Loading... आजः शनिबार , श्रावण १२, २०८१

बीस करोड कामदारको रोजगार आगामी तीन महिनामा गुम्ने


कोभिड–१९ महामारीले आर्थिक क्षेत्रमा द्रुतगतिले पारेको असर सन् २००८–०९ को वित्तीय संकट भन्दा धेरै खराब हुने र आगामी तीन महिनामा करिब २० करोड पूर्णकालीन कामदारको रोजगार गुम्ने प्रक्षेपण हुन थालेको छ।

संयुक्त राष्ट्रसंघको श्रम तथा रोजगारसम्बन्धी नियोग अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओले कोरोनाभाइरसले विश्वअर्थतन्त्रमा पार्ने असरबारे गरेको ताजा अनुमान यस्तो रहेको छ।

आईएलओले कोरोनाभाइरसले दुई करोड ५० लाख रोजगार गुम्ने पूर्वानुमान गरेको तीन सातापछि यो नयाँ अुनमान सार्वजनिक गरेको हो।

Insert your Ads code here

कोरानाभाइरसले पूर्णकालीन वा आंशिक लकडाउनले विश्वको करिब दुई अर्ब सात करोड कामदारहरूमा असर पार्नेछ।

१९ करोड बेरोजगार कोरोनाभाइरस अघि नै रहेको थियो।

जेनेभामा हालै आयोजित एक भिडियो कन्फ्रेन्समा आईएलओका महानिर्देशक गाइ रेडरले यो वर्षको शुरूमा विश्वभर करिब १९ करोड बेरोजगार रहेको बताए। यस्तो अवस्थामा यो महामारीले थप बेरोजगारीको समस्या थपी दिएको छ। महामारीले विश्वको रोजगार क्षेत्रमा असाधारण पतन ल्याइदिएको छ। यो अवस्थालाई समाधान गर्न आवश्यक पहल गर्नुपर्ने उनले आहवान गरे।

रोजगारसम्बन्धी समस्याको तत्काल आकस्मिक समाधान खोज्नुपर्ने आवश्यकतामा उनको जोड छ।

कोरोनाभाइरसले केही महत्वपूर्ण क्षेत्रलाई खराब किसिमले प्रभावित पार्ने देखिएको छ।

तीमध्ये चार क्षेत्रका कामदारहरूलाई सर्वाधिक असर पार्नेछ। भोजन र बसाइ सेवाका क्षेत्रका १४ करोड ४०लाख कामदार, खुद्रा तथा थोक बिक्रेता क्षेत्रका ४८ करोड २० लाख, व्यवसाय तथा प्रशासकीय क्षेत्रका १५ करोड र उत्पादनमुलक क्षेत्रका ४६ करोड ३० लाख कामदार भएका क्षेत्रमा असर गर्ने भएको छ।

यसका साथै विश्व रोजगारको ३७.५ प्रतिशतमा पनि यसको असर हुनेछ।

कोरोनाभाइरस विरूद्धको लडाइँको अग्रपंक्तिमा स्वास्थ्यकमीहरू रहेका छन्। १३ करोड ६० लाख स्वास्थ्य तथा सामाजिक पेशाकमी अग्रपंक्तिमा काम गरिरहेका छन्। उनीहरूलाई सुरक्षित भई काम गर्न पाउने वातावरण दिनुपर्ने आवश्यकता महानिर्देशक रेडरले औंल्याए।

विश्वका सबै क्षेत्रमा रोजगार गुमेको अवस्था रहेको छ। अरब र युरोपमा रोजगारलाई प्रतिशतका आधारमा बढी असर पारेको देखिएको छ।

संख्याको आधारमा सबैभन्दा बढी रोजगार गुमेको क्षेत्र एशिया प्रशान्त क्षेत्रका रहेका छन्। यो क्षेत्र विश्वकै सबैभन्दा बढी जनसंख्या रहेको क्षेत्र हो।

सन् २०२०को दोस्रो त्रैमासिक अप्रिलदेखि जुनसम्म घन्टामा काम गर्ने अवधि ६.७ प्रतिशतले घट्ने देखिएको छ।

सातामा ४८ घन्टा काम गर्ने आधारमा पूर्णकालीन कामदारहरूमा १९ करोड ५० लाखलाई गम्भीर असर पर्ने आईएलओले जनाएको छ।

कोरोनाभाइरसले विश्वका हरेक देशका हरेक क्षेत्रका कामदारको रोजगार खोसिने चिन्ता बढेको छ। आईएलओले हालै सार्वजनिक गरेको प्रतिवेदनमा तत्काल कामदार र उद्यमहरूको सुरक्षा गर्न राहत कार्यक्रम ल्याउनुपर्ने जनाएको छ।

विशेषगरी विकासशील देशका उद्योग व्यवसायमा कोरोनाभाइरसले ठूलो धक्का दिने भएकाले यसबारे थप ध्यान दिनुपर्ने छ। न्यून तथा मध्य आय भएका देशहरूमा सञ्चालित उद्योग तथा सेवाआधारित व्यवसायमा खराब असर पर्ने भएको छ। यहाँ न्यून ज्यालामा काम गर्ने कामदारको हिस्सा ठूलो हुन्छ।

उचित नीतिगत मापदण्ड बिना कामदारहरूलाई ठूलो जोखिमको सामना गर्नुपर्ने हुन्छ र उनीहरूलाई झन गरिबीको समस्यामा धकेल्नेछ। उनीहरूको गुजारा चलाउने चुनौती थपिएको र यसबारे सोच्नु पर्ने आईएलओले जनाएको छ।

अनौपचारिक क्षेत्रमा विश्वभर दई अर्ब मानिस काम गरिरहेको एक अनुमान रहेको छ। ती मध्ये अधिकांश उदीयमान र विकासशील देशमा रहेका छन्। तीमध्ये करोर्डौ कामदारको रोजगार प्रभावित भइसकेको छ।

आईएलओले भारतको सन्दर्भमा विशेष चिन्ता व्यक्त गरेको छ। भारतका ४० करोड मानिस झन गरिब हुने चिन्ता व्यक्त गरेको छ।

यसैगरी ब्राजिल र नाइजेरिया जस्ता देशका अनौपचारिक क्षेत्रका रोजगारका बारेमा चिन्ता व्यक्त गरिएको छ।

कृषि क्षेत्रमा कोरोनाभाइरसको असर अझ देखिन बाँकी रहेको छ। विकासशील देशमा कृषि क्षेत्र अर्थतन्त्रको ठूलो हिस्सा हुन्छ। यी देशमा खाद्य असुरक्षाको समस्या चर्किने छ।

वित्तीय प्रोत्साहन र सहयोगको विषयमा ध्यान दिनुपर्ने आवश्यकता औल्याउँदै यसबारे जी ट्वेन्टीका देशहरूले प्रोत्साहन कार्यक्रमलाई अगाडि बढाउन गरेको सहमतिको आईएलओले स्वागत गरेको छ।

साथै आईएलओले कोभिड–१९बाट पार पाउन चार खम्बे प्राथमिकता तय गरेको छ। अर्थतन्त्र तथा रोजगारलाई प्रोत्साहन गर्नु, उद्यम, रोजगार तथा आयलाई सहयोग गर्नु, कार्यस्थलमा कामदारको सुरक्षा गर्नु र समाधानका लागि समाजिक संवादमा भर पर्नु जस्ता चार खम्बे प्राथमिकता आईएलओले अगाडि सारेको झिल्काे डटकमले लेखेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!