Loading... आजः शनिबार , श्रावण १२, २०८१

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार


बुधबार मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

बिहीबार पत्रकारसँग कुराकानी गर्दै शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले स्वास्थ्यमा अपेक्षाकृत सुधार भएको जानकारी दिएका हुन्।

‘सम्माननीय प्रधानमन्त्री केपी ओलीज्यूको मिर्गौला प्रत्यारोपण गरिएको आज दोस्रो दिन, उहाँको स्वास्थ्य अवस्थामा अपेक्षाकृत सुधार देखिएको छ’, खड्गाले भने, ‘प्रत्यारोपित मिर्गौलाले पनि सामान्य रुपमा कार्य गर्न थालिसकेको छ।’

Insert your Ads code here

प्रधानमन्त्रीको सबै ‘भाइटल’ र ‘ल्याब’ सूचक सामान्य अवस्थामा रहेको उनको भनाइ छ। ‘उहाँका सबै भाइटल तथा ल्याब सूचकहरु सामान्य अवस्थामा रहेका छन्’, निर्देशक खड्गाले भने, ‘उहाँलाई आजदेखि तरल तथा नरम आहार दिन सुरु गरिएको छ।’

त्यसैगरी प्रधानमन्त्रीलाई मिर्गौला दान गरेकी समीक्षा संग्रौलाको स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकले बताएका छन्।

‘सम्माननीय प्रधानमन्त्रीज्यूकी मिर्गौला दाता श्रीमती समीक्षा संग्रौलाजीको पनि स्वास्थ्य स्थिति स्थिर छ र उहाँलाई पनि आजदेखि तरल तथा नरम आहार दिन सुरु गरिसकिएको छ’, बिहीबार कार्यकारी निर्देशक खड्गाले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण बुधबार स्वदेशमै सफलतापूर्वक सम्पन्न भएको हो। त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मिर्गौला प्रत्यारोपण सम्पन्न भएको हो।

प्रधानमन्त्रीको शल्यक्रियामा प्रा.डा. उत्तमकुमार शर्मा, प्रा.डा. प्रेम ज्ञवाली, प्रा.डा अनन्त कुमारलगायत सहभागी थिए। अनन्तकुमार प्रधानमन्त्री ओलीको पहिलो मिर्गौला प्रत्यारोपणमा संलग्न भारतीय चिकित्सक हुन्।

मिर्गौला प्रत्यारोपण चिकित्सा टोलीमा प्रधानमन्त्रीकी निजी चिकित्सकसमेत रहेकी प्रा.डा दिव्या सिंह शाह, डा. महेश सिग्देल, डा. मुकुन्द्र काफ्ले र डा. रविन नेपालीलगायतको टोली रहेको थियो।

त्यसैगरी एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ डा. अनिल श्रेष्ठ र प्रा.डा. सुवा आचार्यलगायतको टोली सहभागी थिए। ओलीको एउटा मिर्गौलाले काम गर्न छाडेपछि २०६४ सालमा भारतको एपोलो अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण भएको थियो, अन्नपूर्ण पाेष्ट अनलाइनले लेखेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!