सावधानीका उपाय अपनाउँदै उद्योग व्यवसाय सञ्चालन गर्न सकिने गरी बन्दाबन्दी खुकुलो बनाएपछि उद्योग क्षेत्र आफ्नो चुनौती खेप्दै लय समाउने प्रयासमा जुटेको छ। असार १ देखि बन्दाबन्दीको स्वरूप परिवर्तन गरिएपछि कोरोना सङ्क्रमण जोखिमका कारण करिब दुई महिना बन्द रहेका उद्योग श्रमिक जुटाउने, जोखिम सुरक्षा अपनाउने लगायतका गतिवधि बढाउँदै लगेका छन्। कतिपय उद्योग भने अझै अनुकूल समयको प्रतीक्षामा छन्।
नेपाल उद्योग परिसङ्घका अध्यक्ष सतिसकुमार मोरका अनुसार खुकुलो बन्दाबन्दीले चुनौतीबीच उद्योग सञ्चालनमा धेरै सहजता मिलेको छ। बन्दाबन्दीको समयमा सुस्ताएका उद्योगी सकारात्मक सोच र आँट राखेर उद्योग व्यवसाय सञ्चालनको प्रयासमा जुटेका छन्, उहाँले भन्नुभयो, यद्यपि चुनौती अझै धेरै छन् । सरकार र निजी क्षेत्रबीच धेरै कुरामा अझै धेरै समझादारी हुनु जरुरी छ । खासगरी उद्योगमा देखिने वित्तीय समस्या, श्रमिकको पारिश्रमिक, भुक्तानी बजार व्यवस्थापन लगायतमा सरकारको सहयोगको अपेक्षा रहेको उहाँ बताउनुहुन्छ।
नेपाल चामल, दाल तथा तेल उद्योग सङ्घका अध्यक्ष सुबोध अग्रवालका अनुसार यो क्षेत्र अहिले आफ्नो क्षमताको ७५ प्रतिशत सञ्चालनमा आइसकेको छ । यद्यपि पूर्ण बन्दाबन्दीका समयमा पनि अत्यावश्यक उद्योग भएकाले यो क्षेत्र सामान्य सञ्चालनमा थियो । करिब तीन महिनाको लकडाउनमा हाम्रा उद्योग ४० प्रतिशत क्षमतामा सञ्चालित थिए। निर्माण क्षेत्रले लाभ लिन नसक्दा सामग्री उत्पादनले पनि गति पाउन सकेको देखिँदैन। नेपाल सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष ध्रुव थापाका अनुसार अहिले करिब ४० प्रतिशत मात्र यस्ता उद्योग सञ्चालन छन्।