम बढेको छ । होमस्टेप्रति आन्तरिक र बाह्य दुवै प्रकारका पर्यटकको आकर्षण बढ्दै गएकाले होमस्टे खुल्ने क्रम बढेको होमस्टे एसोसिएसनले जनाएको छ।

होमस्टे एसोसिएसन प्रदेश ५ का सचिव कृष्णलाल चौधरीका अनुसार होमस्टेप्रति पर्यटकको आकर्षण देखेर प्रदेशमा होमस्टे खुल्ने क्रम बढ्दै गएको छ । हाल प्रदेश ५ मा ४५ वटा होमस्टे सञ्चालनमा छन् । तीमध्ये ३२ वटा सामुदायिक र १३ वटा निजी होमस्टे रहेको जनाउँदै सचिव चौधरीले तिनमा करिब तीन सय परिवारले प्रत्यक्ष रोजगारी पाएको बताउनुभयो।

सचिव चौधरीका अनुसार बर्दियामा छ सामुदायिक र दुई निजी, बाँकेमा तीन सामुदायिक र चार निजी, दाङमा आठ सामुदायिक, प्यूठानमा चार सामुदायिक, गुल्मीमा चार सामुदायिक, पाल्पामा चार सामुदायिक र पाँच निजी, रोल्पामा दुई सामुदायिक, कपलिवस्तुमा एक सामुदायिक, रुकुम र रुपन्देहीमा एक÷एक निजी होमस्टे सञ्चालनमा रहेका छन् । सामुदायिक होमस्टे चलाउन कम्तीमा पाँच घर मिल्नुपर्ने व्यवस्था छ।

Insert your Ads code here

ती होमस्टेहरूले वर्षमा ६० हजार पर्यटकलाई सेवा दिँदै आएको जनाउँदै चौधरीले नेपाल भ्रमण वर्ष मनाइरहेको हुँदा यस वर्ष करिब ८० हजार पर्यटक भिœयाउने लक्ष्य रहेको बताउनुभयो।

बाँके, बर्दिया र पाल्पा जिल्लामा व्यवस्थित होमस्टे सञ्चालनमा रहेको होमस्टे एसोसिएसनले जनाएको छ । सरकारले पर्यटनका लागि घोषणा गरेका सय गन्तव्य क्षेत्रमा यी जिल्लाका होमस्टे समेटिएका गोरखापत्र अनलाइनले जनाएको छ।

सरकारले सन् २०११ मा कार्यविधि बनाएपछि नेपालमा होमस्टे सञ्चालनमा आएको जानकारी गराउँदै सचिव चौधरीले कार्यविधिमा होमस्टेलाई जीविकोपार्जनको माध्यम भनिएको बताउनुभयो। तर होमस्टेलाई जीविकोपार्जनका रूपमा नभई आयआर्जनको माध्यमका रूपमा अघि सार्नुपर्ने लबिङ आफूहरूले सुरु गरेको चौधरीको भनाइ छ।

स्थानीय संस्कृति र प्रकृतिको आनन्द लिन पर्यटक होमस्टेमा जाने गरेका छन्। होमस्टेहरूले पर्यटकलाई सांस्कृतिक कार्यक्रम, जङ्गल ट्रेक, इको ट्रेक, परम्परागत जीवनशैली र सङ्ग्रहालयको अवलोकन गराउने गरेका छन् ।

बाँके र बर्दिया निकुञ्ज आसपासमा रहेका होमस्टेमा आउने पर्यटक जङ्गल सफारीमा गएर बाघ, हात्ती, गैँडा, चौकालगायत संरक्षित जनावर हेर्ने गर्छन् । बर्दिया र बाँके राष्ट्रिय निकुञ्जमा पाटेबाघ, हात्ती, चौका, हुँडार, सालक, नीलगाई, चितुवा, चित्तल, लगुना, रतुवा, बँदेल, बाँदर, सुन गोहोरो, अजिङ्गर, राजधनेशलगायत विभिन्न किसिमका चरा हेर्न पाइन्छ।

बाँकेबाट प्रदेश सांसद आईपी खरेलले होमस्टेहरू रोजगार, स्वरोजगार मात्रै नभई सामुदायिक उद्योगका रूपमा विकास भएकाले यसलाई बढावा गर्नुपर्ने कुरामा जोड दिनुभयो । उहाँले होमस्टेको विकासले धेरैलाई स्वरोजगार बनाएको बताउनुभयो।

यस्तै, बैजनाथ गाउँपालिकाका प्रमुख मानबहादुर रुचालले गाभर भ्यालीलाई उत्कृष्ट गन्तव्य बनाउन गाउँपालिका लागि परेको जनाउँदै त्यहाँ रहेका हामेस्टेको विकासका लागि पनि विभिन्न योजना बनाइएको बताउनुभयो।

होमस्टे एसोसिएसन प्रदेश ५ ले अब होमस्टेलाई वर्गीकरण गरेर अघि बढ्न जरुरी रहेको जनाएको छ । होमस्टेलाई सेवा सुविधाका आधारमा वर्गीकरण गरेर अघि बढ्न जरुरी भइसकेको सचिव चौधरीले बताउनुभयो ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!