Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

बसिबियाँलो-को 21औँ प्रकरणमा भेलाभए मुम्बई वरिपरिका बासिन्दाहरू, मुम्बईदेखि गान्तोकसम्म बाइकयात्रा गरिने


मुम्बई 13 जनवरी। भारतको आर्थिक राजधानी मुम्बईमा प्रत्येक महिना आयोजना भएर आइरहेको लोकप्रिय कार्यक्रम बसिबियाँलो -को 21 -औँ प्रकरण मुम्बईदेखि डेढ़ घन्टा टाढ़ा रहेको विरारस्थित अरनालामा गत 12 जनवरीका दिन अनौठो ढाँचामा सम्पन्न भयो। यहाँ दीर्घ दिनदेखि रहेर आइरहेका अनि नवागन्तुक जातीय समुहका तथा अन्य भाषाभाषीहरूमाझ प्रत्येक महिना सामाजिक उत्तरदायित्वका विचारहरूको आदान- प्रदान हुने यस दिनको कार्यक्रमलाई माघे सङ्क्रान्तिको पूर्वसन्ध्याको रुपमा आयोजना गरिएको थियो जसमा मुम्बई महानगरी वरिपरिका लगभग धेरै नेपाली तथा अन्य भाषाभाषीहरूको उपस्थिति रहेको थियो। सो दिनको प्रकरणमा मूलतः नेपालबाट आएका हाम्रो छहारी अभियानकी मूल संयोजक सुषमा सुब्बा गिरी, बिजनबारीकी संयोजक डिकुमाया चामलिङ अनि सिक्किमबाट आएका अतिथिहरू उषा शर्मा आदिको विशेष उपस्थिति रहेको थियो।

बसिबियाँलो -को यस प्रकरणमा उपस्थित सबैको परिचय प्रदान गर्दै हीरा छेत्रीले आचार संहिता पाठ गराए। यस उपलक्ष्यमा विभिन्न सांस्कृतिक अनि मनोरञ्जनात्मक कार्यक्रमहरूको आयोजना गरिएको थियो जसमा युवा गायक तथा नेभी अधिकारी टिकाराम भारद्वाजले रसिला गीतहरू प्रस्तुत गरेका थिए। यसै कार्यक्रममा हाम्रो छहारी -को माऊ संस्था नेपाली-गोर्खा सेवा समितिका संस्थापक सदस्यवर्ग तथा भारतीय नौसेनाका अधिकारीहरू केशव सापकोटा (सिक्किम), बिपेन दाहाल (सिक्किम), ठाकुर प्रसाद अधिकारी (सिक्किम) अनि दिनेश पौड्याल (मणिपुर) -ले भारत सरकारअधीन आफ्नो निर्धारित सेवाकाल सफलतापूर्वक पूर्ण गरेर अवकाश ग्रहण गरेको उपलक्ष्यमा बधाई टक्र्याउँदै उनीहरूलाई विदाईको प्रतीकस्वरुप हाम्रो छहारी- को पक्षबाट यसका कार्यकर्ताहरूले स्मृति चिनो प्रदान गरे। युवा नेभी अधिकारी लेखनाथ रेग्मीले सम्पूर्ण टोलीको वक्षमा विदायी सेवानिवृत्त व्यक्तित्वहरूको उज्ज्वल भविष्यको कामना प्रकट गर्दै उनीहरूकै प्रेरणाले देखाएको मार्गको अनुसरण गर्न आफुजस्ता नौजवानहरू तयार रहेको जानकारी दिए। यसरी नै नेपाल अनि बिजनबारीबाट आएका अतिथिहरूलाई पनि हाम्रो छहारी-को स्मृति चिनो प्रदान गरेर शुभकामना प्रकट गरियो।
यस औसरमा भावविह्वल बन्दै नौसेना अधिकारी तथा हाम्रो छहारी -का संस्थापक सदस्य बिपेन दाहालले आफु मुम्बईमा रहेको अन्तिम चरणमा बसिबियाँलो -जस्तो एक लोकप्रिय मञ्चसित गाँसिन पाएको अनि यसकै माध्यमद्वारा सुरू गरिएको समाजमुखी अभियान हाम्रो छहारी-सित जोड़िन पाएकोमा हर्ष अनि सन्तुष्टि प्रकर गर्दै आफ्नो जन्मभूमि सिक्किम पुगेर यसका लागि अझ कार्यशील भई काम गर्ने प्रतिश्रुति दिए। यसरी नै आफ्नो विदायी वक्तव्य प्रस्तुत गर्दै युवा लेखक तथा हाम्रो छहारी -का संस्थापक सदस्य नौसेना अधिकारी केशव सापकोटाले समाजको लागि काम गर्नु ठुबै चुनौतीपूर्ण रहेको जनाए अनि यद्यपि हर चुनौतीहरूको सामना गर्दै हाम्रो छहारी-जस्तो साँचो अर्थमा समाजकल्याणकारी अभियान अनि बसिबियाँलो -जस्तो उन्मुक्त विचारको मञ्चमा सामिल हुन पाउँदा आफुले मुम्बईको सेवाकालमा सन्तुष्टि प्राप्त गरेको अनुभव बताए। उनले हाम्रो छहारी अभियानबारे जनमानसलाई सचेत गराउने उद्देश्यले आगामी फरवरी महिनाको पहिलो साता मुम्बईदेखि गान्तोकसम्मको एक अविस्मरणीय बाइक यात्रा आयोजना गर्ने पनि बताए। यसरी आफ्नो सेवाकालको अन्तिम क्षण पनि समाजकै लागि अर्पित गर्नका लागि यहाँबाट पाँचवटा दुइचक्के वाहनले लगभग 8-10 दिनको लामो यात्रा तय गरेर ठाउँठाउँमा रहेका नेपाली-गोर्खा अनि अन्य भाषी परिचित-अपरिचित व्यक्तिहरूलाई हाम्रो छहारी अभियानबारे जागरुक गराउने उद्देश्य रहेको उनले जनाए।

नेभी अधिकारीहरूको यस अनौठो पहललाई सबैले हार्दिकतापूर्वक शुभकामना प्रकट गर्दै विभिन्न स्थानमा रहेका जातिप्रेमी सचेत मानिसहरूलाई बाइक यात्रीहरूलाई स्वागत गरिदिने, परेको खण्डमा बास प्रदान गरिदिने अनि हाम्रो छहारी अभियानबारे बुझिदिने आग्रह गर्दै यस यात्राका पूर्ण विवरण केही दिनपछि सबैका जानकारीका लागि सार्वजनिक गरिइने हाम्रो छहारी-की संयोजक स्वस्तिका छेत्रीले बताइन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!