गान्तोक, 31 अगस्त। पूर्व सिक्किमको दिक्चु काजीटारका तीनजना दाजु बिहिनीलाई दुइ दिन अघि बाक्चा खोलाले बगाएको थियो। ती मध्ये कान्छी बहिनी 22 वर्षीय इरिका राईको लाश हिज स्थानीय युवा तैराक अनि अन्यको अथक प्रयासपछि भेटाइएको थियो भने आज 29 वर्षीय दाजु पूर्ण राईको लाश पनि खोलाको दहबाट निकालिएको छ। दिउँसो लगभग साँढे तीन बजी धेरै खोजी पछि फेला पारिएको हो। स्थानीय युवाहरूले गत दुई दिनदेखि लागातार रूपमा खोजी अभियानमा ढटेर कार्य गरिरहेका छन्। घटना गत 29 अगस्तको अपराह्न भएको थियो त्यसै दिनदेखि लगातार रूपमा खोजि कार्य चलिरहेको छ। यसैक्रममा हिज देखी स्थानीय खोजीकर्ताहरूलाई सहयोग गर्नको निम्ति राज्य सरकारको तर्फबाट एनडीआरएफ र एसडीआरएफको टोली पनि घटनास्थलमा उपस्थित रहेर सहयोग गरिरहेका छन्।
काजीटार निवासी रेक बहादुर राईको चार सन्तान मध्ये तीन जनालाई बाक्चा खोलाले बगाएको थियो। स्थानीयहरूको भनाई अनुसार खोलामा रहेको सुन्दर झरनाले मोहित भएर सबैजना फोटो खिच्न जाने र घुम्न जाने गर्दछन्। यसैक्रममा राईका जेठो छोरो र दुइ बहिनी छोरी त्यहाँ पुगेका थिए। जसमा पूर्ण राई (29), चन्द्रा राई (28) र एरिका राई (22) सबै खोलाले बगाएको थियो। अहिलेसम्म 28 वर्षीय चन्द्रा राईको भने कुनै अत्तोपत्तो छैन्। आज रात परेपछि खोजि अभियान स्थगित गरिएको छ भने भोलि पुनः अभियानलाई निरन्तरता दिइऩे बताइएको छ।
घटनाको कारण रेकबहादुर राईको घरमा भवितव्यको सगरमाथा खसेको छ भने गाउँ पनि दुःखमा डुबेको छ। गाउँका स्थानीय मानिसहरूले सक्दो खोजि अभियानमा जुटेर उनीहरूलाई निकाल्ने प्रयास दिलोज्यानले गरिरहेको स्थानीय युवा केशव छेत्रीले बताए। घटनास्थलमा दिक्चु आउटपोष्टका पुलिस, बिडियो तिन्तेक, पञ्चायत र स्थानीयहरूले खोजी कार्यमा सहभागिता जनाइरहेका छ्न्।