बाग्मती प्रदेशभरि विद्युतीय बस चलाउने योजना अगाडि सारिएको छ। काठमाडौँ, धुलिखेल, हेटौँडासहित बाग्मती प्रदेशभरि नै विद्युतीय सवारीसाधन सञ्चालन गर्न प्रदेश सरकार, काठमाडौँ, ललितपुर र भरतपुर महानगरपालिका तथा टोखा नगरपालिकाका नगर प्रमुखबीच सोमबार हेटौँडा सहमतिसँगै यो योजना अगाडि बढ्ने भएको हो।
त्यसैगरी, बाग्मती प्रदेश सरकारले अगाडि बढाउने विकास योजनामा प्रदेशका सबै स्थानीय तहलाई सहभागी गराइने र स्थानीय तहले पनि सक्दो लगानी गर्ने सहमति प्रदेश सरकार र स्थानीय तहबीच भएको हो। गोरखापत्र अनलाइनका अनुसार बाग्मती प्रदेशको राजधानी हेटौँडामा प्रदेश सरकार र स्थानीय सरकारबीच भएको बैठकले सो सहमति गरेको थियो।
यसैबीच प्रदेशको तीव्र विकासका लागि बाग्मती प्रदेश सरकारले आफ्नै निर्माण कम्पनी स्थापना गर्न लागेको जानकारी मुख्यमन्त्री डोरमणि पौडेलले दिनुभयो। उहाँले भन्नुभयो, ”प्रदेशको भौतिक निर्माणलाई तीव्रता प्रदान गर्न तथा कम समय र लगानीमा गुणस्तरीय विकास गर्न प्रदेश सरकारले ‘प्रदेश पूर्वाधार निर्माण कम्पनी’ स्थापना गर्न लागेको हो।”
Insert your Ads code here
ललितपुर महानगरपालिका प्रमुख महर्जनले दिगो विकास लक्ष्य, २०३० अनुसार विद्युतीय सवारी साधन सञ्चालनमा ल्याउन बाग्मती सरकारको तर्फबाट एउटा कम्पनीको व्यवस्थापन गर्ने र त्यो कम्पनीमा मुख्यतः प्रदेशका सबै महानगरपालिका र नगरपालिका समावेश भएर लगानी गर्ने निर्णय भएको जानकारी दिनुभयो।