विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुरको पाँचतले (ङातापोल) मन्दिर ३ सय १९ वर्षमा प्रवेश गरेको छ। ३ सय १८ वर्ष पुरा भइ ३१९ प्रवेशको अवसरमा मन्दिरमा विशेष पूजा गरी गजुरमा झण्डा फहराइएको कान्तिपुर अनलाइनले लेखेको छ।
प्रत्येक वर्ष असार शुक्ल प्रतिपदाको दिनलाई पाँचतले मन्दिर जन्मोत्सव मनाइँदै विशेष पूजा गरी मन्दिरको गजुरमा झण्डा फहराइने परम्परा छ। सेतो कपडामा रातो चन्द्र आकार भएको ठूलो झण्डा फहराइएको हो। कोरोना महामारीका कारण सिमित व्यक्तिको उपस्थितीमा सामान्य पूजा गरेर झण्डा फहराइएको पुजारी पदम कर्माचार्यले बताए। यसअघि पूजामा बोकाको बली दिने परम्परा रहेको थियो।
पाँचतले मन्दिरमा राजोपाध्याय, कर्माचार्य, जोशी र ताल्चाभडेल पुजारीहरुले पूजा गर्ने परम्परा छ। मन्दिरको गजुरमा तुछिमला टोलका अवालहरुले झण्डा फहराउने गर्दछन्। मन्दिरमा झण्डा राख्नका लागि तुछिमलाको अवालबाहेक अरुलाई मन्दिरमाथि प्रवेश नदिने परम्परा रहेको भक्तपुर तलेजुका मूल नाइके नरेन्द्र जोशीले बताउनुभयो।
Insert your Ads code here
नेपाल सम्वत ८२२ राजा भूपतिन्द्र मल्लले सिद्ध अग्नी कोत्याहुती होम लगाएर श्री सिद्धिलक्ष्मी देवीलाई पाँचतले मन्दिरमा प्रतिस्थापना गरी झण्डा फहराइएको इतिहासमा उल्लेख छ। सोही दिनको सम्झनामा प्रत्येक वर्ष असार शुक्ल प्रतिपदाका दिनलाई पाँचतले मन्दिरको जन्मोत्सवको रुपमा झण्डा फहराइने गरिन्छ।
२०७२ वैशाखको भूकम्पको धक्काले क्षति पुगेको पाँचतले मन्दिर जीर्णोद्धारको कार्य भइरहेको छ। भक्तपुर नगरपालिकाले जीर्णोद्धार थालेको उक्त मन्दिरको चौथो तलासम्मको कार्य सम्पन्न भइसकेको छ।