बिश्वब्यापी महामारी कोरोना भाईरस : नेपालको सन्दर्भमा यसले जनमानसमा पारेको प्रभाव ।
✍️ बसन्तराज अधिकारी
१. नोभल कोरोना भाइरस भनेको के हो ?
इ.सं.२०१९ को मध्यदेखी जनगणतन्त्र चीनको हुआन प्रान्तवाट उत्पत्ति भएर अमेरिका, युरोप हुँदै भारत नेपालसम्म आक्रामक, भयावह महामारीका रुपमा नयाँ प्रजातिको भाइरस नोभल कोरोना भाईरस “COVID-19” जुन मानव जातिमा पहिले पहिचान नभएको यस भाइरसले मानिस र पशुहरूमा संक्रमण गर्दछ । यस भाइरसले सामान्य रुघाखोकी देखि गम्भीर प्रकारको तीव्र श्वासप्रश्वास {Severe Acute Respiratory Syndrome (SARS)} सम्म गराउन सक्दछ । परिणामत: संक्रमितको ज्यान जाने र सम्पर्कमा रहेकाहरूलाई सर्दै सामुहिक मृत्यु वरण गर्न पुग्ने अवस्थामा पुर्याउँदछ । यसले बिश्वमा अहिले सम्म लाखौं मानिसलाई मृत्युको मुखमा पुराएको र संक्रमित गराएको अवस्था छ । नेपालमा पनि सयौं मानिसहरू मृत्युको मुखमा पुगिसकेको र संक्रमित भैरहेको छन् । नोभल कोरोना भाइरस जनावरबाट मानिसमा संक्रमित भएको कुनै बैज्ञानिक आधार भने हाल सम्म छैन । सन् २००३ मा देखिएको SARS र नोभल कोरोना भाइरस एउटै प्रजातिका भाइरस हुन् । दुवै भाइरसले बिरामीलाई गम्भीर बनाउन सक्दछन् ।
सामान्यतः यस भाइरसको संक्रमण कसरी हुन्छ भन्ने बारेमा हालसम्म एकिन जानकारी प्राप्त हुन नसकेको अवस्था रहेको छ । तथापि रुघा, खोकी तथा श्वासप्रश्वासका बिरामीको नजिक नजाने तथा हातको सरसफाई नियमितरुपमा गरेमा संक्रमणको सम्भावना न्यून रहन्छ । नोभल कोरोना भाइरसले गर्दा हुने रोगको लागि कुनै खास उपचार छैन । यद्यपि, यो भाइरसले निम्त्याएका धेरै लक्षणहरूको उपचार गर्न भने सकिन्छ । त्यसैले बिरामीको उपचार लक्षणको आधारमा गरिन्छ । साथै यस भाइरस विरुद्ध हाललाई कुनै खोप उपलब्ध पनि छैन । कतिपय मुलुकहरूमा सफलता पुर्वक परिक्षण भैरहेको खवर समाचार सुन्नमा आएको मात्र छ । बिश्व स्वास्थ्य संगठनवाट यश बिषयमा हालसम्म आधिकारिक जानकारी प्राप्त भैनसकेको अवस्था रहेको छ ।
२. नोभल कोरोना भाईरसको बिश्वब्यापी महामारी र नेपालको सन्दर्भमा यसले जनमानसमा पारेको प्रभाव :
कोरोना भाइरस रोगबाट आफू र अरूलाई कसरी बचाउन सकिन्छ र यसको संक्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य संगठनले “कोभिड १९” को नाम दिएको छ साथै यसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकिएको छ । कोरोना भाइरस स्वासप्रश्वाशको माध्यमबाट सर्ने रोग हो । यो संक्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण गर्दछ । यो रोग लक्षण देखिने र लक्षण नदेखिने लुप्त अवस्थामा रहेको पाईन्छ ।
शुरुमा आरडीटी बिधिवाट परिक्षण गर्ने गरिएकोमा यसको बिश्वसनियतामा शंका उत्पन्न भएपछि हाल पिसिआर विधि मार्फत मात्र यसको परिक्षण गर्ने गरिएको, परिक्षण पश्चात् “नेगेटिभ” भए सुरक्षीत र “पोजेटिभ” रिजल्ट आएमा कोरोना भाईरसको लक्षण भएको मानिन्छ । नोभेल कोरोना भाईरसले बिश्वब्यापी रुपमा महामारीको अवस्था सिर्जना गरि करिव ६ महिना भन्दा बढी हाम्रो जस्तो मुलुकमा पनि बन्दाबन्दी “लकडाउनको” भयावह अवस्था भोग्नुपरेको यथार्थता रहेको छ । यसको प्रभाव दुरगामीरुपमा देखिदैछ । यातायात क्षेत्र, मजदुर, दैनन्दिन ससाना पेशा व्यवसाय मै हातमुख जोर्ने रोजीरोटी हुने व्यवसाय संकटमा परेका छन् । परिणामस्वरूप लाखौं मानिस ‘कोरोनाको कहर भन्दा पनि जीवनयापनको जहर’ भयाक्रान्त रहेको अवस्थाका संकेतहरु स्पष्ट देखिरहेका छन् । बन्दाबन्दी “लकडाउन” रहर नभै बाध्यता हो भनिरहँदा र स्वास्थ्य संकट लागू गर्दा शुरुआतका दिनमा राष्ट्रव्यापी बन्दाबन्दी गर्दा गर्दैको अनुभववाट पाठ सिक्दै तत्पश्चातका दिनहरुमा कुनै स्थान बिशेष सटडाउन वा माइक्रो लकडाउनको अवस्था भोग्नुपरेको बिबसता हामी सामु छर्लङ्ग रहेको छ ।
कहिलेसम्म यो बन्दाबन्दी गरिरहने जवाफ त कसैसँग छैन परन्तु बन्दाबन्दीलाई रुपान्तरण गर्दै सामाजिक तथा भौतिक दुरी कायम गर्ने, माक्सको अनिवार्य प्रयोग गर्ने, साबुनपानीले मिचिमिची कम्तिमा २० सेकेन्ड सम्म हात धुने वा अल्कोहल मिश्रित स्यानिटाईजरको प्रयोग गर्ने खानपिन र विधिव्यवहारमा बिशेष सतर्कता अपनाउने, शारीरिक अभ्यास नियमितरूपमा गर्नुपर्ने अझ पछिल्लो दिनहरूमा कतिपय मानिसहरूमा मानसिक रोगका लक्षण तनाव, डिप्रेसन (उदासिनता), मृत्युसम्मका कहालीलाग्दो घटनाहरूको अवस्था दु:खद रहेको र अझ घरेलु हिंसा तथा अपराधहरुको शृङ्खला बढदै जानू जस्तो दु:खद अवस्थालाई निरोध गर्नुजस्ता बिषयाहरुलाई विशेष ध्यान दिनुपर्ने अनिवार्यत: संघ, प्रदेश र स्थानीय तीनै तहको सरकारको काम कर्तव्य, अधिकार, जिम्मेवारी, उत्तरदायित्व र सीमा रहेको छ ।
हालै सरकारले केही बिशेष जस्तो स्वास्थ्यकर्मी, सरसफाईकर्मी कामदार, अति अशक्त, अपांग, गरिब तथा विपन्न र सुरक्षाकर्मी समेत कोभिड -१९ को संक्रमण, रोकथाम र नियन्त्रणमा अग्रपंक्तिमा खटिएर काम गर्ने महानुभावहरुलाई नि:शुल्क स्वास्थ्य उपचार गर्ने नीति ल्याएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भैरहँदा सरकारले नागरिक सहभागिता बढाउनु पर्ने, सामर्थ्य हुने र सक्नेले स्वयं उपचार गर्ने बिषयमा आफ्नो अडान दोहराई रहेको अवस्थालाई पनि नकारात्मक टिप्पणीका रुपमा लिनु शोभनीय हुँदैन ।
३. कोरोना भाइरस रोगको मुख्य लक्षणहरू
३.१ ज्वरो आउने (१००.४°F भन्दा माथि)
३.२ रुघाखोकी लाग्ने
३.३ श्वाश फेर्न गाह्रो हुने
३.४ टाउको वा छाती दुख्ने
३.५ कमजोरी महसुस हुने ।
यस्ता लक्षणहरू देखा परेमा नजिकको तोकिएको स्वास्थ्य केन्द्रमा सम्पर्क गर्नुपर्दछ । लक्षण नदेखिने खालको अवस्था पनि रहेको तथ्य आएको अवस्थामा बिशेष सतर्कता एवम् होशियारपूर्वक कार्यव्यवहार गर्नुपर्ने हुन्छ ।
४. नोभल कोरोना भाइरसबाट कसरी आफू र अरुलाई बचाउने ?
४.१ ज्वरो र खोकी लागेको व्यक्त्तिबाट टाढा रहने
४.२ आफूलाई ज्वरो र खोकी लागेको छ भने पनि अरू व्यक्तिबाट टाढा रहने
४.३ मास्कको प्रयोग गर्ने
४.४ खोक्दा वा हाछ्युँ गर्दा नाक मुख टिस्यू पेपर वा कुहिनाले छोप्ने र प्रयोग गरेको टिस्यू पेपरलाई बिर्को भएको फोहर फाल्ने भाँडोमा फाल्ने र साबुन-पानीले मिचिमिचि हात धुने वा अल्कोहल भएको स्यानिटाईजर प्रयोग गर्ने
४.५ भिडभाडमा नजाने र अरुलाई पनि नजाने सुझाव दिने,
४.६ हात मिलाउनुको सट्टा नमस्कार गर्ने ।
४.७ बेलाबेलामा साबुन-पानीले कम्तिमा २० सेकेन्डसम्म मिचिमिचि हात धुने वा अल्कोहल भएको स्यानिटाइजर प्रयोग गर्ने ।
४.८ सभा सम्मेलन जमघट सामान्यतया धेरै संख्यामा जमघट नहुने, सीमित संख्यामा सामाजिक तथा भौतिक दुरी कायम गरि माक्स लगाई स्वास्थ्य मापदण्ड अपनाउने र सुरक्षीत वातावरणमा कार्य गर्ने/गराउने ।
४.९ नावालिग र सामान्यतया ७० बर्ष उमेर पूरा भएको जेष्ठ नागरिकहरु घरबाहिर हिंड्डुल नगर्ने ।
४.९ कोरोना प्रभावित देशबाट आएको व्यक्त्तिहरूमा माथिका लक्षणहरू देखिए स्वास्थ्य केन्द्रमा तुरून्त जानुपर्दछ ।
४.१० घरैमा बस्दा परिवारका सदस्यहरूबाट १४ (चौध) दिन सम्म छुट्टै आईसोलेसनमा बस्नु पर्दछ ।
५. कोरोना भाईरस (कोभिड -१९) जनमानसमा पारेको मनोबैज्ञानिक प्रभाव :
कोरोना भाईरसले जनमानसमा पारेको नकारात्मक असरलाई विश्लेषण गर्दा डर, त्राश र मानिसलाई घृणाको दृष्टिकोणले हेर्ने, नकारात्मक प्रवृत्ति समेतलाई बुझिन्छ । शुरुआतका दिनहरू भन्दा बन्दाबन्दी “लकडाउन” सीमाबध्द बन्दाबन्दी “सटडाउन” व्यवस्थित बन्दाबन्दी “स्माट लकडाउन” वाट अगाडि बढदै जाँदा समाजमा गरीब, दु:खी, असहाय, महिला, बालबालिका, बृद्धअबश्थाका मानिसहरूमा मनोबैज्ञानिक डर त्राशको अवस्था सिर्जना गरिएको दु:खद अवस्था देखिईरहेको छ । साथै असहाय कमजोर मानिसहरुलाई सक्षम सबल र समुहगत रुपमा गरिने हिंसा दुर्व्यवहार पाशविकता, अमानवीयता र दण्डहीनताको पराकाष्ठा हो ।
कोरोना भाईरसको मनोबैज्ञानिक प्रभावले गर्दा हत्या, आत्महत्या जस्ता विकृति, बिसङ्गतीहरु बढनु दुर्भाग्यपूर्ण घटनाको रुपमा देखापरेको दु:खद अवस्था बिद्यमानतामा अझ पछिल्ला दिनहरूमा आएर कोरोना भाईरस विरुद्ध अग्रपंक्तिमा रहेर कामगर्ने स्वास्थ्य कर्मी, सुरक्षाकर्मी समेतलाई हिंसा, भेदभाव तथा दुर्व्यवहारको सिकार बनाउनु बर्बरता एवं पाशविकताको ज्वलन्त उदाहरण सभ्य भव्य र सुसंस्कृत भनिने गाउँ, शहर समाजमा घटित हुनु बिडम्बना मात्र नभै लज्जास्पद अवस्थाको द्योतक पनि हो । यश अवस्थालाई मध्यनजर गर्दै सरकारले कडा भन्दा कडा दण्ड सजाय कानुनको कठघरामा उभ्याउनु अपरिहार्य भैसकेको छ ।
६. हालसम्मका भएका बिश्वब्यापी महामारीहरु :
बिश्व मानब समाजले इतिहासमा बिभिन्न डरलाग्दा र भयंकर महामारीहरु झेलेको र ठूलो मूल्य चुकाएको कटु यथार्थ इतिहासमा पढन र त्यसका कतिपय अवशेष यद्यपि पाईन्छ । इतिहासमा मानवजातीले अनेकन दु:खद कटु अनुभवहरु पनि भोगेको छ । यस क्रममा करोडौं मानिसले ज्यान पनि गुमाएको छ भने अनेक औषधी र खोपहरुको बिकास पनि गरेको छ । मुलतः उल्लेखै गर्ने हो भने त्यस्ता महामारीरुमा :
६.१ प्लेग
६.२ हैजा
६.३ स्पेनिश फ्लू
६.४ बिफर
६.५ सार्स
६.६ मर्स
६.७ एचवन एनवन
६.८, इबोला र
६.९ कोरोना भाईरस “कोभिड -१९” यतिबेला सबैभन्दा पछि “कोभिड–१९” अर्थात ‘कोरोना भाइरस’ को घातक महामारी, जसले आज बिश्वलाई नै त्राही त्राही बनाइरहेको अवस्था छ, त्यसले हाम्रो जीवनलाई ठाडै चूनौति दिदै आइरहेको अवस्थाको बिद्यमानता छ ।
७. कोरोना भाईरस COVID -19 को संक्रमण, रोकथाम तथा नियन्त्रणमा स्थानीय सरकारको भुमिका :
कोरोना भाईरस बिश्वब्यापी महामारी अदृश्य रोग जुन चीनको भुभाग हुवान प्रान्तवाट अमेरिका, युरोप हुँदै दक्षिण पुर्वी एशिया भारत, नेपाल सम्म संक्रमण हुँदै गर्दा प्रारम्भिक दिनहरूमा विश्व स्वास्थ्य संगठन (WHO) को निर्देशानुसार बन्दाबन्दी “एकान्तवास” (Lockdown) अचुक अस्त्रको रुपमा रह्यो यद्यपि त्यसको अरु कुनै पनि विकल्प हामी सामु छैन तथापि हिजोआजका दिनहरूमा बन्दाबन्दीलाई परिमार्जन सहित कार्यान्वयन गरिएको छ । स्वास्थ्य संकट ऎनको स्थानीय स्तरमा कार्यान्वयन गर्नका लागि गृह मन्त्रालयको प्रतिनिधिको रुपमा प्रमुख जिल्ला अधिकारी (CDO) को अध्यक्षतामा DCCMC (जिल्ला कोभिड समन्वय व्यवस्थापन समिति) को गठनमा सल्लाहकार संघीय र प्रदेशका सांसद र आमन्त्रित पदाधिकारीहरुमा पालिकका प्रमुख जनप्रतिनिधि सहित सुरक्षा निकाय र स्वास्थ्य कार्यालयको प्रमुख रहेकोे समितिको व्यवस्था रहेको र
पालिकास्तरमा गाउँपालिकाका अध्यक्ष र नगरपालिकाका प्रमुखको अध्यक्षतामा उपप्रमुख, वडाध्यक्ष र कार्यपालिका वा वडा सदस्य सहित स्वास्थ्य तथा सामाजिक शाखा प्रमुख सदस्य सचिव रहने पालिकास्तरीय कोभिड -१९ समन्वय समितिको व्यवस्था रहेको र यसैगरी वडास्तरमा वडाध्यक्षको अध्यक्षतामा वडासदस्यहरु, स्थानीय सुरक्षा निकायका प्रतिनिधि, पत्रकार सहित वडासचिव सचिव रहने वडास्तरीय समितिको व्यवस्था गरिएको छ ।
नेपालको संविधान, २०७२ को पुर्णतः संघीयताको कार्यान्वयन ऎतिहासिक निर्वाचन, २०७४ पश्चात् तीन तहको सरकारको गठन पश्चात् एउटा महत्वपूर्ण कार्य नेपाल भित्र, भारत र अन्य मुलुकवाट भित्रिएपछिका हजारौं नेपाली नागरिकहरुलाई समुचित व्यवस्थापन, क्वारेन्टाइन र आईसुलेसन निर्माण, राहत व्यवस्थापन समेतका कार्यमा सक्रियता पुर्वक नेतृत्वदायी भुमिका निर्वाह गर्नु सराहनिय कार्य मान्न सकिन्छ । तथापि केही स्थानीय तहमा सामान्य विवाद रहे पनि स्थानीय सरकारले कुशलता पुर्वक यो जिम्मेवारी नलिएको भए यो भन्दा अझै भयावह लाखौंको जीवन समाप्त हुने कुरा यथार्थ रहेको छ । ‘काम गर्नेवाट कमिकमजोरी अवश्य हुन्छ तसर्थ ‘Mistakes makes men’ भन्ने गरिन्छ । सुधार गर्दै अगाडि बढनुको विकल्प छैन ।
८. सारांश :
सर्सति हेर्दा बिश्वमा महामारीहरु प्रायः एक दुइ दशकको हाराहारीमा र भीषण महामारीहरु एकसय बर्षको अन्तरालमा समेत आउने र मानवजातीले भोग्ने गरेको र बिश्वको बिभिन्न भूगोलमा देखा पर्ने अनि बिश्वभरी या बिश्वको कुनै खाश क्षेत्रमा फैलिएर धेरै जनतालाई शिकार बनाउने गरेको यस्ता माहामारीहरुको इतिहास पाईन्छ । भारत लगायत नेपालका विभिन्न भुभागहरुका यश क्षेत्रमा बिश्वब्यापीरुपमा मानिसहरूको निर्वाधरुपमा आवागमन रहेको छ । बन्दाबन्दीका सुरुआतका दिनहरूमा जति बढी त्रास र चिन्ता बिशेषत: भारत लगायत नेपालका विभिन्न भुभागवाट प्रवासिएका नेपालीहरु भित्रिएपछिका जनसमुदायको चासो र चिन्ता थियो ।
ततपश्चातका दिनहरुमा सक्षम राजनीतिक नेतृत्व, प्रशासनिक कुशलता, स्वास्थ्य सुरक्षाको समुचित व्यवस्थापनले अब सामन्यीकरण तर्फ सामाजिक गतिविधिहरु अभिमुख भएको स्पष्ट देख्न सकिन्छ तथापि स्वास्थ्य सुरक्षात्मक उपायहरूको अवलम्बन गरि बिशेष सतर्कता अपनाई ठोस कार्ययोजनाका साथ अगाडि बढदै दैनिक व्यवहार गर्नुपर्ने समयको माग भने अवश्यम्भावी रहेको छ । करिबकरिब ६ महिनाको अन्तरालमा मुलुकमा भोग्नुपरेको बन्दाबन्दी “लकडाउन” पश्चात् कोरोना भाइरस (कोभिड -१९) पोजिटिभ संख्यात्मक रुपले बढदै गएको अवस्थामा बिशेष सतर्कता अपनाउँदै दैनिक विधि व्यवहार नियमित सम्पादन गर्नुपर्दछ ।
आशा गरौं आगामी दिनमा शिघ्रताका साथमा “कोरोनाको भयावह कहर” हटेर जानेछ र पुनः मानव जीवन यापन सरल, सहज, व्यवस्थित, अनुकूलता रूपमा पहिला जस्तैः सुव्यवस्था हुनेछ । हालसम्म विश्वमा कोरोना संक्रमित मध्ये सवा ३ करोड भन्दा बढीले कोरोना भाईरस जितेको ११ लाखभन्दा बढी मानिसहरूको मृत्युको तथ्य हामी सामु आईरहँदा, नेपाकमा संक्रमित ५० हजार भैरहदा दैनिक करिबकरिब ३ हजार भन्दा बढीको हाराहारीमा भैरहँदा, मृत्युु पनि सयौं भैसकेको अवस्थामा अझ बढी सतर्कताका साथ होशियारपूर्वक दैनिक बिधि व्यवहार गर्नुपर्ने बिषय घाम जत्तिकै छर्लङ्ग रहेको छ ।
✍️ धन्यवाद
स्रोत सामग्री (References)
१. नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठन युनिसेफ
२. अनलाइन खवर
३. www.goole.com वाट साभार
४. समसामयिक बिबिसी र राष्ट्रिय खवरहरु
५. राजापुर नगरपालिकामा बन्दाबन्दी : एक अनुभव समेत ।
✍️ लेखक राजापुर नगरकार्यपालिकाको कार्यालय, राजापुर, बर्दियाका प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ ।
लेखक परिचय :
~~~~~~~~~~
बसन्तराज अधिकारी
अधिवक्ता : एम.ए. ; बी.एल:, बी.ए. ; बी.एड.
हाल : उपसचिव, नेपाल सरकार
कामकाज : प्रमुख प्रशासकीय अधिकृत
राजापुर नगरकार्यपालिका कार्यालय
राजापुर, बर्दिया ।
✍️ रचनाकार : बसन्तराज अधिकारी
हाल : घोराही, दाङ