प्राविधिकको प्रतीक्षामा गौतम बुद्ध विमानस्थल
कोभिड–१९ महामारीले असर नगरेको भए यतिबेला रूपन्देहीको आकाशमाथि अन्तर्राष्ट्रिय कम्पनीका ठूला विमान घुमिरहेका हुन्थे। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसक्ने थियो। यसको ९३ प्रतिशत भौतिक संरचना निर्माण सम्पन्न पूरा भइसकेको छ। अहिले उपकरण जडानका लागि विभिन्न मुलुकबाट आउनुपर्ने विदेशी प्राविधिकको प्रतीक्षा भइरहेको कान्तिपुर अनलाइनले लेखेको छ।
यसको तीन हजार मिटर लामो धावनमार्ग तयार छ। आठतले कन्ट्रोल टावर, प्रशासनिक भवन, अन्तर्राष्ट्रिय टर्मिनल भवन, ट्याक्सी–वे, विमान पार्किङ गर्ने एप्रोन, फायर बिल्डिङलगायत मुख्य भौतिक संरचना निर्माण भइसकेका छन्। टायल, मार्बल र रङरोगनमा सजिएर आकर्षक देखिएका निर्माण सम्पन्न ती भौतिक संरचनाले विदेशी विमानसहित पर्यटकको पर्खाइमा रहेको आभास दिन्छ। ‘कोभिड–१९ ले विश्वव्यापी रूपमा असर नपारेको भए यतिबेलासम्म यो आयोजना सम्पन्न भई अन्तर्राष्ट्रिय उडान सञ्चालन योग्य भइसक्ने थियो,’ गत शुक्रबार विमानस्थल आयोजनाको स्थलगत निरीक्षण गरेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भन्नुभयो, ‘जहाज उडानको प्रक्रिया पनि सञ्चालन भइसक्ने थियो।’
विमानस्थलमा उपकरण जडान गर्नका लागि आवश्यक प्राविधिक नेपालमा नभएकाले विदेशबाट ल्याउनुपर्ने र त्यसका लागि कोभिडले सबै ठाउँमा उडान अवरुद्ध भएकाले समयमै ल्याउन नसकिएको उहाँले बताउनुभयो। उपकरण जडानका लागि चिनियाँ प्राविधिक ल्याउने प्रक्रिया अघि बढिसकेको र अमेरिका, अस्ट्रिया र थाइल्यान्डबाट आउनुपर्ने प्राविधिकलाई ल्याउन पनि ती देशमा सिधा सम्पर्क गरिएको उहाँले जनाउनुभयो। ‘यो विमानस्थल एक किसिमले सम्पन्न भइसक्यो भने पनि हुन्छ,’ मन्त्री भट्टराईले भन्नुभयो, ‘मात्र केही महत्त्वपूर्ण उपकरण जडान गरेपछि औपचारिकता निभाउनुपर्ने हुन्छ।’नेपालमा कोभिड–१९ को संक्रमण बढ्दो रहेकाले ती देशबाट प्राविधिक आउन अलि अप्ठ्यारो माने पनि विशेष सावधानी अपनाएर ल्याउन पहल गरिएको उहाँको भनाइ छ।
आयोजना स्थलमा अहिले पनि २६ जना चिनियाँ कामदारसहित २ सय ५० भन्दा धेरै कामदार कार्यरत छन्। उपकरण जडानका लागि विद्युतीय काम, निर्माण भएका भौतिक संरचनालाई रंगरोगनलगायत काम, धावनमार्ग वरपरको १० किमि लम्बाइको पेरिमिटर सडक निर्माण, खानेपानी ट्यांकी, बगैंचा र सौन्दर्यका काम जारी छन्। कोभिड–१९ को प्रतिकूल समयले निर्माण कार्यमा केही सुस्तता त आयो। तर अवरुद्ध भने कहिल्यै भएन। सुरक्षा सावधानी अपनाएर निर्माण कार्यलाई निरन्तरता दिँदै आइएको छ। लकडाउनका बेलामा पनि साढे ४ प्रतिशत काम भएको आयोजनाको दाबी छ।
कोरोना संक्रमणसँगै आयोजनामा पनि गतिरोध भएको हो। चिनियाँ नयाँ वर्ष मनाउन आयोजना स्थलबाट घर गएका चिनियाँ कामदार चीनमा कोरोना संक्रमण विस्तार भएर सबै कलकारखाना, यातायात, विमानस्थल बन्द भएपछि फर्किन पाएनन्। चिनियाँ ठेकेदार कम्पनीका तर्फबाट आयोजनाका लागि ल्याइनुपर्ने उपकरण पनि चीनमा कारखाना बन्द र ढुवानी हुन नपाएकाले आउन सकेन। कोभिडको संक्रमण विश्वव्यापी रूपमा फैलिएर सबै देशमा अन्तर्राष्ट्रिय हवाई उडान अवरुद्ध भएपछि उपकरण र विदेशी प्राविधिक आउनमा समस्या भएको हो।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारी आयोजना स्थलमा विदेशी मुलुकबाट आउनुपर्ने धेरै उपकरण आइसकेको र थोरै परिमाण मात्रै बीच बाटोमा रहेकाले चाँडै आइपुग्ने बताउनुभयो। उपकरण जडानका लागि जति छिटो विदेशबाट प्राविधिक ल्याउन सकियो, उति नै चाँडो आयोजना सम्पन्न हुने उहाँले बताउनुभयो। ‘आयोजनाका मुख्य ठूला भौतिक निर्माण संरचना बनिसकेका छन्,’ उहाँले भन्नुभयो, ‘उपकरण जडानको कामबाहेक निर्माणका क्रममा अन्य सबै अप्ठ्यारा र कठिन चरण पार भइसकेका छन्।’अहिले आयोजनाको प्रगति ९३ प्रतिशत रहेको र उपकरण जडान हुनासाथ ५ प्रतिशत प्रगति थप हुने उहाँले बताउनुभयो। बाँकी २ प्रतिशत आयोजनाका विभिन्न फिनिसिङ, सजावट र टर्मिनल भवनमा विभिन्न विभागका शाखा बनाउने जस्ता काम हुनेछन्। विमानस्थलको भौतिक निर्माणतर्फको अन्तर्राष्ट्रिय बोलपत्र १ (आईसीपी वान) चिनियाँ ठेकेदार कम्पनी नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपले ठेक्का लिएको हो।
आयोजनाको एयर ट्राफिक, सञ्चार र मौसम व्यवस्थापनको उपकरणसम्बन्धी अन्तर्राष्ट्रिय बोलपत्र २ (आईसीपी टु) थाइल्यान्डको एरो थाई कम्पनीले ठेक्का लिएको हो। आयोजनाका अनुसार आईसीपी वानतर्फको ५ प्रतिशत मात्रै उपकरण केरुङ नाका हुँदै चीनबाट आउने क्रममा बाटोमा छन्। सामुद्रिक बाटोबाट आउने उपकरण पनि कोलकाता बन्दरगाहमा आइपुगिसकेका छन्। एप्रोनमा प्रयोग हुने लाइटहरू, एक्सरे मेसिन ल्हासा हुँदै आउने क्रममा छन्। टर्मिनल भवनमा जडान हुने ब्यागेज ह्यान्डलिङ सिस्टम (कन्भियर बेल्ट) र धावन मार्गका लाइट सामुद्रिक बाटोबाट आउने छन्। आईसीपी टुतर्फको ९८ प्रतिशत उपकरण आयोजना स्थलमा आइसकेका छन्। आईसीपी वानतर्फको उपकरण जडानका लागि चीनबाट ३५ जना प्राविधिक ल्याउन कूटनीतिक पहल भइरहेको आयोजना प्रमुख अधिकारीले बताउनुभयो।