बाढी पहिरोले सडक बिग्रेपछि नेपाल–चीन तातोपानी नाकामा आयात निर्यात ठप्प
केही दिनअघि आएको बाढीपहिराले सडक कटानपछि एम्बुलेन्सलगायत अतिआवश्यक सवारी साधनसमेत सञ्चालन हुन नसकेपछि बाह्रबिसे नगरपालिकाले जुरेमा तत्कालै सडक मर्मत गरेर यातयातका साधन सञ्चालन गरे पनि त्यहाँभन्दा माथि भने समस्या देखिएको छ ।
सडक कार्यालय चरिकोटले सडक मर्मत गर्नका लागि एउटा स्काभेटर ल्याएर काम गरे पनि स्काभेटर बिग्रिएपछि समस्या भएको बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले जानकारी दिनुभयो ।
गोरखापत्र अनलाइनका अनुसार सडक कार्यालयले बिग्रिएको सडक सुधार गर्न प्रभावकारी काम नगरेपछि तातोपानी नाकामा व्यापार व्यवसाय गर्दै आएका व्यापारीले नै स्काभेटर प्रयोग गरिरहेका छन् । त्यस्तै बाह्रबिसे नपाले पनि एउटा स्काभेटर प्रयोग गरेर सडक सुधार गर्न खोजे पनि सडक कार्यालय चरिकोटले सहयोग नगरेको प्रमुख शेर्पाले गुनासो गर्नुभयो ।
बाढीपहिराले क्षति बनाएको सडक तत्काल सुधार गर्नका लागि एक साताअघि सभामुख अग्नि सापकोटाले सडक विभागका अधिकारीलाई निर्देशन दिए पनि त्यो निर्देशनानुसार कामै नभएको शेर्पाले दुखेसो गर्नुभयो। दुई/तीन दिनमै बाह्रबिसेबाट जम्बुसम्मको बाटो छिचोलिने सडक डिभिजन कार्यालय चरिकोटका डिभिजन प्रमुख विजय महतोले बताउनुभयो । उहाँका अनुसार बाह्रबिसेबाट जम्बुसम्म चार किलोमिटर दूरी पर्दछ । सडक डिभिजनको स्काभेटर बिग्रेका कारण काममा केही ढिला भएको डिभिजन प्रमुख महतोले बताउनुभयो। अब निरन्तर बाटो खन्न खटिने उहाँले जानकारी दिनुभयो।
भोटेकोशी नदीले कटान गरेको खुर्सानीबारी नजिकैको सडक सुधार गरेर सवारी साधन सञ्चालन भइसकेका छन्। खागदलमा पनि सडक मर्मत गरेर अहिले राजमार्गको सबैभन्दा बढी जोखिम रहेको सिरिसेमा सडक कार्यालय, बाह्रविसे नगरपालिका र व्यापारीसहित तीन स्काभेटर लगाएर सडक मर्मत शुरु गरिएको छ । तर सडक कार्यालयको स्काभेटर बिग्रिएपछि दुई स्काभेटरले मात्रै काम गर्दा ढिलाइ भएको प्रमुख शेर्पाले बताउनुभयो।