बाढी पहिरोका कारण नेपालका राजमार्ग, पुल, लगायतमा ठूलो क्षति
सोमबार दिनभर परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोले देशभरका विभिन्न राजमार्ग, सहायक राजमार्ग, पुल, रणनीतिक सडक र ग्रामीण सडकहरुमा ठूलो क्षति पुर्याएको छ। सडक विभागका अनुसार विभिन्न खोला र नदीमा बनेका विभिन्न पुलहरुमा क्षति पुगेको छ। सडकहरुमा जताततै पहिरो खस्ने र नदीले कटान गर्ने क्रम बाक्लिएपछि सडक विभागले अत्यावश्यक काममाबाहेक राजमार्ग भएर सडकमा यात्रा नगर्न अपील गरेको छ।
विभागका महानिर्देशक केशवकुमार शर्माले देशभरका सडकहरुमा पहिरो जाने, भासिने र नदीले कटान गर्ने समस्या देखिएको बताए । विभागले देशभर १९८ वटा मेसिन परिचालन गरेर सडक खुलाउन प्रयास गरिरहेको बताएको छ। सडकमा खसेका पहिरो हटाउने र बाढीले क्षति पुर्याएका सडक मर्मतको काम गरिररहेको छ । तर, लगातार भइरहेको वर्षाका कारण प्रयासहरु सफल हुन नसकेको महानिर्देशक शर्माको गुनासो छ।
अनलाइनखबरका अनुसार काठमाडौं भित्रिने/बाहिरिने पृथ्वी राजमार्गको चितवन र धादिङ सीमानामा रहेको मोवाखोला पुलको छेउबाट खोलाले सडक कटान गरेको छ। पुल जोड्ने पहुँच सडक नै कटान गरेर नदी खोला बगेकाले त्यसलाई पुरानो बहावमा फर्काएर सडक मर्मतको काम गर्न असहज भएको शर्माले जानकारी दिनुभयो। महानिर्देशक शर्माका अनुसार पृथ्वी राजमार्गको दर्जनौं स्थानमा पहिरो खसेको छ । त्यसलाई पन्छाउन पनि दर्जनौं मेसिन परिचालन गरिएको छ । बैरनीदेखि फिस्लिङसम्म मात्रै १० वटा हेभी मेसिन परिचालन गरिएको छ। मुग्लिन-नारायणगढ खण्डको कालीखोलामा पनि पहिरो खसिरहेको छ।
सरकारले ५ दिनसम्म वर्षा जारी रहने बताएकाले विभागलाई सडकमा आवागन सुरु गराउन चुनौती हुने देखिएको छ। विभागका अनुसार त्रिभुवन राजपथमा भने ठूला पहिरो खसेका छैनन्। काठमाडौं आउने अन्य सकडमा पनि ठाउँ-ठाउँमा साना पहिरो खसेका छन् । विभागले मेसिन परिचालन गर्द हटाइरहे पनि नयाँ पहिरो खसिरहेका छन्।
काठमाडौं आउने मात्रै हैन, विभिन्न जिल्ला सदरमुकाम जोड्ने सडकहरुमा पनि समस्या उस्तै छ। बेनी-जोमसोम खण्डको म्याग्दीको गलेश्वरमा रहेको बेलिबि्रज समेत खोलाले बगाउने अवस्था आएको छ। यसैगरी अछामको साँफेबगरबाट बाजुराको मार्तडी जाने सडकमा पनि पहिरोले क्षति पुर्याएको छ। त्यसैगरी सोही खण्डको सुर्केगाड खोलाको पुलमा पनि क्ष्ँति पुगेको छ । बुटवल-तानसेन खण्डको सिद्धबाबामा पनि पहिरो खसेर सडक अवरुद्ध छ। सिद्धबाबा आसपासको क्षेत्रमा पहिरो खसेपछि आइतबारबाट खुलेको सडक फेरि बन्द हुन पुगेको हो। त्यस्तै सुर्खेत-जुम्ला सडक पनि केही दिनको पहिरोको अवरोधपछि आइतबारबाट सञ्चालनमा आएको थियो तर, आज विभिन्न ठाउँमा पहिरो खसेपछि सो सडक बन्द भएको छ ।
खहरे खोलाहरु बढेकाले विभिन्न ग्रामीण सडकहरुमा पनि सवारी चल्न सकेका छैनन्। सडकमा पहिरो खसेपछि विभिन्न जिल्लासहित र पालिकाहरुको सडक सम्बन्ध टुटेको छ।
तपाइँकाे प्रतिक्रिया
