Loading... आजः शनिबार , श्रावण १२, २०८१

बंगलादेशलाई नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न आग्रह


सरकारले बंगलादेश सरकार र त्यहाँको निजी क्षेत्रलाई नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न आग्रह गरेको छ। ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले ऊर्जा क्षेत्रमा बंगलादेश सरकार तथा निजी क्षेत्रका लगानीकर्तालाई लगानी भित्र्याउन अपिल गर्नुभएको हो। नेपालका लागि बंगलादेशकी राजदूत मास्फी बिन्ते साम्ससँग बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा भएको बिदाई भेटमा मन्त्री पुनले नेपालको ऊर्जा क्षेत्रमा लगानीमैत्री वातावरण निर्माण गरिएकाले लगानी सुरक्षमा ढुक्क रहन आग्रह गर्नुभयो। राजदूत साम्स आफ्नो चार वर्षे कार्यकाल पूरा गरी केही दिनपछि बंगलादेश फर्कंदै हुनुहुन्छ।

भेटमा नेपाल र बंगलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी समझदारी भएको स्मरण गर्दै मन्त्री पुनले त्यसलाई दुई देशबीच ऊर्जा व्यापारका लागि कोशेढुंगाको संज्ञा दिनुभयो। नेपाल र बंगलादेशबीच २०७५ साल भदौ २८ मा ढाकामा भएको ‘पावर एण्ड इनर्जी’ सम्मेलनमा बंगलादेशले नेपालबाट आगामी सन् २०४० भित्र ९ हजार मेगावाट बिजुली खरिद गर्ने सम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको थियो। त्यसअघि मन्त्री पुन र बंगलादेशका ऊर्जामन्त्री नसरुल हमिदीबीच ऊर्जा सहकार्य (इनर्जी को–अपरेशन) सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो।

मन्त्री पुनले बंगलादेश र नेपालबीच जनस्तरमा समेत सम्बन्ध प्रगाढ बन्दै गएको चर्चा गर्नुभयो। जवाफमा राजदूत साम्सले नेपाल–बंगलादेश ऊर्जा क्षेत्रमा सहकार्यका लागि वातावरण निर्माणमा नेतृत्वदायी र निर्णायक भूमिका रहेको भन्दै मन्त्री पुनको प्रशंसा गरेको देशसंचार अनलाइनले लेखेको छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!