Loading... आजः शनिबार , श्रावण १२, २०८१

बाघ र बञ्जाराः सन्दर्भ बिश्व बाघ दिवस २०२२


 

रमेश थापा

भोली जुलाई २९ सन् २०२२, अन्तराष्ट्रिय बाघ दिवस एवं नेपालले अन्तराष्ट्रिय मञ्चमा गरेको प्रतिवद्धता अनुसार बाघको संख्या दोब्बर पुर्याएको घोषणा गर्ने दिन । यस अवसरमा बाघ संरक्षणमा योगदान गर्ने सबैमा अग्रिम शुभकामना व्यक्त गर्न चाहन्छु । नेपाल सरकारले सन् २०२२ सम्म बाघको संख्या दोब्बर पुर्याउने अन्तराष्ट्रिय मञ्चमा प्रतिवद्धता गरिसकेपछि के कस्ता उपायहरु अवलम्वन गरेर यो संकल्प पुरा गर्न सकिन्छ भन्नेतर्फ राज्यको ध्यान केन्द्रित हुनु स्वभाविक नै थियो । नेपालको तराई क्षेत्रमा रहेका बाघ पाइने संरक्षित क्षेत्रहरुमा पर्याप्त सुरक्षा व्यवस्था र वासस्थान व्यवस्थापन गरिएता पनि बाघको संख्या सन्तोषजनक थिएन । यो नेपालको मात्रै नभएर छिमेकि मुलुक भारतको पनि चिन्ताको बिषय थियो । यस बिषयमा दुबै देशका सरकारी पदाधिकारी मात्र नभएर नेपालको डब्लु डब्लु यफ, भारतको ट्राफिक इण्डिया जस्ता गैर सरकारी सस्थाका पदाधिकारीहरु पनि यो चिन्ताबाट मुक्त थिएनन । वन्यजन्तु अपराध नियन्त्रण गर्ने मुख्य उद्देश्यका साथ नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी) मातहत पिलर नंबर ४ गठन भएपछि नेपालमा वन्यजन्तु अपराध नियन्त्रणको क्षेत्रमा कायापलट नै भएको मान्नु पर्दछ । नेपालमा बाघको संख्या नबढ्नाको कारण चोरीशिकार मुख्य कारण हुनसक्नेतर्फ सबैको आशंका भएता पनि एकातिर यो तथ्य प्रमाणित हुन सकेको थिएन भने अर्को तर्फ बाघको चोरीशिकारमा को संलग्न छन ? कसरी चोरीशिकार हुन्छ भन्ने कुराको भेद पत्ता लाग्न नसक्नु ठूलो टाउको दुखाइको बिषय बनेको थियो ।

Insert your Ads code here

 

नेपालमा बाघ संरक्षण र वन्यजन्तु चोरीशिकार नियन्त्रणको कुरा गर्दा नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्युरोको भूमिका महत्वपूर्ण रहेको छ । यो अभियानमा आफु स्वयं सहभागि भएको अनुभवबाट सिआइबि हेर्ने जिम्मेवारीमा रहेका तत्कालिन डिआईजी केश बहादुर शाही, हेमन्त मल्ल ठकुरी र नवराज शिलवाल, डिएसपि प्रबिण पोखरेल, सबिन प्रधान,अनुपम शमशेर जबरा, इन्सपेक्टर राज कुमार थिङ, सवइन्स्पेक्टर बीरेन्द्र जोहारी, सहायक निरिक्षक लक्ष्मिनन्द जोशी, सुरेन्द्र स्वाँर लगायतका व्यक्तित्वहरुको भूमिका र योगदानको म उच्च सम्मान र कदर गर्न चाहन्छु । अहोरात्र फिल्डमा खटिएर नतिजामूलक उपलब्धि हाशिल गर्ने सवालमा प्रबीण पोखरेल र बीरेन्द्र जोहारीसंग धेरै साथ संगत र सहकार्य यो । यसरी नाम लिइरहँदा डब्लु डब्लु एफका माधव खड्का, राष्ट्रिय निकुञ्ज बिभागका बिष्णु थपलिया र रुपक महर्जनको नाम सधैं जोडिएर आउने गर्दछ ।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो, शसस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभाग र वन बिभागका अधिकृतहरु रहेको कार्यदलले समेत नेपालमा बाघको चोरीशिकार गर्ने मुख्य अपराधिहरु बञ्जरा (वावरिया ) नै भएको निष्कर्ष निकालेको थियो । यस बिषयमा बिभिन्न चरणमा भारतिय पदाधिकारीहरुसंग भएका कतिपय छलफलहरुमा म पनि सहभागि हुने अवसर पाएको थिएँ । यि छलफलहरुबाट पनि बाघको दुश्मन वावरिया  बञ्जरीया नै हुन भन्ने निष्कर्ष निकालेर सोहि बमोजिम सुरक्षा रणनीति अगाडि बढाइएको थियो ।

को हुन वावरिया  बञ्जरा ?

वावरिया  (बञ्जारा हरु) घुमन्ते समुदायका मानिसहरु हुन । यिनिहरु जहान परिवार सहित डुलिरहने बाटो, कुलो, खालि जमिनमा अस्थायी प्रकृतिको पाल टाँगेर केहि दिन बस्ने फेरी त्यहाँबाट अर्को ठाउँ पुग्ने गर्दछन । यिनीहरुको बसोबास भारतको हरियाणा, पञ्जाव र आन्ध्र राज्यमा छ । हरियाणाको समालन्का, पानीपथ, कल्का यिनीहरुको ठूलो बस्ती भएको क्षेत्र हो । पुरुषले धोति र छोटो सुरुवाल, फेटा वा टोपी लगाउने महिलाले स्कर्ट वा म्याक्सी (घाङरा), चम्किलो कपडामा इम्ब्रोडरी गरी बोर्डरमा सिसाको प्रयोग गरेको कपडा लगाउने सबैको हातमा टाटु खोपेको हुन्छ । बिवाहितले श्रीमान वा श्रीमतिको नाम र देबीको आकृति खोपेको हुन्छ । भारत र नेपालका बाघ पाइने क्षेत्र आसपासमा यिनीहरुको नियमित आवागमन र गतिबिधि रहने गर्दछ । यिनीहरु घुमन्ते भएकोले नेपालमा निश्चित बशोबास छैन ।

वावरिया  (बञ्जारा ) ले बाघ कसरी मार्दछन ?

यिनिहरु बाघ पाईने आसपासको क्षेत्रमा अस्थायी छाप्रो खडा गरी बस्दछन । महिलाहरु प्रायः घरमा बस्ने पुरुषहरु जंगल चहार्न हिंडछन । कतिपय अवस्थामा यिनिहरु बाघको खोजिमा पागल जस्तो रुप धारण गरेर जंगल घुम्ने गर्दछन । कुनै साथी बाघलाई पाशो थाप्न वा बाघको निगरानी गर्न जंगलमा पसेको छ भने पागल जस्तो रुप धारण गरी बाटोमा ओहोर दोहोर गरेर त्यहाँको गतिबिधि निगरानि गरिरहेका हुन्छन ।

यिनिहरुको साथमा तिखो फलामको भाला र सानो चक्कु हमेसा साथमा रहन्छ । बाघ पाइने क्षेत्र, पानी घाट, हिंड्ने बाटो यकिन भएपछि बाघ मार्ने योजना बनाउछन । सामान्यतया बन्जराहरु छट्के पाशोमा पारेर नै बाघ मार्दछन । उनिहरुले त्यो पाशोलाई फन्दा भन्ने गर्दछन । कहिले काही मरेको सिनोमा बिष मिलाएर पनि बाघ मार्ने गर्दछन । गोली प्रहार गरेर मारेको पाईएको छैन । बाघलाई पासो थाप्दा वा बाघ मारेपछि देबीको पूजा गर्दछन । देबीको मुर्ति प्रायः साथमा राखेका हुन्छन । देबीलाई रगत चढाउने र बत्ती बालेर खुसी पार्ने उनीहरुको चलन छ । बाघ फन्दामा परेपछि लठ्ठीले पिटेरै बाघलाई मार्ने गर्दछन । मानिसहरु चिडियाखानामा थुनेको बाघ देखेर डराउछन तर यिनिहरु पाशोमा परेको बाघलाई लठ्ठीले पिटेरै मार्न खप्पिस हुन्छन । यिनिहरुको कलाले गर्दा यिनिहरुलाई देखेपछि बाघ गरुडको छायाँमा परेको सर्प जस्तो नतमस्तक हुन्छ रे । धारिलो हतियारले प्रहार गर्दा बाघको छालामा प्वाल पर्ने र प्वाल परेको छालाको मुल्य कम हुने भएकोले लठ्ठिले पिटेरै बाघ मार्ने गरेको उनिहरुबाट खुलेको छ ।

यिनिहरुले जंगलमा बाघ मार्ने पाशो, खाने अन्न, छाला मासु अलग गर्ने चक्कु र छालाबाट मासु कुहाएर हटाउनका लागि धुलो नुन जंगलमै लुकाएका हुन्छन । बाघ मारिसकेपछि क्षणभरमै छाला, मासु र हड्डी अलग गर्दछन । बाघको मासु खाने, हड्डीलाई धाप, पोखरी वा गहिरो पानीमा गाढने र छालालाई तन्काएर  भित्रपट्टी धुलो नुनले छोपेर छोडिदिन्छन । आँफु त्यो क्षेत्रमा बसेर टाढैबाट निगरानि गर्ने र निश्चित समयम पछी छाला हड्डी सफा गरेर लैजाने गर्दछन ।

बञ्जाराहरु बाघको हाड, छाला कसरी ओसार पसार गर्दछन ?

यिनीहरु समूहमा बस्दछन । बसेको ठाउँ छोडेर अर्को ठाउँमा जाँदा बच्चा बुढाबुढी सबैलाई एक दुइवटा हड्डीको टुक्रा जिम्मा दिइन्छ । बाघको छाला चाहि महिलाले कम्मरमा बाँधेर ओसार पसार गर्दछन । प्रायः साथमा सानो बच्चा भएको महिलाइ छाला ओसार पसार गर्ने जिम्मेवारी दिईन्छ । बच्चा साथमा हुने महिला फोहरी भएर हिंड्ने, चेक पोष्टहरुमा बच्चालाई चिमोटेर रुवाउने र त्यही निहुँमा चेकजाँच नगराई उम्किने गर्दछन । राती बास बस्दा खाल्डो खनेर भाँडोमा राखी बाघको हाड, छाला गाढ्ने र त्यहिं माथी खाना पकाउने चुल्हो बनाउने गर्दछन । जसले गर्दा सामान हराउने र पक्राउ पर्ने खतरा कम रहन्छ । गन्तब्यमा पुगिसकेपछि सबैजनाले ल्याएको हड्डी र छाला एकै ठाउमा जम्मा गरेर बिक्रीको प्रकृयामा लैजान्छन ।

बाघ मार्ने अपराधको मुख्य संचालक

बाघ मार्ने अपराधिक सञ्जाल सञ्चालन गर्ने मुख्य ब्यक्ति भारतिय नागरिक संसार चन्दलाई मानिएको छ । उसले बाघ मार्ने, बाघका अङ्गहरुको ब्यापार गर्ने अन्तराष्ट्रिय संजाल स्थापना गरेको थियो । वावरिया हरुलाई बाघ मार्न र बाघका अङ्गहरुको ओसार पसार गर्ने काममा उसले नै परिचालन गरेको थियो । संसार चन्दका मुख्य मुख्य हस्तिहरुमा रामजस बन्जारा (जसु) ,काला ,तोला,रणबिर ,अम्बा ,हजारा,अमिन,पिर्दास,बल्कु, गोपि, दलिपो, विरबल (तोता), कल्या वाबरिया,बल्या वावरिया ,फुल्या वाबरिया ,ओम प्रकाश वाबरिया,सुरतिया वावरिया,सुमन,राम दयाल वावरिया,श्रवण वावरिया ,चत्रु ,महाभिर,तोताराम आदि  हुन । हाल संसार चन्दको मृत्यु पछि निजको उत्तराधिकारी भई भाई नारायण चन्द, श्रीमती रानी चन्द र छोरी सिमा चन्दले त्यो अपराधिक सञ्जाल सञ्चालन गर्ने कोशिस गरे । तर उनीहरुले प्रभावकारी रुपमा सञ्जाल सञ्चालन गर्न सकेनन । जसको फलस्वरुप वावरिया  समूह आँफु नै बाघको शिकार र ब्यापारमा सक्रिय हुन थाले ।

यहि शिलसिलामा नेपालमा सक्रिय रहेका वावरियाहरुको निगरानि गर्ने र उनिहरुको संजाल भत्काउने तथा अपराधमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कानूनको कठघरामा उभ्याउने काममा सफलता पनि प्राप्त भयो । यसै क्रममा संसार चन्दको समूहका नेपालमा सक्रिय हस्तिहरु मध्येका राम दयाल वावरिया  र श्रबण बावरिया सन् २०१५ डिसेम्बरमा सुनसरीबाट, रामजस बावरिया (जसु) वावरिया सन् २०१५ अप्रिलमा बर्दियामा र सन् २०१६ को फेब्रुअरीमा ६ जना वावरियाहरु कैलालीबाट पक्राउ परेका थिए । सोहि समूहका काला, सुमन, हजारा र अमिर भन्ने व्यक्तिहरु तत्काल फरार रहेका थिए । त्यतिबेला पक्राउ परेका सबै बावरियाहरु अदालतको आदेशबाट थुनामा पुगे भने अन्य बावरियाहरुको भागाभाग भयो । वावरिया (बञ्जारा)  हरुको संजाल पत्ता लगाएर तहसनहस पारिएपछि नेपालमा बाघको चोरीशिकार लगभग सून्यको अवस्थामा झर्यो र बाघको संख्या क्रमश बढ्दै गयो । यसबाट प्राकृतिक वासस्थानबाट बाघको सफाया गर्ने मुख्य गिरोह वावरिया(बञ्जारा) नै हुन भन्ने कुरा पूर्ण रुपमा प्रमाणित भएको देखिन्छ ।

तर बिगतमा पक्राउ परी अदालतको आदेशबाट थुनामा रहेका अपराधिहरु सम्भवत हालसम्म सबै छुटिसके होलान । कारागारबाट छुटेपछि उनिहरु कहाँ छन ? के कस्तो गतिबिधि गरिरहेका छन ? परम्परागत पहिरन र प्रणाली बदलेर पुनः बाघ मार्ने पेशामा लागेका छन कि ? भन्ने तर्फ ध्यान दिन जरुरी छ । केन्द्रिय स्तरमा बिश्वासनिय वातावरण निर्माण गरी सिआइबिलाई शसक्त ढङ्गबाट परिचालन गर्ने, नेपाल सरकार मातहतका सम्बन्धित निकाय र सहयोगि सस्थाहरु बीच समुधुर अन्तर सम्बन्धको बिकास गरी संयुक्त प्रयासबाट मानव-बाघ द्वन्द न्युनिकरणका उपायहरु अवलम्वन गर्न सकियो भने बाघ संरक्षणमा नेपाल सधैं अब्बल साबित हुने बिश्वास सफलता मिल्ने बिश्वास गर्न सकिन्छ ।

२८ जुलाई २०२२,

ठाकुरद्वारा, बर्दिया

 

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!