Loading... आजः शनिबार , श्रावण १२, २०८१

ब्यास क्षेत्रमा स्थानीयवासीलाई आवतजावत गर्न इण्डियन सुरक्षाकर्मीद्वारा अवरोध


दार्चुलाको व्यास क्षेत्रको कालापानी क्षेत्रसम्म स्थानीयवासीलाई आवतजावत गर्न भारतले रोक लगाएको छ। विगतमा कालापानी मुहान नजिकैसम्म आवतजावत गर्न दिएको ठाउँसम्म अहिले भारतीय सुरक्षाकर्मीले जान दिएको छैन।

नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर नक्सा सार्वजनिक गरेपछि झन् भारतले कालापानीभन्दा तल आएर सुरक्षा तैनाथी बढाएको छ। पहिलाको भन्दा झण्डै एक किलोमिटर तलसम्म भारतले छेकबार लगाएको छ। कालापानीसम्म नेपालका सुरक्षाकर्मीले समेत जान पाएका छैनन्।

व्यासको गागामा रहेका सशस्त्र प्रहरी र नेपाल प्रहरीले काली मन्दिरसम्म जाने प्रयास गरे पनि भारतीय सुरक्षाकर्मीले अवरोध गरेका छन्। महाकाली नदीको मुहान हेर्न गएका सुरक्षाकर्मीलाई भारतीय सुरक्षाकर्मीले रोकेका हुन्।

Insert your Ads code here

स्थानीयवासी यो क्षेत्रमा अहिले जान सक्ने अवस्था छैन। चीनसँग पछिल्लो समय सीमा विवाद बढेपछि कालपानी क्षेत्रमा भारतीय सुरक्षाकर्मीले बाक्लो उपस्थिति जनाएको छ। यो क्षेत्रमा दैनिक सयौँ गाडीमा सुरक्षाकर्मी पुर्‍याइएको छ।

नेपालका सुरक्षाकर्मी कौवा क्षेत्रमा जानेबित्तिकै भारतपट्टिबाट सुरक्षाकर्मीले रेकी गर्छन्। गस्ती गरेकोबारे उनीहरुले माथिल्लो क्षेत्रमा मोटरसाइकलमा परिचालन भएर खबर गर्ने गरेका छन्। कालापानी क्षेत्रमा प्रवेश गर्न नदिने माथिकै आदेश छ भन्दै एसएसबी (सशस्त्र सीमा बल) ले रोक्ने गरेको छ। पहिलो घेरामा एसएसबी तैनाथ छन्।

सशस्त्र प्रहरी गस्ती टोलीको नेतृत्व प्रहरी निरीक्षक लिलीबहादुर चन्दले गरेर त्यो क्षेत्रमा जाँदा भारतीय एसएसबीले फर्काएको थियो। माथिल्लो कौवा क्षेत्रसम्म पनि स्थानीयवासी अहिले जानलाई डराउने गरेका छन्। आफ्नै भूमि भएर जान पनि स्थानीयवासीमा अहिले त्रास छ।

कालापानी क्षेत्रमा पुग्नुभएका दीपक खातीले भारतीय सुरक्षाकर्मीले नेपाली जनता र सुरक्षाकर्मीलाई यो क्षेत्रमा आवतजावत गर्न नदिनु दुःखद् भएको बताउनुहुन्छ। सरकारले जारी गरेको नयाँ नक्साअनुसार नेपालका तीन गाउँ कुटी, गुञ्जी र नावी अहिले पनि भारतमा छन्।

गुञ्जी र नावी गाउँ छाङ्गरु र माथिल्लो कौवा क्षेत्रबाट देख्न सकिन्छ। तर कुटी देखिँदैन। पुरानो नक्साअनुसार ६२ वर्गकिलोमिटरभित्रको कालापानी क्षेत्रसम्म पनि नेपालीको पहुँच पुगेको छैन।

भारतको गुञ्जीमा तीनवटै सुरक्षा निकायको उपस्थिति छ। नेपालतर्फको सीमा निगरानीका लागि व्यासको कौवा क्षेत्र र तिङ्करमा बिओपी स्थापना गर्ने तथा छाङ्गरुमा गुल्म राख्ने तयारी गरिएको छ। सशस्त्र प्रहरीको भवन निर्माणका लागि सरकारले बोलपत्र आह्वान गरिसकेको छ।- (रासस)

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!