Loading... आजः शनिबार , श्रावण १२, २०८१

बाआमालाई हेर्ने पालो


मानव मन धेरै संवेदनशील हुन्छ । एकपटक मन टुटेपछि त्यसलाई जोड्न धेरै गाह्रो हुन्छ । जुन व्यक्तिलाई हामी विश्वास गर्छौं, त्यो व्यक्तिले हाम्रो मन दुखायो भने त्यो व्यक्तिमाथि विश्वास गर्न कठिन हुन्छ । आफ्ना सन्तानलाई हरेक बाबुआमाले मुटुको टुक्रा समान मान्छन्, तर सन्तानले आफूलाई बेवास्ता, अवहेलना गरे भने बाबुआमाले निकै मन दुखाउँछन् । यस्तो अवस्था आउनु भनेको सन्तान बाबुआमाको नजरबाट गिर्नु हो ।

बाआमा भगवान्भन्दा पनि ठूला हुन् । जन्माएर, हुर्काउने बाबुआमाको गुण हामीले कहिल्यै तिर्न सक्दैनौँ । यो कुरा हामी धेरै कथा–कवितामा पढिसक्यौँ । सिनेमामा हेरिसक्यौँ । बोल्न जति सजिलो छ, व्यवहारमा उतार्न त्यति नै कठिन छ । बच्चा जन्मिँदा बाआमा भोक, निद्रा नभनी बच्चाको बारेमा सपना देख्छन् । सुन्दर भविष्यको कल्पना गर्छन् । आफू नखाई, नयाँ लुगा नलगाईकन छोराछोरीको सबै सपना पूरा गर्छन् । छोराछोरीले बाआमाको भागको खाना पनि खोसेर खाइदिन्छन् । छोराछोरीले खोसेर खाना खाइदिँदा बाआमाले कहिले विरोध गर्दैनन्, उल्टै खुसी हुन्छन् । छोराछोरीको पेट भरिँदा बाआमाको मुहारमा खुसीको बहार छाउँछ । सधैँ छोराछोरीको उज्ज्वल भविष्यको कामना गरिरहन्छन् बाआमा । छोराछोरी जतिसुकै सफल र ठूलो भए पनि बाआमाले छोराछोरीलाई सधैँ बच्चा देख्छन् ।

Insert your Ads code here

तर जब छोराछोरी ठूला हुन्छन्, सफल हुन्छन्, उनीहरूले बाआमालाई बिर्सन्छन् । बाआमाको गुण मनभित्र ताजा भए पनि ‘बाआमा डुब्दै गरेका घाम त हुन् नि’ भनेर उनीहरूलाई बेवास्ता गर्दै आफ्नो भविष्यबारे सपना देख्छन् । धेरै अगाडि बढ्न चाहन्छन् । सफल मान्छे बन्न चाहन्छन् । धेरै पैसा कमाउन चाहन्छन् । आफ्नो छुट्टै परिवार र छोराछोरीको कल्पना गरेर त्यही संसारमा भासिन तयार हुन्छन् । बाआमाको आशा हुन्छ, हिजो छोराछोरीलाई हामीले जति हेरचाह ग¥यौँ, अब उनीहरूले त्यति नै हेरचाह गर्नेछन् । तर, छोराछोरी आफ्नो छुट्टै संसार बनाइसकेका हुन्छन्, त्यो संसारमा परसम्म उनीहरूका बाआमा कतै देखिँदैनन् । मात्र उनीहरूका श्रीमती र बच्चा हुन्छन् । बाआमालाई परिवारको सदस्य मात्र ठान्छन्, आफ्नो जीवनको अंग ठान्दैनन् । कतिपयका बाआमाले वृद्धभत्ता खाइरहेका छन् भने कतिपयले पाउने भत्ता पनि छोराबुहारीले चलाइदिन्छन्, वृद्ध बाआमाको कुनै आवश्यकता नै नभएजस्तो ।

कतिपयले बाआमालाई लुगाहरू किनिदिँदा सस्तो खालको किनिदिन्छन् । बाआमालाई समय दिन नसकेर वृद्धाश्रममा समेत राख्ने गरेका छन् । तपाईं जन्मेका बेला तपाईंलाई एकछिनका लागि पनि आफूभन्दा अलग नगर्ने बाआमालाई तपाईं कसरी अनाथालयमा राख्न सोच्नुभयो ? तपाईंको विवेकले कसरी दियो ?
भनिन्छ, वृद्ध हुनु भनेको बालक जस्तै हुनु पनि हो, उनीहरूलाई हेरचाहको खाँचो हुन्छ । हामी बच्चा हुँदा हामीलाई बाआमाको आवश्यकता प¥यो भने अहिले तपाईंको आवश्यकता बाआमालाई पर्दैन ?

बाआमाले जीवनमा धेरै संघर्षपूर्ण जीवन बिताएर सन्तानलाई हुर्काएका हुन्छन् । हिजो बाआमाले तपाईंलाई समय दिनुभयो, तर जब तपाईंको पालो आयो, तपाईंले नसोच्ने ? तर्कने ? गैरजिम्मेवार बन्ने ?

कतिपयले बाआमालाई ‘बूढाबूढी’ भनेर सम्बोधन गर्छन् । बाआमाको मनोविज्ञान बुझ्ने हो भने उनीहरूलाई ‘बूढाबूढी’ भनेको कति पनि मन पर्दैन । बाआमा मेला हेर्न जान, कतै घुम्न जान र नयाँ लुगा लगाउने इच्छा राख्दा छोराछोरीले सीधै भन्ने गर्छन्– अब बुढेसकालमा के सोख चढेको होला ? त्यतिबेला बाआमाको अनुहारतिर हेर्नुहोस् । वृद्ध बाआमाका चाउरी परेको अनुहार विस्मातले भरिएका हुन्छन् । अनुहार उदास हुन्छ । अपमानित अनुभव गरिरहेका हुन्छन् । हामीले त्यही शब्द मिठो गरी बोल्दा हाम्रो इज्जत घट्ने होइन । बाआमालाई कतै घुमाउन लग्दा हामीलाई बेफाइदा हुने होइन । तैपनि किन बाआमालाई कतै भोज, भतेर, पाटी, मेला लैजान लजाउँछौँ हामी ? आज बाआमा अशक्त भएर ओछ्यानमा पर्दा, दिसापिसाब सम्हाल्न नसक्दा हामी घिनाउँछौँ । हामी सानो हुँदा बाआमाले काखमा बोकेर धेरै ठाउँ लगेका, घुमाएका थिए । हिजो हाम्रो दिसापिसाब धोइदिएका थिए । आज तिनै बाआमादेखि हामीलाई लाज लाग्नुपर्ने, घीन लाग्नुपर्ने त मानवीय कुरा होइन ।

बाआमाले हामीबाट माया र सोधपुछ चाहेका हुन् । हामीले उहाँहरूको अवस्था सोध्नुपर्छ, बोल्नुपर्छ– के कस्तो छ ? के खानुहुन्छ ? यस्तै । हामीले पनि भएको र सकेको गर्ने हो, बाआमाले पनि हामीले सक्दै नसक्ने कुरा माग्दैनन् ।

उहाँहरूलाई बिहान–बेलुकी हाम्रो केही समय चाहिने हो, सोधपुछ चाहिने हो । जन्म दिने बाबुआमाको त्यति सानो इच्छा पुर्याउन पनि हामी किन कन्जुस्याइँ गर्छौं ?

2077-6-18

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!