Loading... आजः शनिबार , श्रावण १२, २०८१

बन्दाबन्दीका कारण बन्द रहेको सिमेन्ट उद्योग पुनः संचालन


कोरोना विषाणुविरुद्ध लड्न घोषणा भएको बन्दाबन्दीसँगै बन्द भएको उदयपुर सिमेन्ट उद्योग शुक्रबारबाट सञ्चालन भएको छ। दैनिक १२ हजार बोरा उच्च गुणस्तरको सिमेन्ट उत्पादन गर्दै आएको उद्योग दुई महिना पाँच दिनको बन्दपछि सञ्चालन भएको हो।

एक दिन मात्र उद्योग सञ्चालन नहुँदा पनि ९६ लाख ४१ हजार १६० रुपियाँ घाटा हुने उद्योगले जनाएको छ। यसअनुसार बन्दाबन्दीमा भएको ६५ दिन लामो बन्दबाट ६२ करोड ६६ लाख ७५ हजार चार सय रुपियाँ घाटा भएको उद्योगका निमित्त महाप्रबन्धक नवलकिशोर साहले बताउनुभयो। तथापि स्थानीय बजारमा सिमेन्टको अभाव हुन नदिन बन्दाबन्दीको समयमा पनि उद्योगको भण्डारबाट आठ करोड ३४ लाख रुपियाँ बराबरको एक लाख बोरा सिमेन्ट बिक्री गरिएको उद्योगका बिक्री विभाग प्रमुख रामबहादुर जिसीले बताउनुभयो।

दुई सय वर्षभन्दा बढी समयसम्मका लागि उत्खनन गर्न पुग्ने खानीभण्डार सुरक्षित भएको उदयपुर सिमेन्ट उद्योगले आफ्नो उत्पादन क्षमताअनुसार दैनिक १२ हजार बोरा क्लिङ्कर उत्पादन र बिक्री गर्दै आएकामा बन्दाबन्दीका कारण मुलुकभरको विकास निर्माण ठप्प भएसँगै सिमेन्टको बिक्री पनि ठप्प भएको गोरखापत्र अनलाइनमा खबर छ।

पछिल्लो समय सरकारले ठूला आयोजनाहरूको विकास निर्माणलाई निरन्तरता दिने निर्णय गरेसँगै उद्योगमा मौज्दात करिब एक लाख बोरा सिमेन्ट पछिल्लो दुई साताभित्रै बिक्री भएको उद्योगका बिक्री विभाग प्रमुख जिसीले बताउनुभयो। प्याकिङ भएर ट्रकमा लोडिङ नगरिँदासम्म उद्योगको भकारीमा सुरक्षित रहने विशेषता भएकाले यसको गुणस्तरमा कुनै कमी नहुने र लोड भएर बिक्रीका लागि बाहिर गएपछि उपभोक्तासम्म पुग्दा पनि पानी र चिसोबाट जोगाउन सके लामो समयसम्म पनि सिमेन्टको गुणस्तरमा कुनै कमी नआउने महाप्रबन्धक साह बताउनुहुन्छ।

Insert your Ads code here

जापानी प्रविधिबाट उत्पादित उदयपुर सिमेन्ट उद्योगको गैँडाछाप सिमेन्ट उच्च गुणस्तरको भएकाले पानीको ओस नलागेसम्म वर्षाैंसम्म यसको गुणस्तरमा कुनै कमी वा ह्रास नहुने तथा उद्योगका दुईवटै ठूला भकारी त्यस्तो ओस वा पानीको चिस्यानबाट सुरक्षित रहेकाले सिमेन्ट ड्यामेज हुन्छ कि भन्ने कुनै चिन्ता नरहेको सूचना अधिकारी जिसीले बताउनुभयो ।

उद्योग सञ्चालन गर्न नभई नहुने कोइलाको आपूर्ति वीरगञ्जबाट सहज रूपमा भइरहेकाले सामाजिक दूरी कायम गरी मास्क, स्यानिटाइजर, पन्जालगायतका सुरक्षा सामग्रीको प्रयोग गरी उच्च स्वास्थ्य सतर्कता अपनाएर सिमेन्ट उद्योग सुचारु गरिएको महाप्रबन्धक साहले बताउनुभयो ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!