Loading... आजः शनिबार , श्रावण १२, २०८१

बागलुङमा पाँच हजार रोपनीको तरकारी नष्ट


असिनापानीले बाग्लुङ जिल्लाका प्रायः क्षेत्रमा क्षति पुर्‍याएको छ। पर्वत र बागलुङका मुख्य तरकारी पकेट क्षेत्रको तरकारी र फलफूलमा आइतबारको असिनापानीले ठूलो क्षति पुर्‍याएको कृषि ज्ञान केन्द्रले जनाएको कान्तिपुर अनलाइनले लेखेको छ।
असिनाले बेमौसमी तरकारी, फलफूल र थन्काउने बेलाको गहुँ, जौलगायत बालीमा क्षति पुर्‍याएको किसानले बताएका छन्। कतिपय गाउँमा गोड्ने समयका मकैसमेत असिनाले थिचेको छ। यसअघि समेत दुई पटक परेको असिनाले कुस्मा र गलकोट नगरपालिका, जलजला र मोदी गाउँपालिकामा क्षति पुर्‍याएको थियो। तिनै गाउँमा समेत आइतबारको असिनाले केही बाँकी रहेको तरकारी बालीमा शतप्रतिशत क्षति पुर्‍याएको किसानको गुनासो छ। ‘अस्तिअस्तिको असिनाले अलिअलि जोगिएको पनि अहिले सोत्तर परेको छ,’ जलजला–८ का रामु सुवेदीले भन्नुभयो, ‘दुःख जति माटोमा गयो।’

असिनाले सबैभन्दा धेरै महाशीला र पैयुँ गाउँपालिकामा क्षति पुर्‍याएको छ। करिब एक किलोसम्मका असिना परेको पैयुँ–७ की उमादेवी बस्यालले बताउनुभयो। ‘मसला पिस्ने लोरा जत्रै असिना परेका छन्,’ उहाँले भन्नुभयो, ‘खेतीबालीको कुरै नगरौं। रुखका बोक्रासमेत खोल्सिएका छन्।’ फलेवास, जलजला, बिहादी, पैंयु र छिमेकी जिल्ला बागलुङको जैमिनीमा समेत असिनाले करोडौं रुपैयाँको अन्न, तरकारी र फलफूलमा क्षति पर्‍याएको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख वासुदेव रेग्मीले बताउनुभयो।

‘क्षतिको विवरण संकलन हुँदै छ,’ रेग्मीले भन्नुभयो, ‘अन्नबालीभन्दा तरकारी र फलफूलमा धेरै क्षति भएको छ।’ सुन्तला, आँप, लिचीलगायत फलफूल फुल्ने समय भएकाले असिनाले फूल झारेपछि बोट रित्तै भएको उहाँको भनाइ छ। ज्ञान केन्द्रले संकलन गरेको विवरणअनुसार हालसम्म करिब पाँच हजार रोपनी क्षेत्रफलको तरकारी, फलफूल तथा अन्नबाली नष्ट भएको छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!