कैलालीको टीकापुर स्थित इलाका प्रहरी कार्यालय टीकापुरको हिरासत भित्र एक व्यक्ति मृत अवस्थामा भेटिएका छन । प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय टीकापुरको हिरासत भित्र सुर्खेतको चौकुने गाउँपालिका–३ बेतानका ३५ वर्षका धनबहादुर राना मगर मृत अवस्थामा भेटिएका हुन ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाका अनुसार उनी हिरासत भित्रै रहेको शौचालयमा झुण्डिएको अवस्थामा भेटिएका छन । शौचालय भित्र गएका राना मगर लामो समयसम्म बाहिर नआए पछि हिरासतमा रहेका अन्य व्यक्तिहरुले प्रहरीलाई खबर गरेको डिएसपी सापकोटाले बताउनुभयाे । हिरासत भित्र थप पाँच जना थुनुवा समेत रहेका छन ।
उनिहरुका अनुसार शौचालयको ढोका फोडेर हेर्दा राना मगर आफ्नो गन्जीको पासो लगाएर भेन्टिलेसनमा झुण्डिएको अवस्थामा भेटिएका हुन । कैलाली प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) विश्व अधिकारीकाे टाेलिले थप घटनाका बारेमा थप अनुसन्धान गरिरहेकाे छ । एस पी अधिकारी आफै घटनाको अनुसन्धानमा खटेका छन । प्रहरीका अनुसार मृतक राना मगर भैंसी चोरेको आरोपिमा आइतबार मात्रै पक्राउ परेका थिए । उनी जानकी गाउँपालिका दुर्गौलीबाट एक स्थानीयको भैंसी चोरेर भाग्दै गर्दा पक्राउ परेका थिए ।